२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

को बन्ला विश्वको पहिलो मिस एआई ?

एआई–मोडलको सौन्दर्यसँगै प्रविधि र तिनले इन्टरनेटमार्फत पार्न सक्ने प्रभाव मापन गरी विजेता छानिने
सजना बराल

काठमाडौँ — एक महिनाभित्र डिजिटल दुनियाँमा एउटा रोचक कार्यक्रम हुँदै छ– मिस एआई । यो हो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले बनाइएका मोडलहरूको सौन्दर्य प्रतियोगिता । विश्वमा पहिलो पटक हुन लागेको यो कार्यक्रममा आवेदन यही अप्रिल १५ मा खुला गरिएको छ । 

को बन्ला विश्वको पहिलो मिस एआई ?

यसमा दुई जना एआई–इन्फ्लुएन्सरसहितको निर्णायक टोलीले सहभागीमध्येबाट तीन जनालाई मिस एआईका विभिन्न शीर्षकका ताज पहिर्‍याउनेछन् ।

गत वर्ष इन्स्टाग्राममा एकाउन्ट खोलेको चार महिनामै एमिली पेल्लेग्रिनीका फलोअर १ लाख २३ हजार नाघे । फ्यानभ्यु भन्ने अर्को सामाजिक सञ्जाल प्लाटफर्ममा उनले ६ साताभित्र १० हजार अमेरिकी डलर आम्दानी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका थिए ।

एमिलीलाई इन्स्टाग्राममा विश्वका चर्चित फुटबल एवं टेनिस खेलाडीदेखि अर्बपतिहरूले म्यासेज पठाउने र कतिपयले दुबईका ठुल्ठूला मल र रेस्टुरेन्टमा भेट्न र खाजा खान बोलाए । तर, उनी गइनन्, जाने कुरै भएन ।

एमिलीकै जस्तो अनुभव छ, स्पेनको बार्सिलोनाकी २५ वर्षे युवती, एतिएना लोपेजको पनि । छोटो, गुलाबी–कपाल भएकी उनी पनि इन्स्टाग्राममा चाँडै चर्चित भएकी मोडल हुन् । उनले महिनाको औसत ३ हजार र बढीमा १० हजार डलरसम्म आम्दानी गर्ने गरेकी छन् । विभिन्न वस्तु तथा सेवाको विज्ञापन गरिदिन उनलाई विश्वभरबाट प्रशस्त प्रस्ताव आउँछन् । प्रतिविज्ञापन १ हजार डलर लिने गरेकी उनले विशेषतः खेलकुद र अन्य पहिरन ब्रान्डहरूको प्रचार गरेको इन्स्टाग्राममा देखिन्छ ।

रोचक कुरा, एमिली र एतिएना दुवै मान्छे होइनन् र अस्तित्वमा छैनन् । उनीहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगले बनाइएका मोडल हुन् । धेरैले उनीहरूलाई साँच्चैका युवती ठानेर प्रेम प्रस्तावसमेत राख्ने गरेको यिनका निर्माताहरू बताउँछन् । एक स्थापित फुटबल खेलाडीले एमिलीलाई इन्स्टाग्राम म्यासेजमा ‘यति राम्री मान्छेको ब्वाइफ्रेन्ड छैन ?’ भनेर जिस्काएछन् । त्यो म्यासेजको स्क्रिनसट विभिन्न न्युज साइटमा आए । केही समययता एमिलीले इन्स्टामा भएका आफ्ना सबै फोटा र भिडियो डिलिट गरेकी छन् । अब उनी मिडजर्नी कम्पनीको छैटौं भर्सन (मोडल–६) मार्फत नयाँ ‘लुक्स’ सहित इन्स्टामा आउने प्रविधि पत्रकार एवं फोटोग्राफर जो फोलीको दाबी छ ।

अर्को रोचक कुरा, यी दुवै एआई–मोडल ‘मिस एआई’ सौन्दर्य प्रतियोगिताका निर्णायक टोलीमा छन् । प्रतियोगिता आयोजक वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका) का अनुसार मिस ग्रेट ब्रिटेनकी निर्णायक स्याली एन फसेट र उद्यमी एवं लर्ड सुगर्सका जनसम्पर्क सल्लाहकार एन्ड्रिउ ब्लोच चाहिँ ह्युमन–जज (मानिस निर्णायक) हुन् । चार सदस्यीय निर्णायक मण्डलले प्रतियोगितामा सहभागी एआई–मोडलको सौन्दर्यसँगै प्रविधि र तिनले इन्टरनेटमार्फत पार्न सक्ने प्रभाव मापन गरी विश्वकै पहिलो मिस एआई छान्नेछन् ।

