कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

भाजपामा मोदी कसरी बने निर्विकल्प ?

एक दशकअघि आडवाणीलाई उछिन्दै भाजपाको ‘कमान्ड’ लिएयता मोदीको विकल्प वा उनलाई टक्कर दिन सक्ने नेतृत्व पार्टीमा देखिएको छैन
राजेश मिश्र

नयाँदिल्ली — भारतीय जनता पार्टीमा अटल बिहारी वाजपेयीपछिको स्वाभाविक उत्तराधिकारी पार्टीका दोस्रो संस्थापक नेता लालकृष्ण आडवाणी थिए । सन् २०१४ को लोकसभा चुनाव पार्टीले जितेको खण्डमा उनी प्रधानमन्त्री हुने अड्कल थियो । भाजपाले चुनाव पनि जित्यो । तर, आडवाणीलाई उछिन्दै उनका अनुयायी नरेन्द्र मोदी प्रधानमन्त्री बने । 

भाजपामा मोदी कसरी बने निर्विकल्प ?

आडवाणी पूराना राजनीतिज्ञ, संसद्मा लामो अनुभव, वाजपेयी सरकारका उपप्रधानमन्त्री रहिसकेकाले राष्ट्रिय स्तरमै स्वीकार्य नेता थिए । राम मन्दिर आन्दोलन, देशभर रथ यात्रालगायत कार्यक्रम गरेर पार्टीलाई एउटा उचाइमा पुर्‍याएकाले उनी भाजपाबाट प्रधानमन्त्रीका स्वाभाविक दाबेदार थिए । तर, मोदीले आडवाणीको सम्भावित राजनीतिक यात्रामा विराम लगाइदिए । त्यसयता मोदी राष्ट्रिय राजनीतिमा छाएका छन् । लगातार दुई कार्यकाल प्रधानमन्त्री भइसकेका उनी तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । एक दशकअघि आडवाणीलाई उछिन्दै भाजपाको ‘कमान्ड’ लिएयता मोदीको विकल्प वा उनलाई टक्कर दिन सक्ने नेतृत्व पार्टीमा देखिएको छैन ।

भारतमा २०१४ मा कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) को सरकार थियो । लगातार दोस्रो कार्यकालका प्रधानमन्त्री थिए, मनमोहन सिंह । सिंह नेतृत्वको सरकारको उत्तरार्द्धमा सामाजिक अभियन्ता अन्ना हजारेले थालेको भ्रष्टाचारविरोधी आन्दोलन चरममा थियो । सरकारको भ्रष्टाचारका मामिलाहरू एकपछि अर्को गरी बाहिर आइरहेका थिए । हजारेको आन्दोलनमा अरविन्द केजरीवाल पनि थपिए । अन्नाको आन्दोलन शान्त हुँदा योगगुरु रामदेवले पनि दिल्लीमा भ्रष्टाचारविरोधी आन्दोलनलाई अघि बढाए । सन् २०११–२०१३ मा भइरहेको भ्रष्टाचारविरोधी आन्दोलनको पूरा लाभ लिन विपक्षी पार्टी भाजपा तयार थियो ।

घटनाक्रमले सत्तारूढ कांग्रेस कमजोर देखिँदै थियो । सत्ता गुमाएको १० वर्ष पछाडि भाजपाको पक्षमा राम्रो ‘प्लेट फर्म’ तयार थियो । वरिष्ठ पत्रकार मिन्हाज मर्चेन्ट आफ्नो पुस्तक ‘मोदी चुनौती २०२४’ मा लेख्छन्– ‘यूपीए गठबन्धनको दशक लामो सत्ता समाप्त पार्ने नेतृत्व क्षमता आडवाणीको भन्दा मोदीमा देखिएको थियो । २००१ देखि लगातार तेस्रो पटक गुजरातको मुख्यमन्त्री चलाइरहेका मोदीको महत्त्वाकांक्षा बढिसकेको थियो । आडवाणीका अगाडि अवसर आउँदै गर्दा मोदी जबर्जस्त ढंगले आफ्नो राजनीतिक ‘स्पेस’ राष्ट्रियस्तरमा बढाउन लागिपरेका थिए । उनको सरकारले गुजरातमा गरेको विकासलाई राष्ट्रिय मोडल बनाउनुपर्ने प्रचार सुरु थियो । पार्टीभित्र आफ्नो पक्षमा बोल्ने ठूलो खेमा उनले तयार पारिसकेका थिए । आडवाणी र मुरली मनोहर जोशीजस्ता वरिष्ठ नेताहरू मोदीलाई नेतृत्व सुम्पिन तयार थिएनन् । तर, मोदी थामिएनन् ।’

