१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

आयल निगमले सार्वजनिक जमिन कब्जा गर्न खोजेको भन्दै स्थानीयको विरोध

माधव ढुंगाना

भैरहवा — नेपाल आयल निगमले पेट्रोलियम भण्डारण स्थल निर्माणको नाममा आफ्नो स्वामित्व भन्दा बाहिरको सार्वजनिक जमिन कब्जा गर्न खोजेको भन्दै रुपन्देहीको रोहिणी खोला आसपास क्षेत्रका स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । 

आयल निगमले सार्वजनिक जमिन कब्जा गर्न खोजेको भन्दै स्थानीयको विरोध

रुपन्देहीको ओमसतिया गाउँपालिका-५ र रोहिणी गाउँपालिका–३ मा पर्ने सिसनिया गाउँका स्थानीयबासीले शनिबार विरोध प्रदर्शन गरेका हुन् ।आयल निगमले पेट्रोलियम भण्डारण स्थल निर्माणको नाममा वर्षौंदेखि आफूले जोतभोग गर्दै आएको सार्वजनिक जमिन कब्जा गर्ने उद्देश्यले कुनै सरसल्लाह नगरी निर्माण कार्य अगाडि बढाउन थालिएको उनीहरुको दाबी छ ।

‘हामीसँग कुनै पनि सरसल्लाह नगरि हामीले भोगचलन गर्दै आएको जमिन सम्याउने भन्दै निर्माण सामाग्री थुपारेर कब्जा गर्न थालेकाले हामी बिरोधमा उत्रिएका हौं,' ओमसतिया–५ का स्थानीय देवी प्रसाद मिश्राले भने, ‘नेपाल आयल निगमले खोला किनाराका बासिन्दालाई असर पार्ने र गरि एकलौटी रुपमा पेट्रोलियम भण्डारण स्थल निर्माणको प्रक्रिया आगाडि बढाएको प्रति हामी बिरोधमा छौं ।’

नेपाल आयल निगमले रुपन्देहीको भलवारीमा रहेको पेट्रोलियम डोपोलाई स्थानान्तरण गर्ने गरी उक्त स्थानमा बुधवार ठूलो तामझामकासाथ आफ्नो जमिन सम्याउने र रिटेनिगंवाल लगाउने कामको सुभारम्भ गरेको थियो ।

वर्षेनि बाढीका कारण डुबानमा परिरहने रोहिणी खोला किनाराको उक्त स्थानमा निगमले केही वर्ष अगाडि ठेक्का प्रक्रियाद्वारा १४ बिघा ७ कट्ठा जमिन खरिद गरेको थियो । बिचौलिया भूमाफियासँगको मिलोमतोमा निगमले चलनचल्ती भन्दा अत्याधिक महँगो दरमा जमिन खरिद गरेको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोग, संसदीय छानबिन समिती लगायतका निकायले स्थलगत अध्ययन सहितको छानबिन गरेका थिए ।

निगमले उक्त जमिनमा कुनै विवाद नरहेकोको र विवाद सल्टिएको दावी गरेको छ । तर, विभिन्न छानबिन तथा अनुशन्धान प्रक्रिया के भए ? भन्ने वारेमा कुनैपनि तथ्य सार्वजनिक गरिएको छैन ।

स्थानीय बासिन्दाले गरेको बिरोधमा सहभागी भएका त्यस क्षेत्रका पुर्व प्रतिनीधि सभा सदस्य तथा मन्त्री अब्दुल रज्जाकले आयल निगमले आफ्नो स्वामित्वको जमिन सम्याउने भन्दा पहिला आफ्नो स्वामित्व भन्दा बाहिरको स्थानीयले भोगचलन गर्दै आएको जमिनमा काम गर्न थालेपछि बिरोधमा उत्रिएको बताए । ‘आयल निगमले आफ्नो स्वामित्वको जमिनमा निर्माण कार्य गरोस् तर त्यस भन्दा बाहिरको जमिन कब्जा गर्न पाइदैन’ रज्जाकले भने, ‘टेण्डर प्रक्रिया पुरा नहुदै धमाधन निर्माण कार्य थालेर आयल निगमले फेरि अनियमितता र भ्रष्टाचारको संकेत दिइरहेको छ ।’

रज्जाकले, जग्गा खरिद प्रकरणमैं बिगतमैं ठूलो भ्रष्टाचार भएको र अहिलेपनि जमिन सम्याउने र रिटेनिगंवाल लगाउने कामको सुभारम्भका वेला निगमले आफ्नो प्रभावमा पार्नकालागि संचारकर्मी लगायत्का सहभागीलाई भोज खुवाएर हातहातमा पैसा थमाइदिएको दावी गरे ।

स्थानीयका अनुसार, त्यस स्थलमा निगमले खरिद गरेको १४ दशमलव ७ बिगा जमिनसंग जोडिएको ओमसतिया–५ र रोहिणी–३ मा गरि ७ बिगा भन्दा धेरै सार्वजनिक जमिन छ । स्थानीयले सार्वजनिक जमिन प्रयोग गरी माटो थुपार्ने काममा रोक लगाएका छन् ।

प्रकाशित : वैशाख ८, २०८१ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?