२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

नयाँ पुस्तामा गिजोलिएको चेतना

निरीहताले किन गाँजिरहेको छ नयाँ पुस्तालाई ? अब त निडर र स्वतन्त्र भएर आफ्नो अस्तित्व आफैं निर्माण गर्ने समय आएन र ? गलतलाई गलत नभनी गल्ती गर्नेलाई नै उल्टै काँध थाप्ने समाजप्रति झापड दिने खोइ हाम्रो क्षमता ?
सुशीला शर्मा

सार्वजनिक बसमा नियमितजसो यात्रा गर्दा अनेक मानिसका जीवन पढ्न सकिन्छ । कैयौं रनाहा बोकेर यात्रा गरिरहेका महिला, पुरुष, रोगी, बिरामी इत्यादि । यात्रा गर्दै कहिले झ्यालबाहिर चियाइन्छ त कहिले आँखा चिम्म गर्दै निदाउने कोसिस गरिन्छ । कहिले ती कलिला मुनाहरूका बारेमा सोच्न पुगिन्छ, जो यो संसारमा आफ्ना अबोधपनासँगै खेल्दै रमाउँदै हुर्किरहेका हुन्छन् । उनीहरूको भविष्य कस्तो होला, परिवारले सजिलै हुर्काउन सके त ठीकै छ होइन भने परिवारले खाएका हन्डरले उनीहरूलाई पनि कति चोटपटक लाग्ने हो । 

नयाँ पुस्तामा गिजोलिएको चेतना

फेरि किशोरावस्था पार गरेर वयस्कतिर लम्किँदै गरेका छोराछोरीतिर दृष्टिगोचर हुन पुगिन्छ । उनीहरू निकै अलमल, भविष्यबारे चिन्ता र मानसिक अवसाद जस्तो देखिन्छ । खर्चबर्च जोहो गरेर रुचिअनुसार पढ्न विदेश पठाउन सक्षम परिवार भए त राम्रै भयो । तर जसको परिवारमा यो क्षमता छैन उनीहरूको विरक्ति पनि थेगिनसक्नुको देखिन्छ । परिस्थिति नै आर्थिक जर्जरतामा गुज्रिइरहेको बेला छ । जसरी पनि कमाउनुपर्छ भन्ने दबाबले युवापुस्तालाई परिवार, समाजमात्रै होइन विचार मन्थनबारे पनि सोच्ने फुर्सद छैन ।

हाम्रा युवा जो आफ्नो प्रतिभामार्फत समाजलाई छिटो आकर्षित गर्ने पेसामा आबद्ध छन्, उनीहरूबाट पक्कै समाजले केही अपेक्षा राखेको हुन्छ । तर, उनीहरू सामाजिक सञ्जालमा ‘सामाजिक’ छन्, व्यवहारमा व्यक्तिगत । आफ्नो खुबीबाहेक अन्य पक्षमा भने बेखबर नै देखिन्छन् । हामीले देखिरहेका छौं कि आफ्नो वैवाहिक जीवन सुरु गरेका सेलिब्रिटीहरू श्रीमान्को खुट्टाको पानी खाइरहेको, लम्पसार परेर ढोगिरहेको । दर्शकश्रोताबाट प्रश्न उठ्यो भने ‘हाम्रो आफ्नो जीवन, जेसुकै गरौं’ या ‘ख्यालठट्टा पो गरेको’ भनेर पन्छिने प्रवृत्ति देखिन्छ । समाजमा आइडल मानिएका वा आइडल बन्न खोजिरहेका प्रतिभाहरूको बुझाइ र चेतना त अनुकरणयोग्य हुनुपर्ने होइन र ?

