मधेशमा जसपा नेपाल संसदीय दलको बैठक सुरु
धनुषा — मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठक सुरु भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले बोलाएको संसदीय दलको बैठक मधेश भवन मुख्यमन्त्री निवासमा सुरु भएको जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवले बताए ।
बैठकमा पार्टी विभाजले प्रदेश सरकारमा पर्न सक्ने प्रभाव र प्रदेश सरकारको बजेट विषयमा छलफल सुरु भएको सांसद यादवले बताए । मधेश प्रदेशमा जसपा नेपालको १९ सांसद मध्ये संसदीय दलको बैठकमा १७ जना उपस्थित रहेको बैठकमा सहभागी सांसदले बताए । जसपा नेपाल विभाजन पक्षमा प्रदेश सांसद गए मुख्यमन्त्री यादव अल्पमतमा पर्न सक्ने जोखिम बढेको छ ।
डेढ वर्षमा पटक पटक गठबन्धन फेरर चार पटक विश्वासको मत यादवले लिनु परेको छ । गठबन्धन दललाई सन्तुष्ट पार्न मुख्यमन्त्री यादवले १२ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।
प्रकाशित : वैशाख २४, २०८१ ११:०१