२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

नेपालको निकै कमजोर ब्याटिङ, दीपेन्द्रको ब्याटमा झिनो आशा

काठमाडौँ — नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा अर्को निराशाजनक प्रदर्शन गरेको छ । हङकङसँगको तेस्रो स्थानका लागि भएको खेलमा टस जितेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो ।

नेपालको निकै कमजोर ब्याटिङ, दीपेन्द्रको ब्याटमा झिनो आशा

त्यो पनि दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा समान २ चौका र छक्कासहित २० रन बनाएपछि सम्भव भएको थियो । नेपाल १४ औं ओभरमा ८७–७ को स्थितिमा ब्याटिङ गरेका दीपेन्द्रले २९ बल खेली कुल ४ चौका र ३ छक्का प्रहार गरे । आठौं नम्बरमा उनी ब्याटिङमा आउनु अघि नेपाललाई १ सय रन कटाउन पनि धौ धौ परेको थियो ।

ओमानमा भइरहेको प्रतियोगिताको अघिल्लो दिन सेमिफाइनलमा १ सय १९ रनमात्र बनाउन सकेको नेपाल फाइनल पुग्न नसकि एसिया कपमा छनोट हुन बन्चित भएको थियो । नेपालले शनिबार हङकङविरुद्धको खेलमा पनि त्यही किसिमको प्रर्दशनलाई निरन्तरता दिएको थियो ।

नेपालको निराशाजनक प्रर्दशन कुशल भुर्तेलको ब्याटबाट सुरु भएको थियो । इनिङ्सको दोस्रो बलमा कुशल खाता खोल्नु अगाडि विकेटकिपरलाई क्याच दिन पुगेका थिए । उनी लगातार तेस्रो खेलमा शुन्यमा आउट भएका हुन् । यूएईविरुद्धको सेमिफाइनलमा पहिलो बलमा आउट भएका भुर्तेल साउदी अरेबियाविरुद्ध पनि शुन्यमा आउट भएका थिए ।

अर्का ओपनर आसिफ शेखले पनि ५ रनमात्र बनाउन सके । तेस्रो नम्बरमा पठाइएका सोमपाल कामीले २ चौका प्रहार गर्दै ७ बलमा १२ रन बनाए । कप्तान रोहित पौडेल १९ बलमा २१ र सन्दीप जोरा २३ बलमा २१ रनमा आउट भए । जोरा र गुशलन झा (६) लगातार बलमा रन आउट भए ।

एक छक्का प्रहार गरेका कुशल मल्लले पनि १४ बलमा १३ रनमात्र बनाउन सके । ललित राजवंशी ३ बलमा २ रन बनाई अविजित रहे । नेपालले १७ ओभरको समाप्तिमा केवल ५ चौका र १ छक्कामात्र प्रहार गर्न सकेको थियो, जति खेर नेपालको स्कोर १ सय रन थियो ।

प्रकाशित : वैशाख ८, २०८१ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?