कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

बझाङ प्रदेशसभा-१ मा कांग्रेस र एमालेबीच कडा टक्कर

बझाङ — ६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर हुने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस उम्मेदवार २ सय ८४ मतले अगाडि रहेका छन् । सोमबार बिहानदेखि सिंहले अग्रता लिएका हुन् । 

बझाङ प्रदेशसभा-१ मा कांग्रेस र एमालेबीच कडा टक्कर

केही बेरअघि आएको अपडेटअनुसार सिंहले ८ हजार ९ सय ७७ मत प्राप्त गरेका छन् । आइतबार मध्यरातसम्म अग्रता कायम गरेका एमालेका दमनबहादुर भण्डारी भने झिनो अन्तरले पछि परेका छन् । उनले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ५ सय ९ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३ सय ९२ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहका अनुसार सोमबार दिउँसोसम्म अन्तिम मत परिणाम सार्वजनिक हुन सक्ने अनुमान छ । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । २०४८ पछि यो क्षेत्रमा कांग्रेसका उम्मेदवारले तीनपल्ट र एमालेका उम्मेदवारले चार पटक जितेका थिए ।

प्रकाशित : वैशाख १७, २०८१ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?