२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

रवि लामिछानेविरुद्धको मुद्दाको भारी रास्वपाले बोक्नु हुँदैन : केन्द्रीय सदस्य कार्की

काठमाडौँ — रास्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्न नहुने बताएका छन् । व्यक्तिगत रूपमा लामिछानेसँग जोडिएका मुद्दामा रास्वपालाई जोड्न नहुने कार्कीको भनाइ छ ।

रवि लामिछानेविरुद्धको मुद्दाको भारी रास्वपाले बोक्नु हुँदैन : केन्द्रीय सदस्य कार्की

सहकारीको बचत रकम हिनामिनामा लामिछानेको संलग्नता रहेको र संसदीय छानबिनको माग भइरहेको बेला रास्वपा केन्द्रीय सदस्य कार्कीको उक्त धारणा सार्वजनिक भएको हो ।

रास्वपाले पार्टी सभापति रवि लामिछाने र व्यक्ति रवि लामिछानेलाई छुट्याएर हेर्नुपर्ने कार्कीको भनाइ छ । न्यूज एजेन्सी नेपालले सोधेको 'रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्छ त ?' भन्ने प्रश्नको जवाफमा कार्कीले भनेका छन्, 'बिल्कुलै बोक्दैन । बोक्नु पनि हुँदैन । यहाँ हाम्रो गल्ती भएको छ । हामीले दुई वटा रवि लामिछाने छुट्टयाउन अप्ठ्यारो मानिरहेका छौँ । व्यक्तिगत रूपमा रवि लामिछानेसँग जोडिएका मुद्दामा पार्टी जोडिन हुँदैनथ्यो । जे-जे व्यहोर्नुपर्ने व्यक्तिगत रूपमा रविजीले व्यहोर्नु हुन्थ्यो ।'

सहकारीको बचत रकम हिनामिनाको आरोप लागेको रवि लामिछाने र पार्टी सभापति रवि लामिछाने फरक-फरक रहेको कार्कीको जिकिर थियो । 'मेरो विचारमा विपक्षीले संसद् रोकेर संसदीय छानबिन गर्नुपर्छ भन्यो भने बनाउनु पर्छ भन्ने हो । तर, यहाँ समस्या देखियो, यो दुःखद् छ । मुद्दाहरू सवालहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको विरुद्ध होइन । यो रास्वपा गठन हुनुपूर्व रवि लामिछानेको विरुद्धको मुद्दा हो,' उनले भने, 'सभापति रवि लामिछाने र एउटा मिडिया चलाउने रवि लामिछाने अलगअलग हुन् ।'

लामिछाने संलग्न भनिएको सहकारीको बचत रकम ठगीमा संसदीय छानबिन समिति बनाउन सकिने पनि केन्द्रीय सदस्य कार्कीको भनाइ छ । उनले भनेका छन्, 'छानबिन समिति बनाउन सकिन्छ । म मेरो सभापति सबै आरोपबाट मुक्त हुनुहुन्छ भन्ने अपेक्षा राख्दछु । हामीले छानबिन समिति माग गर्ने सबैलाई विरोधीको नजरले हेर्न हुँदैन । छानबिन समितिलाई नै पार लगाउने भन्दा पनि प्रश्नहरूको जवाफ दिएर निमिट्यान्न पार्नेतर्फ सोच्नुपर्छ ।'

संसद्मा लामिछाने सहकारी रकम ठगीमा संलग्न रहेको भनेर प्रतिपक्ष कांग्रेस यसअघि नै अवरोध गरेको थियो । आगामी दिनमा पनि अवरोध गर्न घोषणा गरेको अवस्थामा संसद् खुला राख्नुपर्छ भन्ने रास्वपाको मत रहेको कार्कीले बताए । 'हाम्रो कारणले संसद् अवरुद्ध हुने विषयमा दुःख व्यक्त गर्दछौं । संसदीय छानबिन समिति बनाउने र बनाउन नदिनेबारे स्पष्ट धारणा हुनुपर्छ । संसदीय समिति व्यक्ति विशेषको लागि भन्दा पनि समग्र समस्याको निकास खोजिने गरी समिति बनाउन हामी तयार छौँ,' कार्कीले भने ।

वरपर रहेका व्यक्तिहरूले नै सभापति लामिछानेलाई भ्रममा पारिरहेको कार्कीको भनाइ थियो । 'रास्वपालाई एउटा माला बनाउने कडी नै रवि लामिछाने हुन् । अरु कोही होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको मालाको धागो रवि लामिछाने नै हुन् । तर, माला भनेको धागो मात्र हो, त्यसमा उनिएको फूल केही होइन भन्न थालिएको छ । रविजीको वरपर घुम्नेले धागो भनेकै माला, माला भनेको धागो भनेर सुनाउँछन् । पार्टी सभापतिलाइ नै भ्रममा पारिएको छ,' कार्कीले भने, 'अहिले हाम्रो पार्टी सभापति सरकारमा गएकै कारणले समस्या परिरहेको छ । पार्टी भनेकै रवि लामिछाने भन्ने भ्रम फैलाइएको छ । धागोले म मात्रै हो माला भनेर देखिएको अवस्था छ । पार्टीमा बढी क्षति रवि लामिछानेजी सरकारमा गएको कारणले भएको छ ।'

कार्कीले सरकारबाट रास्वपा जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने तर्क गरेका छन् । उनले पुराना पार्टीलाई अंगालो हाल्न थालेपछि रास्वपाको मिसन ०८४ ले हावा खाइसकेको बताए । पार्टीमा यस्तै अवस्था रहने हो भने पार्टीको औचित्य सकिने पनि उनको भनाइ छ । 'हामी सरकारमा मिसन ०८४ कै आधारमा जान खोजेको हो, गएको पनि हो । तर अर्कैको मिसन ०८४ को लागि पुग्यौं । हामीले नो नट एगेन भनेको ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा, खायो,' कार्कीले भने, 'हामीलाई यसले मिसन ०८४ मा ठूलो क्षति गर्छ । यो निर्णयले कसैलाई पनि खुसी दिएको छैन ।'

सरकारमा रास्वपा सहभागी हुनु नै गलत भएको कार्कीको भनाइ छ । जनताहरूले नयाँ र पुरानाको फरक छुट्याउन नसकेको उनले बताए ।

प्रकाशित : वैशाख २७, २०८१ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?