न्यायका निम्ति अनवरत पर्खाइ
कान्तिपुरमा वैशाख १५ मा प्रकाशित ‘छोरालाई जिउँदै जलाउनेलाई सजाय दिन जो साढे १६ वर्ष लडे’ शीर्षकको समाचार पढ्दा आँखा रसाए । अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने रौतहट प्रहरी एवम् फैसला गर्ने जिल्ला न्यायाधीशलाई साधुवाद ।
२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन शेख इद्रिसको घरगोठमा बम विस्फोट भएको थियो, जसमा घाइते भएकालाई प्रमाण नष्ट गर्न कांग्रेस नेता मोहम्मद आफताब आलमको समूहले इँटाभट्टामा जिउँदै जलाएको थियो । त्यसमा यमुनामाईका २२ वर्षीय त्रिलोकनारायण सिंह पनि थिए । त्यसपछि उनका बुबा श्रीनारायण सिंहले न्यायका लागि संघर्ष सुरु गरे । त्यस क्रममा खुट्टा मात्र खियाएनन्, भएभरको सम्पत्ति पनि स्वाहा पारे ।
प्रहरी, प्रशासनमा न्यायका लागि निवेदन दिँदा लिइँदैनथ्यो । हुलाकबाट निवेदन पठाउनुपर्यो । तर सुनुवाइ भएन । आलमका अगाडि प्रहरी प्रशासन निरीह देखिन्थ्यो । घटनास्थल पुगेका तत्कालीन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले कहींकतै कुनै घटना नघटेको भनी झूटो मुचुल्का तयार गरेका थिए । तर २०७६ सालमा रौतहट प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीले फाइल खोलेर आलमलाई पक्राउ गरे । त्यसपछि अपराधको अनुसन्धान सुरु गरेर जिल्ला न्यायाधिवक्ताकहाँ पुर्याइयो । तर जिल्ला न्यायाधिवक्ताले सो मुद्दा नचलाउने निर्णय गरे । जिल्लास्तरको सो निर्णय महान्यायाधिवक्ताको कार्यालयमा पुग्यो ।
महान्यायाधिवक्ताको कार्यालयले पनि त्यसमा सही थाप्यो । उक्त निर्णयविरुद्ध श्रीनारायण र रुक्सानाले सर्वोच्च अदालतमा निवेदन दिए र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै गम्भीर अनुसन्धान गरी मुद्दा चलाउन सरकारलाई निर्देशात्मक आदेश दिइन् । पछि फेरि सर्वोच्च अदालतले नै आदेश कार्यान्वयन नगरेकामा प्रश्न उठायो । उता रुक्सानालाई आलमकै योजनामा गोली हानेर हत्या गरियो । श्रीनारायणलाई मोटो रकमको प्रलोभन देखाई मिलापत्र गर्ने दबाब दिइयो । तर श्रीनारायण लोभिएनन् । रौतहट जिल्ला अदालतले २०७६ सालमा मोहम्मद आफताब आलम, उनका भाइसहितलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दियो । अहिले आलम दाजुभाइ कारागारमा छन् । जिल्ला अदालतले पनि हालसालै आलम दाजुभाइविरुद्ध जन्मकैदको सजाय सुनाएको छ । १६ वर्षपछि बल्ल ८३ वर्षीय सिंहले न्यायको अनुभूति गरेका छन् । अन्य मुद्दामा पनि यस्तै न्याय सम्पादनको खाँचो छ ।
– गंगाराज अर्याल, पाणिनि– ८, अर्घाखाँची