२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

काठमाडौँ — विराट वाङ्मय उत्सवको पहिलो दिन शुक्रबार नेपाली भाषा लोप हुन सक्ने चिन्तादेखि मोफसलका रंगकर्मीको दुःखसम्म चर्चा भयो । आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा आयोजित दुई दिने उत्सवलाई उद्घाटन गर्दै नगर प्रमुख नागेश कोइरालाले ऐतिहासिक सहर विराटनगरलाई साहित्य कलाको राजधानी बनाइने बताए ।

विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

उनले भने, ‘हाम्रो पहिचान राजनीतिक र औद्योगिक सहरको रुपमा थियो’, उनले थपे, ‘अब साहित्य–कलाको केन्द्र पनि बनाउँछौं ।’

कवि कुन्ता शर्माले किनोट स्पिच दिइन् । उनले साहित्य कलाको विकासबिना देशको समृद्धिको कल्पना पनि गर्न नसकिने भन्दै समाजलाई रुपान्तरण गर्न र अग्रपंतिमा लैजान साहित्य ठूलो हतियार रहेको चर्चा गरिन् । २०४० को दशकमा ‘पोथी बास्नु हुँदैन’ भन्ने कविता लेखेर चर्चा कमाएकी शर्माले साहित्य इमान्दार हुनु पर्ने र त्यसो भएमात्रै समाज रुपान्तरण सम्भव हुने दाबी गरिन् । ‘साहित्य तमसुक हैन’, शर्माले थपिन्, ‘यो त समाजको ऐना पनि हो ।’

भाषाविद् बालकृष्ण पोखरेलको नाममा हालै निर्मित गुरुकुल नाटक घरमा ‘क्यानभासमा कविता’ शीर्षकको चित्रसँगै कविता वाचनबाट सेसनको सुरुआत भएको थियो ।

हरिभक्त कटुवालको रहर, हिरा आकाशको अक्षरहरु, विमल गुरुङको आगो बल्दैछ, माधव घिमिरेको वैशाख, कृष्ण पाख्रिनको जेनी सुतेकी छे, नाती सुतेकी छे, ईश्वर वल्लभको मेरा सपना छन्, लक्ष्मीप्रसाद देवकोटाको हुरिको गीत, बानिरा गिरिको म एउटा च्यातिएको पोष्टर, सानुमती राईको जल्न देउ बल्न देउ र भूपी शेरचनको पहिरो जाने पहाडमुन्तिर कवितालाई आधार बनाएर मुकुन्द प्रयास, विनोद चौधरी, अभिषा घिमिरे, युवराज रिजाल, एलन शाक्य, महेन्द्र राई, सञ्जय धिताल, गणेश लामा र रवि बस्नेतले चित्र बनाए ।

खचाखच दर्शकबीच ‘कता रुमलियो विराट विरासत ?’ शीर्षकमा महानगरकी उपप्रमुख शिल्पा निराला, पुराना व्यवसायी ताराचद्र खेतान र अध्येता दिनेश श्रेष्ठ गफिए । पत्रकार महाप्रसाद खतिवडाले सहजीकरण गरेको यो सत्रमा विराटनगरको गुम्दो विरासतवारे चर्चा भयो ।

‘नेपाली भाषाको बहाव’ शीर्षकमाथि पत्रकार केदार शर्मा, प्राध्यापक लता पौड्याल र प्राध्यापक विष्णु एस राईले बहस गरे । संचारकर्मी टेकेन्द्र अधिकारीले सहजीकरण गरेको यो सत्रमा नेपाली भाषाको दयनीय अवस्थाबारे चर्चा भयो ।

नाट्यकर्मीहरु हेमन्त बुढाथोकी, सोनु जयन्ती र दीपा पोखरेलले ‘मञ्चमा म’ शीर्षकमा केन्द्रित भई पूर्वेली नाटकका सुखदुखबारे चर्चा गरे । यसलाई रंगकर्मी सुमन लिङ्देनले सहजीकरण गरे । अर्को सत्रमा कविद्वय जसराज किराती र मनु मन्जिलले ‘भोलि बास्ने कवि’, सम्झनामा कृष्णभूषण वलबारे वार्तालापमार्फत यी शक्तिशाली कविलाई स्मरण गरे ।

‘नेपाली साहित्य सिर्जनाका नवीनतम आयामहरु’बारे उम्दा कविहरु हाङयुग अज्ञात, देवान किराती र शुभलक्ष्मी लम्सालले चर्चा गर्ने छन् । यो सत्रलाई कवि केजी सुब्बाले चलाए ।

कविहरु सुदीप पाख्रीन, हेमन यात्री, विमल वैद्य, रोशन परियार, मनु विश्वकर्मा, सुष्मा दाहाल, अनिशा रम्तेल, टीका आत्रेय, जीवन आरोही, विनिता बोगटी, पराजित पोमु र सविता गौतमले आफ्ना रचना मार्फत पहिलो दिनको उत्सव विट मारेका थिए ।

प्रकाशित : वैशाख २८, २०८१ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?