एमाले पश्चिम नवलपरासीको अध्यक्षमा पुनः अधिकारी
परासी — नेकपा एमाले पश्चिम नवलपरासीको नवौं अधिवेशनबाट अध्यक्षमा दिपेन्द्रकुमार अधिकारीसहित १ सय ५ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ ।
अध्यक्ष अधिकारीसहित पदाधिकारी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल, उपसचिवमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रमेश पौडेलले बताए ।
जिल्लाको सातवटै स्थानीय तह, महिला, युवा, अल्पसंख्यक र विधानमा व्यवस्था भएबमोजिम सबै पदमा सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कमिटीलाई पद तथा गोपनियताको शपथग्रहण गराइएको छ ।
लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नवनिर्वाचित कमिटीलाई जुझारु भएर पार्टी संगठन र आ-आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएकी थिइन् । जिल्लामा आकांक्षी धेरै भए पनि प्रदेश र केन्द्रस्तरका नेताले सर्वसम्मत गराउन पहल गरेका थिए ।