कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गमगढी-नाग्मा सडक : ट्र्याक खोलेकै १२ वर्ष बित्यो, सरकारले दिएन कालोपत्रे गर्ने बजेट

मुगु — सदरमुकाम जोड्ने कर्णाली राजमार्ग अन्तर्गत गमगढी-नाग्मा सडकको ट्र्याक ओपन कार्य पूरा भएको करिब १२ वर्ष बितिसकेको छ । तर यो सडक कहिले कालोपत्रे हुने भन्ने अझै टुंगो छैन । सो सडकको साढे ६ किमि सडक कालोपत्रे गर्ने काम ठेक्का लागेपनि बाँकी ८७ किमि सडक भने स्तरोन्नति र कालोपत्रे भइहाल्ने संकेत छैन ।

गमगढी-नाग्मा सडक : ट्र्याक खोलेकै १२ वर्ष बित्यो, सरकारले दिएन कालोपत्रे गर्ने बजेट

गमगढीदेखि कालिकोट नाग्मासम्मको ९३ किमि सडकमध्ये जुम्ला कनका सुन्दरी गाउँपालिका-७ पाण्डुगुफा रोकायाबाडा देखि बोता गाउँ सम्मको साढे ६ किमि सडक गत चालु आर्थिक वर्षकै ३५ करोड बजेटबाट कालोपत्रे गर्ने काम प्रारम्भ गरिएको थियो । सडक डिभिजन कार्यालयका अनुसार सो खण्डमा कालोपत्रे निर्माण कार्यको ठेक्का थोदुङ बासना जेभीले पाएको हो ।

सो खण्डमा कालोपत्रेको काम प्रारम्भ भएपनि बाँकी सडकमा भने बजेट अभावका कारण तत्कालै कालोपत्रे गर्ने सम्भावना नरहेको सडक डिभिजन कार्यालयका प्रमुख दिपेन्द्र बिष्टले बताए । 'साढे ६ किमि सडक कालोपत्रे गरेर के गर्नु?,' सडक डिभिजन प्रमुख दिपेन्द्र बिष्टले भने, 'गमगढीदेखि नाग्मासम्मको ९३ किमि सडक पुरै कालोपत्रे हुनुपर्‍यो । बजेट छैन । बाँकी ८७ किमि सडक कसरी कालोपत्रे गर्ने ?'

रारा जोड्ने पर्यटकीय मार्ग गमगढी-नाग्मा सडक कालोपत्रेको लागि सरकारले पर्याप्त बजेट नदिँदा कालोपत्रे गर्ने काम अलपत्र भएको उनी बताउँछन् । नेपाली सेनाले गमगढी-नाग्मा सडक ट्रयाक ओपन निर्माण कार्य पूरा गरी २०६९ साल पुस १ सरकारलाई बुझाएको थियो । सडक डिभिजन कार्यालयले नाग्मादेखि गमगढीसम्मको सडक खण्डको स्तरउन्नति, कल्बर्ड निर्माण, खोलानाला सुधार, पहिरो पन्छाउने काम र हिलाम्य ठाउँमा गिट्टी हालेर सुधार गर्ने काम गरिरहेको भएपनि बजेट अभावले कालोपत्रे गर्ने काम अघि बढाउन नसकेको जनाएको छ ।

गमगढी-नाग्मा सडक कालोपत्रे नहुँदा सवारी साधन जोखिम मलेर आउजाउ गर्न बाध्य छन्। उक्त सडक हिउँदमा हिलाम्य र बर्खामा धुलाम्य हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । सडक कालोपत्रे नहुँदा रारा भ्रमण गर्न आउने पर्यटकलाई समेत कठिनाइ छ । गमगढी-नाग्मा सडक कालोपत्रे र गमगढी नाक्चेनाङ्ला उत्तरी सडक निर्माणको निम्ति आगामी चालु आर्थिक वर्षमा पर्याप्त बजेट छुट्याउन लिखित तथा मौखिक रुपमा सरकारलाई आग्रह गर्ने काम भइरहेको संघीय सांसद ऐनबहादुर शाहीले बताए ।

सरकारले मुगुलाई बजेट छुट्याउन कञ्जुस्याँई गरिरहेको र आगामी चालु आर्थिक वर्षमा पनि माग अनुसारको उक्त सडकमा बजेट सरकारले नछुट्याए मुगुबासीले सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १७, २०८१ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?