२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

समग्र सहकारी ठगी र त्यसमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानविन हुनुपर्छ : लेखक

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन हुनैपर्ने बताएका छन् । 

समग्र सहकारी ठगी र त्यसमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानविन हुनुपर्छ : लेखक

बुधवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा संसदीय मामिलाका पत्रकारहरुसँगको अन्तर्क्रियामा उनले उपप्रधानमन्त्री लामिछाने व्यक्ति मात्रै नभएको र उनको सहकारी ठगीमा संलग्नता देखिएको भन्दै संसदीय छानविन आवश्यक रहेको बताए ।

प्रमुख सचेतक लेखकले सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री लामिछानेमाथि र समग्रतामा पनि छानविन गरेर अघि बढ्नुपर्ने कांग्रेसको बटमलाइन रहेको बताए । कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको मात्रै छानविन नगरेर समग्रतामा छानविन गरी सहकारी बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ भन्ने स्पष्ट अडान लिएको उनको भनाई थियो ।

उनले भने, ‘मुल कुरा के हो भने यहाँ एउटा कन्फ्युजन भएको छ । त्यो के हो भने हामीले मानौँ कि मन्त्रीजी कहाँ मात्रै छानविन खोजिराखेका हौँ कि भन्ने एउटा भाष्य निर्माण गर्ने प्रयत्न भइराखेको छ । त्यसो होइन । हामीले दुई वटै कुरालाई अगाडि बढाउने हो । त्यो के हो भने–हजारौं मान्छेको अर्बौ रुपैयाँ सहकारीमा जम्मा भयो । त्यो बचत अपचलन भयो । ठगी भयो । र बचतकर्ताको रकम जोखिममा परेको छ । त्यसकारण बचतकर्ताको पीडालाई सम्बोधन गर्ने गरेर बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ । यो हिनामिना, अपचलन, दुरुपयोग गर्नेमा संलग्न मानिसहरुलाई कारबाही गर्नुपर्छ । कांग्रेसले कोही एक जना व्यक्तिको कुरामात्रै गरेको होइन, त्यसमाथि देशको उपप्रधानमन्त्री एउटा व्यक्तिमात्रै हुनै सक्दैन, त्यसकारण यो प्रकरणमा उहाँमाथि लागेको आरोप के हो ? सहकारीमा कसरी ठगी भएको छ ? दुवै कुरामा संसदीय छानविन हुनुपर्छ ।'

उनले बिहीबार बस्ने पार्टीको संसदीय दलको बैठकले त्यसबारे थप धारणा बनाउने बताए ।

प्रकाशित : वैशाख २६, २०८१ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?