हामी सोच्छौं कि नयाँ पुस्ता त आफसेआफ समयसँगै परिवर्तन हुन्छन् । उनीहरूले विश्वव्यापी घटना, पढाइ, प्रविधिसँगसँगै आफूलाई पनि निखार्दै लगेका हुन्छन् । अभिभावकले नै सम्पूर्ण रूपले प्रशिक्षित गर्दै नहुर्काएसम्म त कहाँ स्मार्ट पुस्ता तयार हुँदो रहेछ र ? शिक्षाका लागि पूरा गरेको डिग्री मात्रै चेतना र सामाजिक व्यवहारसँग पटक्कै मेल खाँदो रहेनछ । हामीले तयार गरेका नयाँ पुस्ताले ऐना बनेर परिवर्तन र चेतना देखाइदिनुपर्ने होइन र ?

यही सञ्जालमा हामी थुप्रै महिला प्रवचनकर्ता पनि उदाइसकेका देख्छौं । डिग्रीधारी कतिपय त्यस्ता युवा महिला जीवनमा धेरै उतारचढाव भोग्दै आफूलाई दुनियाँसामु उभ्याउन सफल पनि भएका छन् । उनीहरू अरूलाई प्रेरणा दिने, प्रभाव बढाउने तहमा पनि पुगेका छन् । विडम्बना, उनीहरू अग्रगामी, प्रगतिउन्मुख वैज्ञानिक विचार होइन कि पीडकपोषित र पुरातन कुरालाई मात्रै अंगीकार गर्ने समूहमा किन मिसिएका छन् ? अहिलेको पुस्ता कम्तीमा विचार विश्लेषण गर्न सक्ने हुनुपर्ने हो । तर, कतै मन्दिरतिर थुनेर राखेका बाँदरलाई ढोग्न पुगिरहेका छन् त कतै ढुंगाका अप्ठेरा चेपबाट अड्किँदै जीवन नै जोखिममा राखेर पापमोचनको यात्रामा लागिरहेको देख्न सकिन्छ ।

हामी एसियाली समाजका मानिस हौं । उबेला मानवीय कल्पनाबाट जन्मेका सभ्यता, संस्कृति अनि धर्मले निर्देशित छौं । भनौं, हाम्रो समाज त्यसरी निर्देशित छ । ती चलनभित्र पनि कैयौं प्रथा थिए, प्रथाभित्र पनि कैयौं कुप्रथा थिए । तीमाथि समयअनुसार बहस भए र यही मानव समाजले नै खारेज पनि गरे । तर, गहिरोसँग गढेर बसेका हाम्रा अभ्यासका जरा भने मस्तिष्कभित्र जैविकझैं बसिरहेका हुने रहेछन् । हामीले जानेर या नजानेर ती अवशेषको प्रयोग बेलाबखत निकालिरहँदा रहेछौं या पुनः अभ्यासमा ल्याउँदै नयाँ पुस्तालाई पनि हस्तान्तरण गरिरहेका हुने रहेछौं ।

हामीले फेर्न नसकेका थुप्रै सामाजिक चलन छन् । जसलाई हाम्रो संस्कृति, मान्यता, धर्मका रूपमा अपनाएको ढोङ गरिरहेका छौं । त्यस्तै सोचविचार राख्नेलाई मलजल गरेर उक्साई पनि रहेका छौं । कतिपय अवस्थामा हामीलाई कुदृष्टि र कुनियतले हेरिरहेका पीडकलाई नाइँ भन्न सकिरहेका छैनौं । आफ्नै बारेमा बुझ्न सकिरहेका छैनौं । हामीलाई देशको सामान्य कानुनबारे पनि थाहा छैन ।