मिस एआईको शीर्ष विजेता वा त्यसका निर्माताले ५ हजार डलर नगदसहित कुल १३ हजार डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दोस्रो र तेस्रो हुने मोडललाई पनि नगदसहित अन्य पुरस्कारको व्यवस्था रहेको वाइकाले उल्लेख गरेको छ । विजेताको नाम मे १० मा घोषणा गरिने र सोही महिनाको अन्तिममा अवार्ड वितरण कार्यक्रम हुने फोर्ब्सको समाचारमा भनिएको छ । एआई–निर्माताले आफ्ना मोडलको नाम, उनीहरूका उत्कृष्ट तस्बिर, कुन प्रविधिमा बनाइएका हुन् भन्ने विवरण, सामाजिक सञ्जालमा तिनको ठेगानालगायत अन्य आवश्यक जानकारीहरू राखेर अनलाइन फारम भर्न‘पर्छ । यसमा भाग लिन कुनै शुल्क तिर्नुपर्दैन । ‘सहभागी मोडल शतप्रतिशत रूपमा एआई–जेनेरेटेड भने हुनुपर्छ,’ वाइकाले सर्तहरू खुलाएको छ, ‘डिपमाइन्ड, मिडजर्नी वा जुनसुकै प्रविधि प्रयोग गरेर बनाइएका मोडल प्रतियोगितामा योग्य हुन्छन् । निर्माताहरूले एकभन्दा बढी एआई–मोडल सहभागी गराउन सक्छन् ।’

मोडलहरूलाई ‘विश्वलाई थप राम्रो बनाउन कुनै एक विकल्पबारे बताउनुस्’ जस्ता विभिन्न बौद्धिक प्रश्नहरू सोधेर उनीहरूको क्षमता जाँचिने वाइकाले जनाएको छ । त्यस्तै, उनीहरूको हात, आँखा, शारीरिक बनोटलगायत ‘भिजुअल डिटेलिङ’ को मूल्यांकन गरी प्राविधिक रूपमा कत्तिको सबल छन् भन्ने आधारमा पनि अंक दिइनेछ । ‘एआई–मोडलहरूले इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको प्रयोग कसरी गरेका छन् वा इन्टरनेटमा कस्तो प्रभाव पारेका छन्, फ्यानहरूसँगको अन्तर्क्रिया र अडियन्स साइज वृद्धि दर कस्तो छ भन्ने पनि मूल्यांकन हुनेछ,’ वाइकाले भनेको छ, ‘हाम्रा निर्णायकहरूको विज्ञता र प्राप्त अंकका आधारमा मिस एआई छानिनेछन् ।’

प्रतियोगिताको साझेदारमा फ्यानभ्यु डटकम छ । यो चाहिँ कतिपय वयस्क कन्टेन्टसमेत समावेश हुने भर्च‘अल मोडलहरूको सामाजिक सञ्जाल प्लाटफर्म हो । फ्यानभ्युका सहसंस्थापक विल मोनान्जले मिस एआईसँगै समग्र एआई क्रिएटर्स अवार्डलाई एआई क्रिएटर क्षेत्रको ओस्कारसरह बनाउने बताएका छन् । मिस एआई प्रतियोगितालाई लिएर कतिपयले आलोचनासमेत गरिरहेको देखन्छ । यसै पनि समग्र सौन्दर्य प्रतियोगिताले महिलालाई अमानवीय र वस्तुसरह व्यवहार गर्ने गरेको एकथरी मत छ । अब एआई–निर्मित मोडलहरूको प्रतियोगिताले विशेषतः किशोरीहरूमाझ सौन्दर्यको अझै ठूलो अवास्तविक मापदण्ड सिर्जना गरिदिने आवाज उठाइरहेका छन् ।

इटालीकी पत्रकार ड्यानई मर्सर रिच्चीले इन्स्टाग्राममा लेखेकी छन्, ‘मेरो पुस्ताले मोडलहरूलाई म्यागजिनहरूमा हेर्‍यो । हाम्रा छोराछोरीले सामाजिक सञ्जाल फ्लाटफर्ममा देखिने कम्प्युटरले सिर्जना गरेका ‘उच्चतम सौन्दर्य’ सँग प्रतिस्पर्धा गर्न‘पर्नेछ । यसलाई कसरी समाधान गर्ने मलाई थाहा छैन तर के चाहिँ थाहा छ भने यस विषयमा हामी सचेत हुनुपर्छ ।’

प्रकाशित : वैशाख ११, २०८१ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?