२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

गणेशमान सिंह टी–२० क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

काठमाडौँ — सुदूरपश्चिम प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० प्रतियोगितामा शनिबार गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । दुई खेलमा सुदूरपश्चिमको पहिलो जित हो ।

गणेशमान सिंह टी–२० क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

मूलपानीको माथिल्लो मैदानमा टस हारेर ब्याटिङ गरेको गण्डकीले १८.३ ओभरमा अलआउट हुनुअघि १ सय १७ रन बनायो । शीर्ष ३ मा ब्याटिङ गरेका अर्जुन कुमाल, ईश्वर क्षेत्री र दीपक डुम्रेलाई सस्तैमा गुमायो ।

कुनै समय गण्डकी १९–३ को स्थितिमा पुगेको थियो । कप्तान विपिन खत्रीले अविजित १९ बलमा ३० रन र रोशन गौतमले २३ बलमा २८ रन बनाएर उकासे । करन पंगेनी र दिनेश बुढामगरले १५–१५ रन बटुले । सुदुरपश्चिमका नरेन भट्टले १ रन खर्चिएर २ विकेट लिए । नारायण जोशी र शेर मल्लले पनि २–२ विकेट हात पारे ।

जवाफमा १ सय १८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमलाई सहज जित दिलाउन प्लेयर अफ द म्याच चुनिएका अभिषेक पालले ४९ रन बनाए । वसन्त कार्कीले ३७ र राजु रिजालले २९ रन जोडे । दुवै अविजित रहे ।

अर्को खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ५० रनले हरायो । कोशीको लगातार दोस्रो हार हो । लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाई १ सय ३८ रन जोडेको थियो । लुम्बिनीका कप्तान देव खनालले २२ बलमा ४५ रन जोडे । दिलसाद अलीले १७ र कृष्ण कार्कीले अविजित १६ रन बनाए । कोशीका दिपेश कँडेलले २ विकेट लिए । फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, श्रवण यादव, सौजन घिमिरे र अंकित सुवेलीले १–१ विकेट लिए ।

प्रत्युत्तरमा १३९ रनको लक्ष्य पाएको कोशी एक समय ४०–७ को अवस्थामा थियो । कोशीले १९.४ ओभरमा पूरै विकेट गुमाएर ८८ रनमात्र जोड्यो । कोशीका लागि समीर कार्कीले २३ रन, सौजन घिमिरेले १६ र अंकित सुवेदीले ११ रन जोडे ।

कोशीलाई कम योगफलमा रोक्नेक्रममा लुम्बिनीका देव खनाल, नर सार्की र अभिषेक गौतमले २–२ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका लुम्बिनीका कप्तान देव खनाल प्लेयर अफ द म्याच घोषित भए ।

प्रकाशित : वैशाख ८, २०८१ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?