कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

मैयुम गाउँका दैलोमै खानेपानी

आश गुरुङ

लमजुङ — नजिकै पुमाखोलाबाट बग्ने पानीको साहराले बाँचेका बेंसीसहर नगरपालिका-७ मैयुम गाउँमा ३ दशकअघि सामूहिक खानेपानी योजना बन्यो ।

मैयुम गाउँका दैलोमै खानेपानी


उक्त खानेपानी योजना जीर्ण बनेपछि स्थानीयबासिन्दा फेरि पुरानै पुमाखोला र छेउछाउका कुवा धाउन थाले । ‘बर्खामा त मूल पलाउँथ्यो, गाग्रीमा थापेर पनि ल्याइन्थ्यो । हिउँदामा त खोलै पुग्नुपर्थ्यो,’ विगत सम्झिँदै ६६ वर्षीया शान्ति परियारले भनिन्, ‘अहिले त दैलोमै खानेपानी आएको छ । हाइसन्चो छ ।’

मैयुम खानेपानी उपभोक्ता समितिका अध्यक्ष काजीराम परियारका अनुसार बेंसीसहरबाट नजिकै भएर पनि गाउँ निकै पिछडिएको थियो । ‘अहिले सडक आयो । बजार पुग्न ५ मिनेट पनि लाग्दैन । तर, खानेपानी थिएन,’ उनले भने, ‘अहिले खानेपानी आएपछि निकै सुविधा पुग्यो । हिजो पिउने पानी थिएन । आज बारीमा सागसब्जी फलाएका छौं । नानीबाबुलाई नुवाइधुवाइ गर्न, आमाहरूलाई खाना पकाउन सजिलो भएको छ ।

एकतिहाई दलित बस्ती रहेको मैयुम गाउँको ४४ निजी घर र सामुदायिक भवनमा एउटा गरी ४५ वटा धारा बनेको छ । बेंसीसहर नगरपालिकाको समन्वयमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) र क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) को साझेदारीमा लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत निर्मित खानेपानी योजनाको सोमबार प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

‘म आफू गण्डकी सरकारको मुख्यमन्त्री हुँदा ५ वर्षमा घरघरै खानेपानीको धारा पुर्‍याउँछु भनेको थिएँ । सरकार ढल्यो, मेरो सपना पनि ढल्यो । पछिल्ला सरकारले यो काम गरेन,’ उनले भने, ‘नेतृत्वमा नरहँदा पनि सहजीकरण गरिरहें । अहिले घरघरै खानेपानीको धारा बनेको छ । मेरा सपनाहरु विस्तारै पूरा हुँदै गएका छन् ।’

आफूपछिका सरकारले नागरिकको चाहनाअनुरुप काम गर्न नसकेको टिप्पणी गर्दै उनले विकासका काम नगरेको र आफूले सुरुआत गरेका विकासका कामहरु पनि अलपत्र पार्ने काममात्रै भएको बताए । ‘मैले छोडेपछिको सरकारले केही गरेको देख्दिनँ । नागरिकको चाहना पूरा गर्न एमाले नेतृत्वको सरकार आवश्यक भइसक्यो,’ उनले भने ।

आरसीडीसी अध्यक्ष राजेन्द्र बोहराका अनुसार खानेपानी योजनाको लागि आरसीडीसी–सीआरएसले २० लाख ४७ हजार ८ सय १ रुपैयाँ ६० पैसा सहयोग गरेको छ । श्रमदानसहित स्थानीयले ५ लाख ५० हजार ६ सय १२ रुपैयाँ जुटाएका छन् । कुल २५ लाख ९८ हजार ४ सय १३ रुपैयाँ ६० पैसाको लागतमा ३ महिनाको अवधिमा मैयुम गाउँ खानेपानी योजना निर्माण गरिएको उनले बताए ।

प्रकाशित : वैशाख १८, २०८१ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?