२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

अनिश तिवारी

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिकाले डढेलो लगाउने व्यक्ति या समूहबारे सूचना दिनेलाई ५० हजार पुरस्कार दिने जनाएको छ । जथाभावी वनमा डढेलो लाग्दा स्वास्थ्य तथा सिंगो वातावरणमा नकारात्मक प्रभाव परेको भन्दै गाउँपालिकाले सूचना जारी गरी पुरस्कारबारे जानकारी दिएको हो ।

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

वैशाख १८ मा जारी सूचनामा हेलम्बुवासीसहित सबैमा वनमा डढेलो लगाउने कुनै क्रियाकलाप नगर्न आग्रह गर्दै वन ऐन २०७६ दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमअनुसार कारबाही गरिने उल्लेख छ ।

'वनमा आगो लगाउने जस्ता गैरकानुनी क्रियाकलाप गर्नेबारे प्रमाणसहित सूचना दिने व्यक्तिलाई पुरस्कारस्वरुप ५० हजार रुपैयाँ दिने व्यवस्था गरेका छौं, अहिलेसम्म त्यस्तो सूचना दिने आएका छैनन् तर यो पुरस्कार प्रभावकारी सिद्ध भएको छ, त्यसयता वनमा आगो लाग्न पनि ठ्याक्कै रोकिएको छ,' हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने ।

गाउँपालिकाको निर्णयअनुरुप वनमा आगो लगाउनेबारे सुराकी दिने व्यक्तिको नाम गोप्य राखिने शर्त रहेको अध्यक्ष शेर्पाले बताए । जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर यसरी पुरस्कार तोकेर वन जोगाउने अभियान गर्नेमा हेलम्बु गाउँपालिका पहिलो हो । गाउँपालिकाले यो सूचना जारी गरेपछि आगलागी रोकिएयता मेलम्ची बाढीपीडित हेलम्बुवासीले राहत महसुस गरेको उनले उल्लेख गरे ।



प्रकाशित : वैशाख २५, २०८१ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?