१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मलामी बसलाई विराटनगर महानगरले निःशुल्क इन्धन उपलब्ध गराउने

रासस

विराटनगर — मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसका लागि विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो ।

मलामी बसलाई विराटनगर महानगरले निःशुल्क इन्धन उपलब्ध गराउने

विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नं १० ले अन्सारी र ज्येष्ठ नागरिकको आज सम्मान गरेको थियो । सो सम्मान कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मलामीका लागि सञ्चालित बसलाई मासिक इन्धन उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले भने, 'यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ । बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ ।'

ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिँदै उनले भने, 'ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई अनुशरण नगरेकै कारण समाज पछाडि परेको छ, अनुभवसँगै ज्ञान, संस्कारसमेत ज्येष्ठ नागरिकबाट सिक्नु अहिलेको आवश्यकता हो ।' उनले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

महानगरले १९ वटै वडामा घरघर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई सो अवसरमा कम्बल, छाता, हर्लिक्स, फलफूल प्रदान गरेर सम्मान गरिएको थियो । वडाभित्र बसोबास गर्ने एक सय जनालाई सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

कार्यक्रममा सम्मानित अन्सारीले ज्येष्ठ नागरिकलाई धार्मिकयात्रामा जानका लागि समेत निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित : वैशाख ८, २०८१ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?