कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

महिलावादको गलत भाष्य

महिलावादी सोचलाई अतिवादी सोचका रूपमा बुझ्ने पितृसत्ताको स्कुलिङलाई नेपाली समाजको तथ्यांकले पितृसत्ताकै अतिवादलाई प्रस्तुत गर्छ ।

महिलावाद समन्यायमा आधारित राजनीतिक विचारधारा हो । महिलावादको अध्ययन क्षेत्र दर्शन, विचार, सिद्धान्त, राजनीति, इतिहास, समाजशास्त्र र अर्थशास्त्रसँग अन्तरसम्बन्धित हुन्छ । नेपालमा महिलावादलाई पूर्ण रूपमा राजनीतिक ढंगले व्याख्या गरिएको त्यति पाइँदैन बरु महिलाको मात्र विषय बनाएर आंगिक रूपमा प्रस्तुत भएको छ । फलस्वरूप महिलावादको वैचारिक रूपमा स्पष्टता आउन सकेको छैन ।

महिलावादको गलत भाष्य

जब कुनै पनि विषयवस्तुप्रति स्पष्ट दृष्टिकोण निर्माण हुँदैन त्यसउपर गलत भाष्य निर्माण हुने गर्छ । नेपालमा महिला, महिलावाद र महिला आन्दोलनको विषयप्रतिको विमर्शलाई अतिवादको संज्ञा दिएर पन्छाउन खोज्ने बौद्धिक र राजनीतिक समूह प्रशस्त छन् । सत्य के हो भने महिलावादको बौद्धिक विमर्श कम भएको कारणले नै भ्रम र गलत भाष्य सिर्जना भएका छन् । त्यसैले जति धेरै विविध आयामबाट विषयवस्तुको अध्ययन, विमर्श र आलोचनात्मक दृष्टिकोणको निर्माण हुन्छ, त्यति नै अवधारणागत स्पष्टता हुँदै जान्छ । नेपालमा महिलावादको सन्दर्भमा यसको विविध कोणबाट अध्ययन हुन अपरिहार्य छ ।

महिलावादी सोचलाई अतिवादी सोचका रूपमा बुझ्ने पितृसत्ताको स्कुलिङलाई नेपाली समाजको तथ्यांकले पितृसत्ताकै अतिवादलाई प्रस्तुत गर्छ । २०८० माघभर राष्ट्रिय महिला आयोगको हेल्पलाइन ११४५ मार्फत प्राप्त उजुरीलाई हेरौं । यो अवधिमा मानसिक हिंसा ४२ प्रतिशत, आर्थिक हिंसा २६ प्रतिशत, शारीरिक हिंसा २८ प्रतिशत, यौनिक हिंसा ९ प्रतिशत रहेको छ । यो तथ्य र प्रमाणको आधारमा पितृसत्तालाई महिलाविरुद्धको हिंसात्मक अतिवाद हो भनेर किन नभन्ने ? नेपालमा महिलावादबारे गहन र पर्याप्त विमर्श भएन किनकि मूलतः पितृसत्तात्मक सामाजिक संरचनाले महिलावादको विमर्शलाई मान्यता दिँदैन । तर पितृसत्ताको मुख्य चरित्र शोषण र नियन्त्रण हो । त्यसैले पितृसत्ताचाहिँ महिलाविरोधी अतिवाद हो ।

महिलावादबारे प्रसिद्ध महिलावादी नेता कमला भासिन भन्छिन्, ‘महिलावाद शक्तिमा आधारित सम्बन्ध होइन, सम्बन्धमा आधारित शक्ति हो । त्यसैले महिलावादी सोच मानवतावादमा विश्वास राख्ने, समन्यायमा विश्वास राख्ने, मानवजातिको संघर्ष र अनुभवको उपज हो । संसारको ज्ञान उत्पादन गर्ने विश्वविद्यालयमा महिलावाद एउटा दृष्टिकोणका रूपमा अध्ययन हुन्छ । जीवन र जगत्लाई कसरी बुझ्ने भन्ने महिलाको आँखाबाट कसरी हेर्ने सम्बन्धमा व्यापक तथ्य, सत्य र खोज हुन्छ ।

तर, नेपालमा महिलावादको विषयलाई विषयान्तर गरेर गलत भाष्य स्थापित गर्न खोज्नुको कारण हाम्रो समाज, राजनीति र राज्यसँग भयंकर अज्ञानताको खाडल छ भन्ने देखिन्छ । महिलावादी दृष्टिकोणलाई प्रवर्द्धन र संवर्द्धन नगर्ने नेपालका राजनीतिक दलको महिलावादी दृष्टिकोण स्पष्ट नभएको कारणले पनि महिलावादको अन्तरवस्तु ओझेलमा पारेको छ । नेपालमा महिला आन्दोलनको अगुवाइ गर्ने राजनीतिक महिला संगठनको महिलावादप्रतिको वैचारिक, सैद्धान्तिक बहस शून्यताले पनि गलत भाष्य स्थापित हुन मद्दत पुगेको छ । राजनीतिक क्षेत्रबाट नै महिलावादी विषयका खोज, अनुसन्धानलाई धारिलो र स्पष्ट बनाउन सकिएन भने सिंगो समाज नै सैद्धान्तिक, वैचारिक अन्योलतर्फ धकेलिने निश्चित हुन्छ ।