२०१४ को चुनावका लागि २०१३ जुनको दोस्रो साता गोवामा भाजपाको राष्ट्रिय कार्यकारिणी समितिको बैठक बसेको थियो । बैठकमा मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्ने चर्को लबिइङ झेल्न सक्ने स्थितिमा थिएनन्– तत्कालीन पार्टी अध्यक्ष राजनाथ सिंह । त्यतिबेलाको माहोल बुझेर आडवाणी स्वास्थ्यको कारण जनाउँदै बैठकमा सहभागी थिएनन् । उनले बैठक बहिष्कार गरेको चर्चा थियो । सबै परिस्थिति विश्लेषण गर्दै सिंहले मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार त घोषणा गरेनन् । तर, लोकसभा चुनावको प्रमुख प्रचारक बनाए । त्यहीँबाट मोदीको राष्ट्रिय राजनीति प्रारम्भ भयो ।

‘मोदी चुनौती २०२४’ पुस्तकका लेखक वरिष्ठ पत्रकार मर्चेन्ट मोदीको राष्ट्रिय राजनीतिमा प्रवेश त्यहीँबाट सुरु भएको बताउँछन् । प्रमुख प्रचारक बनेपछि मोदी प्रधानमन्त्रीका लागि औपचारिक रूपमै आडवाणीको प्रतिद्वन्द्वीका रूपमा उदाए । देश दौडाहा प्रारम्भ गरे । भाषणमा भ्रष्टाचार र वंशवादका नाममा कांग्रेसमाथि चर्को प्रहार थाले । भ्रष्टाचारको आरोप र आन्दोलनका कारण कमजोर भएको कांग्रेसलाई हराउन आडवाणीभन्दा मोदीको नेतृत्व बढी सार्थक हुने बहस सुरु भयो । मोदीलाई विकासशील, भ्रष्टाचारमा शून्य सहनशील र बलियो निर्णय क्षमता भएको व्यक्तिका रूपमा ‘प्रोजेक्ट’ गरियो । पार्टीलाई बहुमत दिलाउने क्षमता मोदीमा मात्रै रहेको उनका पक्षधरहरूले वातावरण बनाए । अर्कोतिर, मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाए पार्टी नै छाड्नेसम्मका धम्की आडवाणीले दिइरहेका थिए । प्रधानमन्त्री पदको लक्षित बाटोमा आडवाणीको त्यो धम्की मोदीका लागि चुनौती बन्दै थियो ।

आडवाणीले सन् १९९० मा गुजरातको सोमनाथबाट अयोध्यासम्मको रथ यात्रा गरेका थिए । राम मन्दिर निर्माणको राजनीति त्यहीँबाट तीव्र गतिमा अघि बढ्यो । अयोध्याको बाबरी मस्जिद भत्काइयो । यी सबै घटनाले हिन्दु मतदातालाई ध्रुवीकृत गर्दै र भाजपाको मत बढाउँदै थियो । सन् १९८४ मा दुई सिट मात्रै जितेको भाजपा १९९८ मा पहिलो पटक सरकार बनाउन सक्षम भयो । २ सिटको भाजपालाई १४ वर्षमा १ सय ८२ सिटमा पुर्‍याएर भाजपालाई पहिलो पटक सत्ताधारी बनाउने श्रेय वाजपेयी र आडवाणीको जोडीलाई जान्छ । वाजपेयी कट्टर हिन्दुत्वको धारणा बोक्दैनथे । आडवाणीले पार्टीलाई अगाडि ल्याउन हिन्दुत्वको नारालाई राष्ट्रिय राजनीतिमा बलियो ढंगले प्रवेश गराएका थिए । उनकै अनुयायीका रूपमा मोदीको उदय भएको थियो । आडवाणीको रथयात्रामा मोदी सक्रिय कार्यकर्ता थिए ।

