कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बस्तीमै पुगेर आँखाको शल्यक्रिया 

जलविरे (सिन्धुपाल्चोक) — ‘लौ डाक्टर साब मैले त तपाईंलाई छर्लङ्ग पो देखें,’ ७८ वर्षीय कार्साङ लामाले खुशी हुँदै भने, ‘अब त एक्लै घर जान सक्छु ।’ जुगल गाउँपालिका लेकालीबस्ती गोल्चे गाउँका कार्साङ दुवै आँखा देख्ने भएर घर फर्के । मोतियाबिन्दुका दुवै आँखा बन्द भएर घरमै थलिएका उनी संसार देख्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । भन्छन्, ‘मान्छे पनि देउतै रहेछ ।’ 

बस्तीमै पुगेर आँखाको शल्यक्रिया 

स्थानीय पाङताङ गाउँकी लालाकुमारी श्रेष्ठको दुवै आँखा खुलेको छ । पालैपालो दुवै आँखाको शल्यक्रिया गरेपछि उनी ठमठम हिँड्न सक्ने भएकी छन् । डाक्टरले घरमै गएर बोलाएका थिए । ‘पहिले जताततै अँध्यारो देख्थो । अहिले त सबै उज्यालो भयो,’ उनले हाँस्दै भनिन् ।

कार्साङ र लालकुमारी प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाको विकटबस्तीलाई केन्द्रित गरेर बलेफी गाउँपालिकाको जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित निःशुल्क आँखा शिविरमा ९४ जना मोतियाबिन्दुका बिरामीको आँखा खुलाइएको छ । दुवै आँखा देख्ने भएका कार्साङ भन्छन्, ‘लट्ठी टेकेर आफन्तको सहारामा आएको थिए अब एक्लै घर जान सक्छु ।’ उनी जस्तै लट्ठीको सहारामा शिविर आउनेहरु शल्यक्रियापछि हिँडेर घर फर्केका छन् । कमजोर आर्थिक अवस्था, भौगोलिक विकटता र सूचनाको अभावमा बन्द आँखा लिएर घरै बसेकाहरुलाई आँखा विशेषज्ञ सुरज क्षत्रीसहित तीन जनाको टोलीले पहिचान गरेर शिविरमा ल्याइएको थियो ।

अस्पताल नजाने र शिविरमा पनि नआउने दृष्टिविहीनहरु गाउँगाउँमै बसेको सूचनाका आधारमा स्थानीय गोल्चे, गुम्बा, सेलाङ, पाङताङ, तापगाउँ, बोल्दे, बराम्ची, पागार्पुलगायतका बस्तीमै पुगेर आँखा नदेख्नेहरु पहिचान गरिएको थियो । पाँच दिन लगातार गाउँ डुलेर एक सय ३२ जनाको मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो । आँखाका रोगी पहिचान गर्न आयोजक संस्थाहरु बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र र सुनकोसी इन्द्रावती समाजका प्रतिनिधिहरु बस्ती नै पिच्छे गएका थिए । इन्द्रावती समाजका अध्यक्ष भूपेन्द्र थापाका अनुसार रोगीको पहिचानपछि बलेफी गाउँपालिकाको जलविरेमा आयोजित तीन दिने शिविरमा एक हजार दुई सयको आँखा उपचार गरिएको छ । वर्षौंदेखि अँध्यारोमा बसेकाहरुले संसार देखेको उनले बताए । जिल्लाको मध्यभागमा पर्ने बस्तीहरु विकट क्षेत्रमा भएकाले आँखाका बिरामी अझै अस्पतालको पहुँच बाहिर रहेको आयोजकले बताए । आँखाको शल्यक्रिया धेरै जटिल नभए पनि सर्वसाधारणको चेतना र पहुँचको अभावमा उपचार हुन नसकेको थापाले बताए । शिविर सञ्चालन गरिएको क्षेत्र जिल्लाकै विकट भेग हो ।

बीपी अध्ययन केन्द्र टिम लिडर रमेश प्रधानको नेतृत्वमा काठमाडौंबाट आएको आँखाका सर्जन आशिषराज पन्तसहितको टोलीले तीन दिनसम्म सामान्य उपचार र शल्यक्रिया गरेको थियो । शल्यक्रियाको नेतृत्व गरेका विशेषज्ञ पन्तले विकट बस्तीका विपन्नको आँखा खुलाउन पाएकोमा खुसी लागेको बताए । उनले भने, ‘अझै धेरै आँखाका बिरामी गाउँमै रहेकाले उपचारको खाँचो देखिन्छ ।’

आयोजकले शिविरमा बिरामीका लागि खाने, बस्ने, औषधि र शल्यक्रिया निःशुल्क गरेको छ । शिविरमा रक्तचाप तथा सुग जाँच गरिएको थियो । शिविर सञ्चालनका लागि भोटेकोसी पावर कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको छ । पावर कम्पनीले दशकदेखि यस्तो सहयोग गर्दै आएको छ । चीनको सीमा क्षेत्र तातोपानीमा अवस्थित भोटेकोसी पावर कम्पनीले अढाई दशकदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

त्यस्तै शिविरको समापनमा इन्द्रावती समाजले आयोजना गरेको कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । साथी फाउन्डेसन, स्थानीय तह, लाभान्वित अगुवाहरु, संघसस्थालगायतले शिविरमा सहयोग गरेका थिए ।

प्रकाशित : वैशाख २२, २०८१ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?