हामीले अधिकार पनि हुन्छ, सँगसँगै आफ्नो व्यक्तित्व हुन्छ र सामाजिक, पारिवारिक दायित्व रहन्छ भन्ने बिस्तारै बिर्संदै छौं । अति व्यस्तता, सामाजिक सञ्जाल निर्देशित समाज, पुँजीवादी उपभोक्तामुखी आर्थिक पाटोले हामी गिजोलिएका छौं । सकभर विदेश जाने, नभए पनि छिटो पैसा कमाउनेतिर लाग्ने भन्ने मान्यता बढ्दै जानुले युवापुस्ताको सामाजिक उत्तरदायित्व ओरालो यात्रामा गइरहेको देख्न सकिन्छ । नाता सम्बन्ध, प्रेमलाई अलि परै राखेर धनसम्पत्तिका लागि हामी आखिर किन दौडिइरहेका छौं ? पैसा प्रमुख भएपछि र त्यसैले सम्पत्ति–विलासिताका चिज सहज बनाइदिइसकेपछि समाज–संस्कृतिप्रति, सिकाइका नयाँ आयामतिर जाँगर चलाउने कसले ?

हामी आफूलाई मन लागेको, सुहाउँदो आधुनिक पहिरन लगाउने स्वतन्त्रतालाई अपनाउने मामलामा केही उदार पनि छौं । यसमा हामी आफ्नो अडान राख्न सक्छौं, हाम्रो अधिकारको उपभोग गर्न सक्छौं । आफूलाई मन लागेका गरगहनामा सजिन सक्छौं, मन लागेको पार्टीमा गएर नाच्न सक्छौं । आर्थिक अवस्थाले नभ्याउने अवस्थामा अनेक दैनिक आवश्यकतालाई कटौती गरेर भए पनि गरगहना र समय सुहाउँदो फेसनतिर पनि हामी सजग भएकै हुन्छौं । तर, स्वतन्त्रता उपभोग गर्न खोज्दै गर्दा आफ्नो अस्मिता र अस्तित्वतर्फ पनि सचेत हुनैपर्छ ।

हामीले अन्याय सहनु हुन्न, दुर्व्यवहारलाई नाइँ भन्नुपर्छ र कसैले जबर्जस्ती गरे कानुनी उपचारमा जानुपर्छ । कानुन छ र पीडकलाई कारबाही गर्नुपर्छ भनेर कानुनी उपचारमा गइहाले पनि हाम्रा किशोरी या महिलाको मन धुकचुक, धुकचुक गरिरहेकै हुन्छ । किनकि भविष्यमा मेरो सामाजिक जीवन कस्तो हुने हो, परिवार, समाजको बहिष्करणमा पो पर्ने हो कि भन्ने लाग्नु स्वाभाविक हो । तर पीडित बनाउनेहरू अझ पीडा थप्न तम्तयार भएर बसेका हुन्छन् र सधैंभरि पीडितलाई नै लाञ्छना लगाइरहन्छन् । गालीगलौज गरिरहन्छन् ।

बल्लबल्ल आफूलाई पीडित हुनुको खराब अवस्थालाई झेल्दै गम्भीर मानसिक अवस्थाबाट गुज्रिसकेर पहिलाको अवस्थामा आउँछन् । तर, कतिपयमा पीडक खराब मनसाय भएको व्यक्ति थियो र उसले सजाय पाउनु आवश्यक थियो र भन्ने प्रश्न घुमिरहन्छ । उल्टै आफैंले पो गल्ती गरेको हो कि भन्ने डर लिएर बस्नेहरू पनि छन् । निरीहताले किन गाँजिरहेको छ नयाँ पुस्तालाई ? अब त निडर र स्वतन्त्र भएर आफ्नो अस्तित्व आफैं निर्माण गर्ने समय आएन र ? गलतलाई गलत नभनी गल्ती गर्नेलाई नै उल्टै काँध थाप्ने समाजप्रति झापड दिने खोइ हाम्रो क्षमता ? प्रश्न हामीतिरै तेर्सिन्छन् । हामीले नयाँ पुस्तालाई चेतनातिर उन्मुख गराउनै पो बिर्सियौं कि आफैंले पश्चगामी बाटो अपनाइरहेका छौं ?

प्रकाशित : वैशाख २४, २०८१ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?