२०१४ सम्म आइपुग्दा हिन्दु भोटलाई ध्रुवीकृत गर्न आडवाणीभन्दा मोदी बढी सफल हुने निष्कर्ष निकालियो । भाजपाको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को झुकाव मोदीतिरै भयो । प्रमुख प्रचारक भएको केही महिनापछि आरएसएसकै हस्तक्षेपमा मोदीलाई पार्टीले प्रधानमन्त्री पदको उम्मेदवार बनायो । आडवाणीको केही चलेन । वाजपेयीको असन्तुष्टिका बाबजुद आडवाणीले नै १२ वर्ष अगाडि मोदीको राजनीतिक यात्रा सुरक्षित गराएका थिए । तिनै आडवाणी मोदीकै कारणले नजिकै आइसकेको प्रधानमन्त्रीको कुर्सीबाट मात्रै टाढिएनन्, सक्रिय राजनीतिबाटै अलग हुन पुगे ।

मोदी मुख्यमन्त्री हुँदा गुजरातमा २००२ फेब्रुअरीमा ठूलो धार्मिक हिंसा भएको थियो । गोधरामा भएको दंगामा एक हजारभन्दा बढी व्यक्ति मारिएका थिए । मोदीमाथि देशभित्र र बाहिरबाट मुस्लिम समुदायलाई सुरक्षा नदिएको गम्भीर आरोप थियो । प्रधानमन्त्री थिए, वाजपेयी । विपक्षी पार्टी र अन्तर्राष्ट्रिय समुदायको दबाब मोदीको राजीनामातर्फ अघि बढेको थियो । सरकारका सहयोगी दलहरूले पनि उनको राजीनामा मागिसकेका थिए । वाजपेयी पनि त्यही निष्कर्षमा पुगेका थिए । तर, वाजपेयी सरकारका उपप्रधान तथा गृहमन्त्री आडवाणी मोदीले राजीनामा नदिनुपर्ने पक्षमा उभिए । सन् २००८ मा प्रकाशित आफ्नो आत्मवृत्तान्त ‘माई कन्ट्री माई लाइफ’ पुस्तकमा आडवाणीले यो घटनालाई उल्लेख गरेका छन् ।

मोदीले पनि पार्टीले चाहेमा आफू राजीनामा दिन तयार रहेको बताइसकेका थिए । तर, आडवाणी उनको पक्षमा उभिएका कारण मुख्यमन्त्री कायम रहे । गुजरातमा २००७ र २०१२ को विधानसभा चुनाव पनि भाजपाले जित्यो । मोदी लगातार १२ वर्षसम्म मुख्यमन्त्री रहे । पार्टीको २००२ अप्रिल र ११ वर्षको अन्तरालपछि २०१३ जुनमा गोवामै भएको अर्को बैठक पनि मोदीको पक्षमा भयो । पहिलो बैठकमा उनले राजनीतिक जीवनदान पाएका थिए । त्यतिबेला बलियो साथ पाएका आडवाणीलाई अहिले प्रतिष्ठित ‘भारत रत्न’ बाट सम्मानित गरेर मोदीले गुन तिर्दै छन् ।

गोवाको अर्को बैठकमा तत्कालीन पार्टी अध्यक्ष राजनाथ सिंहले उनलाई राष्ट्रिय राजनीतिमा आउने अवसर मात्रै दिएनन् । प्रधानमन्त्री बन्ने बाटो खोलिदिए । सिंहलाई आफ्नो पहिलो कार्यकालमा गृह र दोस्रो कार्यकालमा रक्षामन्त्रीको जिम्मेवारी दिएर मोदीले आफ्नो क्याबिनेटमा दोस्रो स्थानमा राखेका छन् । तर, सरकार वा पार्टीभित्र निर्णायक भूमिकामा भने सिंह कतै देखिँदैनन् ।

कांग्रेज कमजोर भएको लाभ र हिन्दु मतदातालाई ध्रुवीकृत गरेर २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेदेखि नै मोदी आफूभन्दा वरिष्ठ तथा समकालीन नेतालाई किनारा लगाउँदै पार्टीभित्र थप शक्तिशाली भएर आएका छन् । पुरानामध्ये बाँकी नेता पनि मोदीले चाहँदा मात्र पार्टीबाट टिकट पाउने स्थितिमा छन् । पार्टीका पूर्वअध्यक्ष नितिन गड्करीको अवस्था पनि त्यस्तै छ । मोदी क्याबिनेटमा सडक परिवहन र राजमार्गमन्त्री रहेका उनी कामबाट लोकप्रिय छन् । तर, यस पटकको चुनावमा उनले टिकट पाउने/नपाउने अनिश्चित बनेको थियो । पार्टीले उनलाई नागपुरबाट टिकट दिँदा त्यो ठूलो समाचारका रूपमा आयो ।

