भारतबाट फर्किरहेका दम्पती बेहोस बनाइ लुटिए
कञ्चनपुर — भारतबाट मजदुरी गरेर घर फर्किन लागेका एक दम्पती बाटोमै लुटिएका छन् । पञ्जाबबाट घर फर्किरहेका दम्पतीलाई सोमबार बिहान भारतको बनबासादेखि गड्डाचौकी आउने क्रममा नशालु पदार्थ खुवाएर बेहोर बनाई लुटिएका हुन् ।
सुर्खेतको बराहाताल गाउँपालिका–७ का मनिराम दमाई र उनकी श्रीमती सुक्मादेवीलाई लस्सीमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ लुटिएको हो । बेहोस अवस्थामा गड्डाचौकी पुगेका उनीहरुको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरु सांझ केही होसमा आएका छन् । ‘बिहान अँध्यारोमै बनबासा पुगेका थियौं, गड्डाचौकी नै छाडिदिन्छु भनेर अटोले बसाएर ल्यायो,’ महाकाली प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी सुक्मादेवीले भनिन्, ‘थोरै वर आएपछि लस्सी खाउ भन्यो, हामीले पनि खायौं, फेरि केही थाहा छैन ।’
उनका अनुसार १५ हजार भारु, लुगाकपडा र मोबाइल लुटिएको छ । बनबासानजिकै आम बगैंचामा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई भारतीय प्रहरीले नाकासम्म पुर्याएको हो । त्यसपछि प्रहरीले उनीहरुलाई महाकाली अस्पताल भर्ना गरेको हो । अहिले उनीहरु अस्पतालमै छन् । उनीहरु करिब २ वर्षदेखि पञ्जाबमा काम गरिरहेका थिए ।
गड्डाचौकी नाकामा रहेको नागरिक सहायता कक्षका कर्मचारी दानसिंह बोहोराका अनुसार दुवै जना होसमा आएका छन् । अहिले उनीहरुलाई अस्पतालमै राखेर उपचार भइरहेको छ । परिवारका सदस्यलाई पनि खबर गरिएको छ । मंगलबार परिवारका सदस्य आएपछि आवश्यक खर्च दिएर घरतर्फ पठाउने व्यवस्थापन गरिने उनले बताए ।
केही दिनयता नाकामा दिनहुँजसो लुटिएका नेपालीहरु पुगिरहेका छन् । आइतबार मात्रै अछामको तुर्माखाँदका गोपाल थापा पनि लुटिएर अलपत्र परेको अवस्थामा गड्डाचौकी पुगेका थिए । एक वर्षदेखि अल्मोडामा काम गरिरहेका उनलाई घर फर्किने बेला हल्द्वानीमा बेहोस बनाएर लुटिएको हो । आमा बिरामी भएर अचानक घर फर्किएका उनीबाट ३ हजार भारु र मोबाइल लुटिएको बोहोराले बताए । उनीलाई पनि घरसम्म पुग्ने भाडा र खाना खर्च दिएर पठाएको उनले बताए ।
प्रकाशित : वैशाख १७, २०८१ २०:३१