१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

विपिनका बुबाआमाको आग्रह– ‘कतारी अमिरसँग छोराको रिहाइको विषय उठाइयोस्’

काठमाडौँ — कञ्चनपुरका विपिन जोशीका आमाबुबाले नेपाल भ्रमणका क्रममा मंगलबार आउँदै गरेका कतारका राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीसँग छोराको रिहाइको विषय उठाइदिन सरकारसँग आग्रह गरेका छन् । विपिन सात महिनादेखि प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा छन् ।

विपिनका बुबाआमाको आग्रह– ‘कतारी अमिरसँग छोराको रिहाइको विषय उठाइयोस्’

‘इजरायल र हमासबीच मध्यस्थता गरिरहेको कतारका राजा नेपाल आउँदै हुनुहुन्छ । नेपाल सरकारले विपिनको रिहाइको विषयलाई पहिलो प्राथमिकतामा राखेर उहाँसमक्ष कुरा राख्न अनुरोध गर्दछौं,’ विपिनका बुबा महानन्दले कान्तिपुरसँग भने । उनीहरूले कतार र हमासलाई पनि यथाशीघ्र विपिनको रिहाइ गर्न अपिल गरेका छन् । ‘कतार र हमासको सम्बन्ध राम्रो छ । नेपाल र कतारको सम्बन्ध पनि राम्रो छ । जसरी भए पनि कतारले फिर्ता पठाइदिनका लागि मध्यस्थता गरिदिन अनुरोध गर्दछु,’ उनले भने । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विपिनको रिहाइका लागि कतारी अमिरको आसन्न नेपाल भ्रमणका क्रममा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका छन् । ‘विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन कतारी राजासमक्ष प्रमुख रूपमा कुरा राखिनेछ,’ आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने ।

आमा पद्माले विपिन निर्दोष भएको भन्दै रिहाइ गर्न हमाससमक्ष अपिल गरेकी छन् । ‘विपिन नेपाली नागरिक हो । हमासको नेपालसँग कुनै दुश्मनी छैन । ऊ निर्दोष विद्यार्थी हो । उसको भविष्य हेरेर आफ्नै छोरो सम्झेर छिटोभन्दा छिटो रिहाइ गरिदिन हमास प्रमुखसमक्ष हाम्रो आग्रह र बिन्ती छ,’ उनले भनिन् । गत ७ अक्टोबर (असोज २०) मा विपिनसहित २ सय ५३ जनालाई हमासले बन्धक बनाएको हो । गाजापट्टीको सीमा नजिकै रहेको इजरायलको किबुज अलुमिमबाट जोशीसहित थाई नागरिकलाई बन्धक बनाएर लगिएको थियो । सोही दिन अलुमिममा हमासले अन्धाधुन्ध गोली चलाउँदा १० जना नेपाली मारिएका थिए ।

‘असोज २० गते दिउँसो सवा १२ बजेतिर यहाँ लडाइँ चलिरहेको छ, बोल्न मिल्दैन भन्दै म्यासेज पठाएको थियो । त्यसपछि केही खोजखबर आएन,’ आमा पद्माले भनिन्, ‘हामीलाई छोराबिना बाँच्न एकदमै अप्ठ्यारो भइरहेको छ । रातोदिन उसकै बाटो हेरिराखेका छौं । नचिनेको नम्बरबाट फोन आयो भने पनि छोराले नै गर्‍यो कि भन्ने हुन्छ ।’ गत मंसिर पहिलो साता बन्धक र कैदी साटासाट हुने गरी इजरायल र हमासबीच भएको अस्थायी युद्धविरामको समयमा हमासले २२ जना विदेशी नागरिकसहित १ सय ५ जनालाई रिहाइ गरिदिएको थियो । तर, त्यसमा विपिन परेनन् । ‘त्यसमा विपिन किन परेन भनेर केही भन्न सकेको छैन । सरकारले गर्न त गर्‍या होला । खोइ पहुँच नपुगेको हो कि जस्तो लाग्छ,’ आमा पद्माले दुःखेसो गरिन् ।

प्रकाशित : वैशाख १०, २०८१ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?