कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबार पाँचौं तथा अन्तिम ट्वान्टी–२० खेलेपछि दुई चरणमा नेपाली टोली फ्लोरिडा जाँदै

काठमाडौँ — ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबार पाँचौं तथा अन्तिम ट्वान्टी–२० खेल खेलेपछि नेपाली राष्ट्रिय टोली दुई चरणमा विश्वकपका लागि फ्लोरिडा लाग्ने तालिका रहेको छ ।

विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

अमेरिका र वेस्ट इन्डिजमा जुनमा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि एक समूहमा आइतबार (बिहान २.३० बजे) र आइतबार दिउँसो गरी दुई चरणमा नेपाली टोली काठमाडौंबाट जाने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबार नेपाली टोलीको बिदाइ गरे ।

नेपालले अमेरिकामा जुन ४ मा डालासमा नेदरल्यान्ड्ससँग र जुन ११ मा श्रीलंकासँग फ्लोरिडामा तथा जुन १४ र १६ मा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा क्रमश: बंगलादेश र दक्षिण अफ्रिकासँग समूह चरणको खेल खेल्नेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

घरेलु भूमिमा नोभेम्बरमा भएको ट्वान्टी–२० विश्वकपको एसिया छनोटको फाइनलमा पुग्दै नेपाल दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको थियो । तर विश्वकप पुगेको ६ महिना बितिसक्दा पनि नेपाली टोलीले सरकारले घोषणा गरेको नगद पुरस्कार अझै पाउन सकेको छैन । नेपाली टोली अघिल्लो महिना एसीसी प्रिमियर कप खेल्न ओमान जानुअघि बिदाइका क्रममा कप्तान रोहितले आफूहरूले घोषित नगद रकम नपाएकोबारे युवा तथा खेलकुदमन्त्री श्रेष्ठको ध्यानकर्षण गराएका थिए ।

मन्त्री श्रेष्ठले विश्वकपअघि खेलाडीले घोषित रकम पाउने बिदाइका क्रममा घोषणा गरे । २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गर्न नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय भएको जनाए । यसै आर्थिक वर्षभित्र घोषित पुरस्कार रकम उपब्लध गराएमा खेलाडीहरूको मनोबल उच्च भई आगामी प्रतियोगितामा थप उत्साहका साथ प्रतिस्पर्धा गर्ने वातावरण बन्ने भएकाले रकम जति सक्दो चाँडो निकासा गर्न आफूहरूको निरन्तर प्रयास रहेको जनाए ।

नेपालसँग खेलिरहेका तीन खेलाडी वेस्ट इन्डिजको टोलीमा

नेपालविरुद्ध पाँच ट्वान्टी–२० शृंखला खेलिरहेका वेस्ट इन्डिज ‘ए’ का तीन खेलाडीलाई समेट्दै वेस्ट इन्डिजले ट्वान्टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपालसँग खेलिरहेका खेलाडीहरूमा कप्तान रोस्टन चेजसहित ओपनिङ ब्याटर जोहनसन चार्ल्स र अलराउन्डर गुडाकेश मोती वेस्ट इन्डिजको विश्वकप टोलीमा समेटिएका हुन् । चेजले नेपालसँगको पहिलो खेलमा ७४ र दोस्रो खेलमा २३ रन बनाएका थिए । चार्ल्सले तेस्रो खेलमा अविजित १ सय १९ र चौथो खेलमा ५८ रन बनाएका थिए । मोतीले तल्लोक्रममा आएर दोस्रो खेलमा अविजित ३३ रन बनाउँदै प्लेयर अफ द म्याच बनेका थिए । उनले पछिल्लो तीन खेलमा २–२ विकेट लिएका छन् ।

रोभमन पोवेलको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा अलजारी जोसेफ, चार्ल्स, चेज, सिमरन हेटमायेर, समर जोसेफ, ब्रान्डोन किंग, निकोलास पुरन, साई होप, एन्ड्रे रसेल, रोमारिओ सेफर्ड, जेसन होल्डर, अकिल हुसैन, मोती, सेरफेन रदरफोर्ड रहेका छन् । आयोजक वेस्ट इन्डिज समूह ‘सी’ मा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डासँगै रहेको छ ।

प्रकाशित : वैशाख २२, २०८१ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?