२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

डढेलो रोक्न बेलैमा पहल

पाठक पत्र

अचेल आगलागी र डढेलोका कारण भएको क्षतिबारे समाचार दिनहुँ आएकै छन् । आगलागीले घर ध्वस्त हुँदा सयौं परिवार बिचल्लीमा परेका छन् । अग्निपीडितसँग शरीरमा लगाएको एकसरो कपडाबाहेक अरू केही बचेको छैन । उनीहरूलाई छाक टार्नसमेत मुस्किल परिरहेको छ । मुलुकमा आगलागी र वन डढेलोले बर्सेनि क्षति त गरेकै हुन्छ ।

यसपालि हिउँद सुक्खा भयो, त्यसपछि पनि खासै वर्षा भएन । त्यही कारण आगलागी र वन डढेलोका घटना वृद्धि भएको छ । आगलागी र डढेलो कम गर्न वर्षा नै कुर्नुपर्ने हो ? जब समस्या उत्पन्न हुन्छ, तब मात्र व्यवस्था गरेजस्तो गर्ने सरकारको पुरानो बानी नै हो ।

आगलागी बढिरहेको छ, तर स्थानीय सरकारसँग दमकल नगण्य छन् । समयमै दमकल खरिद तथा जनचेतना अभिवृद्धि गरी यस्ता विपद्बाट जोगिन उपाय अपनाउन पर्याप्त चासो देखिएन । अर्बौंको नोक्सानी र आलोचनापछि मात्र कतिपय स्थानीय सरकारले दमकल किन्ने निर्णय गरेको खबर आएका छन् ।

वनमा घाँस, दाउरा लिन जानेहरूले मात्तिएर आगो सल्काई हिँड्ने, चुरोट सल्काउँदा सलाईको बलेको काँटी जथाभाबी फ्याँक्ने समस्या छ । कतिपय अवस्थामा ढुंगा आपसमा ठोकिएर पनि आगलागी वा डढेलो लाग्ने गर्छ । अधिकांश डढेलो मानवीय कारणले नै हुन्छ ।

यस्ता कारणलाई सरकारले पर्याप्त निगरानी गर्नुपर्छ । आगलागी वा डढेलोको रोकथाम र क्षति न्यूनीकरण गर्न सरकारले बेलैमा पहल गर्नुपर्छ । यसका लागि वन, निकुञ्जभित्र रहेका र ढलेका काठ, दाउरा, खोस्मेरालाई लिलाम बिक्री गर्नुपर्छ ।

गर्मी मौसम लाग्नासाथ संघ तथा स्थानीय सरकारले बेलाबेला आफ्नो वन क्षेत्र अनुगमन गर्नुपर्छ । बिनाकाम कतै पनि आगो सल्काउन नहुने सन्देश दिँदै आफ्ना नागरिकलाई सचेत गराउनुपर्छ र गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ ।

आगो लागिहाले हेलिकोप्टर, ड्रोन र दमकलबाट पानी फ्याँकेर पनि आगो निभाउने पहल गर्नुपर्छ । जथाभाबी आगो सल्काएर छोड्नेलाई कडा कारबाही गर्नुपर्छ ।

– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : वैशाख २६, २०८१ ०६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?