बीएनए कप बास्केटबल शुक्रबारदेखि
काठमाडौँ — बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबार सुरु हुँदै छ ।
प्रतियोगितामा ३ विधामा ४५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बीएनएका प्रिन्सिपल टंकुमार चापागाईंले जानकारी गराए ।
सिनियर ब्वाइजमा २०, सिनियर गर्ल्समा १३ र जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले बताए । सिनियर ब्वाइज र गर्ल्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ । तीनै विधाका सहभागीलाई चार समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड र जुनियर ब्वाइजमा गोल्डेनपिक डिफेन्डिङ च्याम्पियन हुन् । सिनियर गर्ल्सको थ्री बाइ थ्री पहिलोपल्ट हुन लागेको हो ।
प्रतियोगिता गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बीएनएका स्कुल कोर्डिनेटर सन्तोष फुयालले बताए । प्रतियोगिताका खेल बसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।
२०७१ सालदेखि सुरु प्रतियोगिताको दुई संस्करण कोभिड महामारीका कारण रोकिएको थियो ।
प्रकाशित : वैशाख २७, २०८१ १९:५२