संसारमा विभिन्न विचारधारासहितका महिलावादी धार चर्चामा छन् । केही महत्त्वपूर्ण धारलाई यस आलेखमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ । १९ औं शताब्दीतिर मार्क्सवादी महिलावाद सुरु भयो । विश्वमा पुँजीवादी अर्थव्यवस्थाले कसरी श्रमको शोषण गर्छ भन्ने साबित गरिसकेपछि मार्क्सवादी महिलावाद बहसमा देखियो । तत्कालीन समयको प्रश्न कसरी समाजमा एउटा वर्गले अर्को वर्गलाई नियन्त्रण र शोषण गर्छ भन्ने थियो । मार्क्सवादी महिलावादले वर्गीय समाजमा श्रमजीवी महिलाको असमानतालाई कम गर्न उत्पादनका साधनमा पहुँच, उत्पादनका साधन र वितरण प्रणालीमा समानतासहितको समाज निर्माणको तर्क अघि सार्‍यो । मार्क्सवादीे महिलावादको मूल विषय समानता नै थियो । यद्यपि मार्क्सवादी महिलावादको चर्चा यतिले मात्र कम नै रहन्छ ।

समाजवादी महिलावादले पितृसत्तात्मक मोडलका सामाजिक, सांस्कृतिक र आर्थिक संरचनाले निर्माण गरेका सबै भाष्य र संस्थालाई भत्काउन चाहन्छ । पुँजीवादी आर्थिक, राजनीतिक व्यवस्थाले विभेदलाई निर्मूल गर्न सक्दैन । केही सुधारका काम भने गर्न सक्छ तर यो पूर्ण होइन । समाजवादी महिलावादको मुख्य ध्येयचाहिँ शक्ति संरचनालाई परिवर्तन गरी महिलाबीचको फरक अनुभव, आवश्यकता, संघर्ष, विभेद र असमानतालाई अन्तरसम्बद्धताको दृष्टिकोणबाट विश्लेषण गरी नयाँ समाजवादी आधार निर्माण गर्न खोजेको हुन्छ । जहाँ महिलाहरू स्वतन्त्रता, समानता र आत्मसम्मानसहित जीवनयापन गर्न पाउँछन् ।

१९९० तिर नवउदारवादी पुँजीवादी सोचले व्यक्तिगत प्राप्ति र उपलब्धिलाई नै महिलावादी आन्दोलन, सशक्तीकरणका रूपमा बुझ्न थालियो । समाजमा रहेका जरुरी महत्त्वको विषय सामाजिक, सांस्कृतिक मुद्दा, स्रोतसाधन, उत्पादन र वितरणमा मौन रह्यो जसले गर्दा पिँधमा रहेका महिलाको हितको प्रतिनिधित्व गर्न सकेन । संरचनागत परिवर्तनमा ठोस योगदान दिन सकेन । यसै विषयमा महिलावादी विद्वान् कोलोन्ताई तर्क गर्छिन्, ‘यदि कुनै पनि राजनीतिक प्रणालीले केही विशेष अधिकार प्राप्त महिलाको मात्र प्रतिनिधित्व गर्छ भने त्यो पूर्ण महिलावादी दृष्टिकोण होइन, महिलावाद लैंगिक शोषणविरुद्धको श्रम संघर्षको सिद्धान्त हो ।’ त्यसैले नेपालले प्राप्त गरेका समानुपातिक समावेशी व्यवस्थाबाट प्राप्त उपलब्धिको जगमा टेकेर सामाजिक रूपान्तरणको मार्गचित्र कोर्नुपर्छ ।

संविधान २०७२ ले नेपाललाई समाजवादउन्मुख राज्य प्रणालीको निर्माण गर्ने परिकल्पना गरेको छ । संविधानले मूल रूपमा समाजवादको आधार तयार गरी समाजवादी व्यवस्था निर्माणका लागि समाजवादी संस्था निर्माणमा जोड दिन आवश्यक छ । यस्ता संस्थाले महिलावादी सोच, मूल्य मान्यता, नियम, कानुन परिवार, विवाह, सम्बन्ध, संस्कृति, धर्मलगायत यावत् विषयमा महिला, पुरुष र अन्य सबैलाई हानि गरिरहेको अवस्था पत्ता लगाउनुपर्छ ।

यस कार्यका लागि राज्यबाट महिलाको विषयकेन्द्रित महिलावादी अध्ययन अनुसन्धानमा लगानी गर्न आवश्यक छ । यस खालका समाजवादी संस्थाबाट उत्पादन गरिने नवीनतम ज्ञान, चेतना र महिलावादी दृष्टिकोणले नै महिलावादविरुद्ध गलत भाष्य निर्माण गर्ने विचारलाई विस्थापित गर्न सक्छ । यस प्रक्रियाबाट उत्पादित ज्ञान र चेतनाले महिलाको मात्र हित गर्ने नभई समग्र पुरुष, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक र सीमान्तकृत समुदायको समेत समन्यायका आधारमा हित हुन्छ ।

प्रकाशित : वैशाख १८, २०८१ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?