पार्टीभित्र वा मन्त्रिपरिषद्मा मोदीलाई चुनौती दिन सक्ने वा उनीसँग मतान्तर गर्न सक्ने कुनै पनि नेता छैनन् । सरकार होस् वा पार्टी उनले चाहेअनुसार चलाएका छन् । सत्ता एक व्यक्तिमा केन्द्रित देखिन्छ । पार्टीका हरेक तहका नेता र कार्यकर्ताले उनको महिमा मात्रै गाउँछन् । मोदी सक्रिय राजनीतिमा रहेसम्म पार्टीभित्र उनको विकल्पमा कोही नहुने वातावरण तयार गरिएको छ ।

लेखक तथा पत्रकार मर्चेन्टले मोदी देशका सबै नेताभन्दा अलग रहेको बताए । ‘अरू नेताहरूले परिवारलाई प्राथमिकता दिँदा मोदीका भाइहरू कता के गर्दै छन्, त्यो कसैलाई थाहा हुँदैन, उनी १८/१८ घण्टा खट्छन् । अहिले चुनावी प्रचारको दौरान पनि दिनमा ५/५ वटा र्‍याली/सभालाई सम्बोधन गर्दै हिँडेका छन्,’ उनले भने, ‘आफ्नो कामले गर्दा नै मोदीले उचाइ हासिल गरेका छन् ।’ पार्टीले जित्दै गएको खण्डमा २०२४ मात्रै होइन, २०३४ सम्म उनको विकल्प कोही पनि नहुने मर्चेन्टको विश्लेषण छ । ‘पार्टीभित्र मोदीको विकल्पमा अमित शाह र योगी आदित्यनाथ उदाइरहेका छन् । अहिले ७३ वर्षका मोदी १० वर्ष पछाडि ८३ पुग्नेछन् । त्यतिबेला मात्रै विश्राम लिने सम्भावना देखिन्छ । शाह वा योगीको पालो त्यसपछि मात्रै आउन सक्छ,’ उनले भने ।

मिडियामा मोदीको कामलाई लिएर आलोचनात्मक प्रश्न अपवाद मात्रै उठ्छ । अधिकांश मिडियाले मोदीको गुणगान नै गर्छन् । सिंगो पार्टी पंक्ति र मिडियाको पनि पूरा साथले उनको व्यक्तित्व विशाल रूपमा प्रस्तुत गरिएको छ । गाउँस्तरको विकास कार्यमा पनि प्रधानमन्त्री मोदीको फोटो लगाइन्छ । गाउँदेखि महानगरसम्मका होर्डिङ बोर्डहरूमा मोदीलाई विकास पुरुष र भ्रष्टाचारविरोधी नेताको रूपमा देखाइँदै आएको छ । पत्रकार मर्चेन्ट त्यसलाई भाजपाको ‘मार्केटिङ टेक्निक’ भन्छन् । चुनाव जित्नलाई मोदीको छविलाई प्रोजेक्ट गरिएको उनी बताउँछन् ।

मोदीले गरेको काम र त्यसको गरिएको मार्केटिङले मोदीको लोकप्रियता बढाउन मद्दत गरेको छ । दुई कार्यकाल सरकार चलाइसकेका मोदी अझै जनतामाझ अन्य सबै नेताहरूभन्दा बढी लोकप्रिय रहेको सर्भेहरूले देखाउँदै आएको छ । मोदीको लोकप्रियताको लाभ तेस्रो पटक उठाउन उनी र उनको पार्टी लागिपरेको मर्चेन्टले बताए । ‘गत वर्षको अन्त्यमा राजस्थान, मध्यप्रदेश र छत्तिसगढ चुनाव जित्नुलाई पनि उदाहरण मान्न सकिन्छ, सर्भेहरूले देखाएविपरीत तीन वटै प्रदेशमा भाजपाले विजय हासिल गर्‍यो,’ उनले भने । मोदीले भनेजस्तो यस पटक चुनावमा भाजपा एक्लैको ३ सय ७० र एनडीए गठबन्धनको ४ सय पारको लक्ष्य भने अत्यन्तै कठिन रहेको मर्चेन्टको भनाइ छ ।

प्रकाशित : वैशाख १८, २०८१ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?