कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

भूषण यादव

वीरगन्ज — विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । हत्या, अपहरण, हातहतियार र लागूऔषधको कारोबारमा संलग्न रहेका पासवानलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा खोजी गरिरहेको थियो । पासवानलाई प्रहरीले वीरगन्जमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

सीमावर्ती भारतीय बजार रक्सौल निवासी पासवान सोमबार राति करिब ११ बजेको समयमा भारतबाट बीआर ०५ एल ६१३९ नम्बरको मोटरसाइकलमा लागू औषध तथा हातहतियारका साथ वीरगन्जतर्फ आइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी परिचालन गरेको थियो ।

पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार वीरगन्ज महानगरपालिका– १६ स्थित भुटनदेवी मन्दिर अगाडि सडकखण्डमा उक्त नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्न खोज्दा मोटरसाइकलमा सवार व्यक्ति भागेका थिए । प्रहरीले दुई राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । प्रहरीको नियन्त्रणमा आएपछि घाइते व्यक्ति बब्लु पासवान रहेको खुलेको थियो ।

प्रहरी नायव उपरिक्षक समेत रहेका थापाले प्रहरीले पेस्तोलबाट चलाएको गोली पासवानको बायाँ खुट्टाको घुँडामुनी लागेको बताए । घाइते पासवानलाई प्रहरीले नारायणी अस्पतालमा उपचार गराई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।

४५ वर्षीय पासवानको खनतलासी गर्दा प्रहरीले मेड इन युएसए नं. ११ लेखिएको एक थान पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम, ८ सय ८० ग्राम गाँजा बरामद गरेको थापाले जनाए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०७३ जेठ १३ मा वीरगन्जका उद्योगी सुरेश केडियाको वाराको महागढीमाई नगरपालिका– १ स्थित पसाहा पुल नजिकैबाट अपहरण भएको थियो । सो अपहरणका मूख्य योजनाकार पासवान नै रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जनाएका छन् । यसैगरि २०७९ असोज ३ मा काठमाडौँको गोठाटार निवासी लाल मोहमदको हत्यामा समेत पासवानको संलग्न रहेका थिए ।

प्रहरी नायव उपरिक्षक थापाका अनुसार सीमावर्ती रक्सौल बजारमा बसेर नेपालमा पासवानले साना हातहतियार तथा लागू औषध कारोबार गर्ने, यहाँका उद्योगी व्यापारीलाई डर धम्की देखाएर असुली गर्ने र नेपाली अपराधीहरुलाई उनले भारतमा संरक्षण गर्दै आएका थिए ।

प्रकाशित : वैशाख १७, २०८१ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?