अग्निपीडितलाई शिक्षकहरूको आर्थिक सहयोग
खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाका अग्निपीडितलाई शिक्षक–शिक्षिकाहरूले राहत वितरण गरेका छन् । म्यासेन्जर ग्रुप बनाएर शिक्षक–शिक्षिकाबाट संकलन भएको रकमबाट राहत वितरण गरेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका शिक्षक दिलीप वाम्बुले राईको पहलमा म्यासेन्जर ग्रुप बनाएर एक सय ६७ जनाबाट संकलन गरिएको एक लाख ७६ हजार दश रुपैयाँ राहत वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविका प्रधानाध्यापक नवीन चाम्लिङले बताए ।
वैशाख १४ गते आगलागीबाट पीडित मदनबहादुर थापा मगरलाई ४५ हजार दश रुपैयाँ, इन्द्रबहादुर थापालाई ३५ हजार, गोपालबहादुर थापालाई ३५ हजार, झनबहादुर थापालाई २३ हजार, भेषबहादुर रानालाई १४ हजार, खगेन्द्र विश्वकर्मालाई १२ हजार र योगबहादुर रानालाई १२ हजार रुपैयाँ आइतबार सहयोग गरिएको अभियानकर्ता तथा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका शिक्षक दिलीप वाम्बुले राईले बताए ।
राईका अनुसार शिक्षक–शिक्षिकालाई विपत् आइपर्दा सहयोग संकलन गर्ने परम्पराअनुसार सल्लेस्थित सरस्वती आधारभूत विद्यालयकी प्रअ धनकुमारी थापामगर र सल्लेकै जनता माविकी शिक्षक गंगा थापामगरको घर जलेर नष्ट भएपछि सहयोग संकलन गरिएको राईले बताए ।
‘शिक्षक–शिक्षिकाहरूलाई विपत् आइपर्दा सहयोग संकलन गर्ने हाम्रो परम्परा छ, यही अनुसार सहयोग संकलन गरेर दिइएको हो ।’ वाम्बुले राईले भने,‘केही समय अघि पनि धितुङका शिक्षक देवराज राईको घरमा आगोले क्षति हुँदा नवीन चाम्लिङको अगुवाइमा एक लाख १८ हजार रुपैयाँ संकलन गरेर दिइएको हो ।’
प्रकाशित : वैशाख २४, २०८१ १२:०१