कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३३

नवनिर्मित भवन हस्तान्तरण नहुँदा भीम अस्पतालको उपचार सेवा प्रभावित 

माधव ढुंगाना

भैरहवा — बिरामीको चापलाई व्यवस्थित गर्दै उपचार सेवा विस्तार गर्न भैरहवास्थित भीम अस्पतालमा निर्माण गरिएको आधुनिक प्रसूति गृह भवन अस्पताललाई हस्तान्तरण नहुँदा उपचार सेवा प्रभावित हुन थालेको छ । 

नवनिर्मित भवन हस्तान्तरण नहुँदा भीम अस्पतालको उपचार सेवा प्रभावित 

लुम्बिनी प्रदेश सरकारको योजनाअन्तर्गत झन्डै ११ करोड रुपैयाँको लागतमा सहरी विकास तथा भवन कार्यालय रूपन्देहीको टेण्डरमार्फत निर्माण भएको उक्त भवन निर्माण कम्पनीले भुक्तानी नपाएका कारण भवन अस्पताललाई हस्तान्तरण नभएको हो ।

भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नुरुल होदाले भीम अस्पतालको पुरानो भौतिक संरचना जीर्ण हुनुका साथै बिरामी संख्याको अनुपातमा साँघुरो भएको र निर्माण सम्पन्न भएको आधुनिक प्रसूति गृह सञ्चालनमा ल्याउन नपाइँदा अस्पतालबाट उपलब्ध गराउनु पर्ने सेवा विस्तार गर्न नसकिएको बताए ।

‘उक्त भवनलाई सञ्चालनमा ल्याउन नसकिएकाले अस्पतालमा उपलब्ध गराइने भनिएका विभिन्न सेवा विस्तार गर्न सकिएको छैन,’ होदाले भने, ‘विभिन्न विषयमा विशेषज्ञसहितको उपचार सेवा उपलब्ध गराउन विशेषज्ञ चिकित्सकको माग गरिसकेका छौं तर आवश्यक स्थानको अभाव भएको छ ।’ अस्पतालामा पर्याप्त स्थानको अभावले उपचार सेवा प्रभावित हुन थालेको उनले बताए ।

उनका अनुसार नवनिर्मित भवनमा शल्यक्रियासहितको स्त्री तथा प्रसूति विभाग स्थानान्तरण गरेर खाली हुन आउने पुरानो भवनमा अन्य सेवा उपलब्ध गराउने योजना अस्पताल प्रशासनको हो । अस्पतालमा थप सेवा विस्तार गर्नका लागि अर्थोपेडिक सर्जनको माग गरिसकिएको छ । शल्यक्रियाका लागि आवश्यक पर्ने विभिन्न उपकरण खरिद गरिसकिएको छ । तर पर्याप्त स्थानको अभाव हुँदा ती उपकरण प्रयोगमा आउन सकेका छैनन् ।

भीम अस्पतालमा उपचारका लागि दैनिक ८ सयभन्दा धेरै बिरामी आउने गर्छन् । यति धेरै बिरामीलाई व्यवस्थापन गर्नुपर्ने भौतिक पूर्वाधार भने अधिकांश जीर्ण छन् । वि.सं. १९९० मा तत्कालीन प्रधानमन्त्री भीमशमशेरका पालामा स्थापना भएको भीम अस्पताल पश्चिम तराई क्षेत्रकै पुरानो अस्पताल हो । बिरामीको बढ्दो चापलाई पुरानो भौतिक संरचना र पहिलाकै जनशक्तिले धान्न नसक्ने अवस्थामा छ । अस्पतालको आवश्यकतालाई क्रमिक रूपमा पूरा गर्न २०७७ मा तत्कालीन लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले अस्पतालको योजनाबद्ध विकासका लागि बहुवर्षीय बजेटमा समावेश गर्दै ४४ करोड रुपैयाँ लागतको गुरुयोजना स्विकृत गरेको थियो ।

योजनाअन्तर्गत तत्काल १४ करोड रुपैयाँ छुट्याएर निर्माण थालिएको आधुनिक प्रसूति गृहसहितको तीनतले उक्त भवन निर्माण भएको हो । तर, भवन निर्माण सम्पन्न भइसकेपछि निर्माण कम्पनीले पाउनु पर्ने १ करोड ३० लाख रुपैयाँ रकम भुक्तानी नपाएका कारण भवन हस्तान्तरण हुन सकेको छैन । अस्पताल महिनौंअघि निर्माण भएर अन्तिम चरणमा पुगेको छ । उक्त भवनमा गर्भवती, प्रसूति गृह, नवजात शिशु र आमाको स्याहार केन्द्र, शल्यक्रिया कक्ष, नियमित शिशुको खोप केन्द्र, ओपीडी टिकट घर सेवा सञ्चालन गर्ने योजना अस्पतालको छ ।

भवन निर्माण गरेको ठेकेदार कम्पनी मां गायत्री निर्माण सेवाका सञ्चालक त्रिभुवनदत्त मिश्रले गत असार महिनामै भवन निर्माण सम्पन्न भए पनि आफूले पाउनु पर्ने भुक्तानी रकम पाउन नसकेको बताए । ‘पाउनु पर्ने भुक्तानीका लागि असारमै बिल पेस गरेको हुँ तर अहिलेसम्म कहिले उपलब्ध हुने हो ? कुनै यकिन छैन,’ मिश्रले भने ।

अस्पतालमा उपचारका लागि भैरहवा र रूपन्देहीका मात्र नभएर पाल्पा, कपिलवस्तु, नवलपरासी र छिमेकी राष्ट्र भारतका सीमावर्ती क्षेत्रका बिरामीसमेत आउने गर्छन् ।

सहरी विकास तथा भवन कार्यालय रूपन्देहीका प्रमुख शान्तमणि अर्यालले बजेट नआएकाले ठेकेदारलाई सम्झौता अनुरूप उपलब्ध गराउनु पर्ने रकम उपलब्ध गराउन नसकिएको बताए ।

प्रकाशित : वैशाख १८, २०८१ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?