पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । 

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

दुई दशकअघि निर्माण गरेका योजना जीर्ण भएपछि मर्मतका लागि सम्बन्धित निकायले चासो नदिएको र भएका मुहान पनि बढ्दो गर्मीसँगै सुकेपछि खानेपानीको हाहाकार भएको हो । समुन्द्री सतहदेखि करिब २ हजार मिटर उचाईमा रहेको बस्तीमा खानेपानीको हाहाकार भएपछि स्थानीय समस्यामा परेका छन् । उनीहरु एक गाग्री पानीका लागि एक/डेढ घन्टा हिँडेर खोला तथा खोला आसपासमा भएका जरुवा धाउन बाध्य भएका छन् ।

खानेपानी लिन जाने गोरेटो सडक गतिलो नभएको र ठाडै उकालो, ओरालो भएकाले स्थानीयले सास्ती भोग्दै आएका छन् । खानेपानीको हाहाकार भएपछि बस्नेउराका ४०, दुरुमखोलाको चौपारी, नेटापोखरा, लामडाँडाका २० गरी ६० घर परिवार प्रभावित भएका छन् । प्रत्येक वर्ष गर्मीको समयमा हुने खानेपानीको हाहाकारका कारण डेढ दशकको अवधिमा झन्डै सय घर विस्थापित भैसकेका छन् ।

२०५२ सालमा तत्कालीन खानेपानी कार्यालय र जिविसको ४ लाख अनुदानमा निर्माण सम्पन्न गरिएको योजना जीर्ण भएको र अहिलेसम्म मर्मत तथा नयाँ बनाउने बारे कसैले चासो नदेखाएका कारण एक गाग्री पानीका लागि एक घन्टा पैदल हिँडेर बस्तीदेखि तलको खोला जानुपर्ने बाध्यता रहेको चौपारीकी ४८ वर्षीया निर्मला घर्तीले बताइन् । पुरानो योजनाको पाइप र ईन्टेक कामै नलाग्ने भएकाले मुहानको पानी पत्तालिएर गएकाले खानेपानीको लागि सास्ती भोग्दै आएको उनले बताइन् । ‘बस्तीनजिकै जंगल बढी छ । जंगली जनावर त्यत्तिकै छन् । अँध्यारोमै उठेर खोला झर्दा जनावरले आक्रमण गर्ने डर हुन्छ । एक्लै पानी लिन जान सकिँदैन । साँघुरो बाटो भएकाले अँध्यारोमा आउजाउ गर्न गाह्रो हुन्छ । साह्रै समस्या छ,’ उनले भनिन् ।

एकातिर जंगल चारैतिर लागेको डढेलो र अर्कोतिर ह्वात्तै बढेको गर्मीले बस्ती नजिकैको मुहान सुक्दा हिजोआज पानी खोज्दै हिँडनु पर्ने अवस्था रहेको दुरुमखोलाकी ४० वर्षीया प्रमिला रोकाले बताइन् । उनले मुहान सुक्दा खोलाको प्रदूषित पानी खानु परेको बताइन् । ‘एक गाग्री पानीको लागि बिहानको समय पूरै बित्ने गर्दा समयमै खाना पकाएर खान पाईदैन । प्रदूषित पानीले गर्दा पखालाको समस्या पनि देखिइरहन्छ,’ उनले झनिन्, ‘पानीकै चिन्ताले राम्रोसँग सुत्न पाइँदैन । बालबालिकाले नियमित विद्यालय जान पाउँदैनन् ।’ खानेपानी योजनाको लागि बारम्बार माग राख्दै आए पनि सम्बन्धित निकायले बास्तै नगरेको उनको गुनासो छ ।

२०६६ सालमा निर्माण गरेको सौर्य उर्जा विकास कार्यक्रमले लिप्ट खानेपानी योजना संचालन गरेको र त्यो बिग्रेपछि चार वर्षअघि सम्बन्धित निकायले सम्पन्न गरेको अर्को लिफ्ट खानेपानी योजनाको मोटर बिग्रेको र गतिलो मोटर फेर्न नसक्दा बस्नेउरामा पनि खानेपानीको समस्या दुरुमुखोलामा जस्तै रहेको स्थानीय गोवर्द्धन घर्तीले बताए । लिफ्ट खानेपानी योजना बिग्रँदा सबै कामकाज छाडेर महिलाहरु पानीकै जोहो गर्न ब्यस्त हुने गरेका उनले बताए । ‘पहिला घर नजिकै धारा आउँथ्यो । कति सजिलो थियो । बिग्रेको मोटर फेर्न नसक्दा अहिले एक घन्टा हिँड्नु परेको छ,’ उनले भने । लिफ्ट खानेपानी योजना प्रभावकारी नभएकाले पनि बस्तीका सबै विभिन्न किसिमका समस्या भोग्नु परेको उनको भनाइ छ ।

पुराना योजना तहसनहस भैसकेका, पछिल्लो समयमा निर्माण गरेका लिफ्ट खानेपानी योजना टिकाउ नभएकाले दुरुमुखोला, बस्नेउरा मात्र नभई माझखर्क, चौरमा पनि खानेपानीको समस्या उस्तै रहेको वडाध्यक्ष लालबहादुर घर्तीले बताए । पुराना योजना मर्मतका लागि पटक-पटक बजेट विनियोजन गरे पनि थोरै बजेटले राम्रो काम नहुने र सबैको समस्या समाधानको लागि तीन वर्षअघि प्रदेश सरकारबाट परेको १ करोड बजेटको लिफ्ट खानेपानी योजनाको काम गतिलो हुन नसक्दा समस्या समाधान हुन नसकेको उनले बताए ।

‘निगालचुला जिल्लाकै विकट ठाउँ हो । भौगोलिक विकटताले गर्दा बस्ती छरिएर रहेका छन् । जसले गर्दा ठूला योजना सम्पन्न हुन सकेको छैन,’ उनले भने, ‘भएको पनि गतिलो काम हुन सकेन । टुक्रे योजना दुई/चार महिनाको लागि मात्र भए । यसले गर्दा पानीको समस्या जहाँकोत्यहीं छ ।’ ठूला योजनाको लागि सम्बन्धित निकायमा पहल गर्दै आए पनि खासै सुनुवाइ हुन नसकेको उनको गुनासो छ । बाह्रै महिना हुने खानेपानीको समस्याका कारण बस्तीबाट विस्तारै बसाइँसराई गरेर सहरतिर झरेको उनको भनाइ छ ।


प्रकाशित : वैशाख १६, २०८१ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?