कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

भूकम्पपीडित टहरामा उकुसमुकुस

७३ हजार ८ घर भत्किएकामा अहिलेसम्म झन्डै ७० हजार अस्थायी आवास निर्माण भएको सरकारी दावी

सुर्खेत — जाजरकोटको नलगाड—४ का ४३ वर्षीय पृथ्वीबहादुर विकको ७ जनाको परिवारले झन्डै साढे ३ महिना त्रिपालमा बितायो । फागुन पहिलो सातादेखि त्रिपालबाट अस्थायी टहरामा सरेका उनीहरू अहिले भने चर्को गर्मी भोग्न बाध्य छन् । उनी र पत्नी बिर्मीबाहेक ३ छोराछोरी र बाआमा बिरामी भएका भयै छन् ।

भूकम्पपीडित टहरामा उकुसमुकुस

‘चिसोमा त्रिपालमा सास्ती काट्यौं, अहिले टहरामा, अझै यस्तो पीडा कहिलेसम्म भोग्नुपर्ने हो ?’ उनले भने, ‘दिउँसो टिन तातिएर बस्नै सकिन्न, राति लामखुट्टेले टोकेर हैरान, २ पल्ट त टहरामा सर्प नै पस्यो, राति पनि पसिनै पसिना भएर सुत्नुपर्ने बाध्यता छ ।’ लामखुट्टे धपाउन पुराना कपडाको कर्केटो जलाएर सुत्ने गरे पनि रातभर सास्ती हुने गरेको उनको गुनासो छ । छोराहरू १४ वर्षीय कमल र ९ वर्षका नवीन ज्वरोले थलिएका छन् ।

नलगाड नगरपालिका—१ का ज्ञानबहादुर महरको ८ जनाको परिवार पनि टिनको छाप्रोमा गर्मीको कष्ट भोग्न बाध्य छ । झन्डै ३ महिना त्रिपालमा बसेका उनलाई करिब २ साता निमोनियाले थलायो । गर्मी सुरु भएपछि ५/६ दिनको पखालाले गलाएको छ । ‘अझै तंग्रिन सकेको छैन,’ उनले भने, ‘हरेक साता कोही न कोही बिरामी परिरहेका छौं, एउटा कोठाजत्रो टहरामा खाने, बस्ने र ८ जनाको जहान सुत्ने गर्दा गर्मीले आकुलव्याकुल बनाउँछ ।’

झन्डै १५ वर्षदेखि बर्सेनि करिब ९ महिना भारतमा मजदुरीका लागि जाने उनी गत वर्ष दसैं मनाउन घर आएका बेला भूकम्प गएको थियो । उनले भूकम्प गएदेखि सुत्ने र खाने मात्र काम भएको बताए । पालिकाले दिएको खाद्यान्नले भने अहिलेसम्म पुगिरहेको उनको भनाइ छ । रिम्ना, दल्लीलगायत बजारमा मजदुरी गर्न जाने उनकी पत्नी पनि भूकम्पयता काममा फर्कन सकेकी छैनन् । ‘घर कहिले बन्छ भन्ने निर्क्योल भए त भारततिर गएर १/२ महिना कमाएर ल्याउन सकिन्थ्यो, यहाँ नयाँ घरको सरकारी प्रक्रिया पुर्‍याउन घमूली चाहिन्छ भनेका छन्, त्यसैले जान सकिएको छैन,’ उनले भने, ‘रातभरि गर्मी र लामखुट्टे र गर्मीले हैरानै पार्छ, टहरामा पशुबस्तुभन्दा कष्टकर जिन्दगी बिताइरहेका छौं, धन्न ज्यान जोगिएको छ ।’ उनले धेरै गर्मी रात जाग्राम बस्दै खुला ठाउँमा गएर बस्ने गरेको गुनासो गरे ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ७३ हजार ८ घर भत्किएकामा अहिलेसम्म झन्डै ७० हजार अस्थायी आवास बनेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । अस्थायी आवास बनाउन सरकारले २ किस्तामा गरी २५/२५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर अस्थायी टहरा निर्माण गरेका भूकम्पपीडितले अझै दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । त्यसमा पनि बढ्दो गर्मीका कारण अस्थायी टहराको बसाइ मुस्किल बनेको भेरी नगरपालिका—१ का केशरबहादुर रावतले बताए । झन्डै ५ मिटर लम्बाइ र ५ मिटर चौडाइको चारैतिर बारेको टहरामा उनी ७ जनाको परिवारसहित बस्दै आएका छन् । टिन तातिएर दिउँसो पनि भित्र बस्न नसकिने भएपछि छहारीतिर जाने गरेको उनको गुनासो छ ।

नलगाड नगर अस्पतालका डा. विशाल उप्रेतीका अनुसार अत्यधिक गर्मीका कारण भूकम्पपीडित धमाधम बिरामी पर्न थालेका छन् । अधिकांशमा झाडापखाला, ज्वरो, रुघाखोकीको लक्षण देखिएको उनको भनाइ छ । अस्पतालमा दैनिक १ सय ५० जनासम्म बिरामी आउने गरेका छन् । ‘बिहानैदेखि साँझ अबेरसम्म बिरामीको चाप छ, भाइरल ज्वरोका कारण गाउँमा बिरामी थलिएका छन्,’ उनले भने, ‘औषधि र स्वास्थ्यकर्मी पर्याप्त रहेकाले अप्रिय घटना त केही भएको छैन, केही स्वास्थ्यकर्मीलाई उपचारका लागि वडाहरूमा खटाइएको छ ।’ जिल्ला अस्पतालमा पनि बिरामीको चाप बढिरहेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए । उनका अनुसार अस्पतालमा दैनिक १ सय ५० जनासम्म बिरामी आउने गरेका छन् भने दैनिक ३० जनासम्म भर्ना गर्ने गरिएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले पालिकाको ढिलाइका कारण अस्थायी आवासको दोस्रो किस्ताको २५ हजार रकम रोकिएको बताए । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि—२०८० अनुसार दोस्रो किस्ताको रकम निकासाका लागि स्थानीय तहमार्फत विपद् पोर्टलमा लाभग्राहीको भत्किएको घर, अस्थायी आवासको फोटोसहितको विवरण अपलोड गर्नुपर्ने प्रावधान बनाएको छ । तर पालिकाहरूले विवरण नराख्दा समस्या भएको उनको भनाइ छ । ‘हामीसँग दोस्रो किस्ताका लागि निकासा दिन रकम पर्याप्त छ,’ उनले भने, ‘तर स्थानीय तहबाट माग नै आएको छैन ।’ उनले पुनर्निर्माणका लागि भने सरकारले कार्यविधि नबनाएको बताए ।

नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले कर्मचारी अभावका कारण अस्थायी आवासको विवरण संकलन र विपद् व्यवस्थापन पोर्टलमा विवरण राख्न ढिलाइ भएको बताए । बढ्दो गमीले भूकम्पपीडितमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको र अस्थायी आवासमा उनीहरूको बसाइ कष्टकर भइरहेको रावतको भनाइ छ । एक साताभित्रै अस्थायी टहरा निर्माणको दोस्रो किस्ताको रकम वितरण गर्ने गरी काम भइरहेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

प्रकाशित : वैशाख २३, २०८१ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?