कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

इंग्ल्यान्डसँग ऐतिहासिक फुटबल खेल्न नेपाली राष्ट्रिय टोली लन्डनमा

लन्डन — इंग्ल्यान्ड र नेपालबीच हुन लागेको पहिलो ऐतिहासिक फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली लन्डन उत्रिएको छ ।

इंग्ल्यान्डसँग ऐतिहासिक फुटबल खेल्न नेपाली राष्ट्रिय टोली लन्डनमा

मे ६ तारिख सोमबार अल्डरसट टाउन फुटबल क्लब स्टेडियममा हुने मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत लन्डन आइपुगेका हुन् । नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान किरणकुमार लिम्बूसहित १२ खेलाडी बिहीबार दिउँसो लन्डन उत्रिएका छन् । टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेजी र म्यानेजर उत्तम राजभण्डारीसहित चार खेलाडी बिहानै उत्रिइसकेका छन् । बाँकी केही खेलाडी र व्यवस्थापकीय टीम सदस्य बेलुकासम्म लन्डन आइपुग्दैछन् ।

खेलाडी, प्रशिक्षक र व्यवस्थापकीय टीमसहित नेपालबाट जम्मा ३० जनाको टोली बेलायत आएको छ । लन्डन हिथ्रो विमानस्थलमा उत्रिएका नेपाली खेलाडीहरुलाई लन्डनस्थित नेपाली दूतावासका पदाधिकारी र स्थानीय नेपाली समुदायका अभियन्ताहरुले स्वागत गरेका छन् ।

लन्डन दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, एनआरएनए यूके पूर्वअध्यक्ष सूर्य गुरुङ, इंग्ल्यान्डसँगको खेलका लागि नेपाली समुदायका तर्फबाट संयोजक कमल कोने गुरुङ, टिकट संयोजकहरु दिलरास गुरुङ र कुमार गुरुङलगायतले विमानस्थल पुगेर खेलाडीलाई स्वागत गरेका थिए ।

लन्डन उत्रिएपछि नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले इंग्ल्यान्डसँग खेल्न पाउनु ऐतिहासिक अवसर भएको उल्लेख गर्दै आफूहरुले यसको सदुपयोग गर्ने बताए ।

उनले इंग्ल्यान्डबाट नयाँ अनुभव र केही सिक्ने आशा पनि व्यक्त गरे । ‘हामीहरु निकै उत्साहित छौं । नेपाली समुदायले पनि खेलमा आएर हौसला दिनु होला’ उनले भने ।

टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेजीले नेपाली खेलाडी पूर्ण तयारीमा रहेको र यसले ठूलो आत्मविश्वास प्रदान गर्ने जनाए ।

टीम म्यानेजर उत्तम राजभण्डारीले बेलायतमा नेपाली टिमले पहिलोपटक ऐतिहासिक खेलका लागि अवसर पाएकामा आयोजकप्रति आभार व्यक्त गरे ।

नेपाली टोलीले सोमबार अपराह्न अल्डरसट टाउन फुटबल क्लबको इबीबी स्टेडियममा इंग्ल्यान्ड सीसँग ऐतिहासिक खेल खेल्दैछ । खेल हेर्न बेलायतवासी ५ हजारभन्दा बढी नेपाली उतार्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।

त्यसअघि शुक्रबार ब्रिगेड अफ गोर्खाज्‌को टीमसँग पनि नेपालले मैत्रीपूर्ण फुटबल खेल्नेछ । नेपाली टोली मे ७ तारिख नेपाल फर्किने कार्यक्रम छ ।

प्रकाशित : वैशाख २०, २०८१ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?