डढेलोले सल्यानको त्रिवेणी र शारदामा ११ घरगोठ जले, अदुवा र बेसार बालीमा क्षति
सल्यान — वनमा लागेको डढेलोले त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा ११ घर गोठ जलेर नष्ट भएका छन् । एक महिला घाइते भएकी छन् । डढेलोले किसानका बारीमा लगाएका अदुवा र बेसारमा समेत क्षति पुर्याएको छ ।
त्रिवेणी गाउँपालिका-२ चोरखोलामा बिहीबार बिहानदेखि लागेको डढेलोले लालबहादुर थापाको दुई तले घर, पदम थापाको तीन गाईगोठ, गेदलाल थापाको एक गोठ, यामबहादुर बुढाथोकीको घरगोठ, कारागिठीकी पुतली खड्काको घर, रामबहादुर बिकको गोठ , अरिंगालेपेदीका तिली थापाको घरगोठ र शारदा नगरपालिकाको रानीकोटमा , खैराबाङ्ग र श्रीनगर नजिकै घर जलेर नष्ट भएका हुन् ।
वनमा लागेको डढेलोले गोठ जलेपछि गोठमा रहेका गाईबाख्रा फुकाउँदा आगोको लप्कोले अरिंगालेफेदीकी तिली थापा घाईते भएकी छन् । अहिले उपचारपछि घर फर्केकी जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रनाउ नविन कार्कीले बताए ।
डढेलोका कारण घर गोठ जलेर नष्ट हुँदा चोरखोलाका लालबहादुर थापाको ३, पदम थापाको १ लाख, गेदलाल थापाको ७०, यामबहादुर बुढाथोकीको ७० हजार र कारागिठीकी पुतली खड्का, रामबहादुर बिक, तिली थापाको २ लाख गरी ८ लाख बराबरको क्षति भएको प्रहरी प्रमुख तथा प्रनाउ नविन कार्कीले जानकारी गराए । उनका अनुसार त्रिवेणी गाउँपालिका २ चोरखोलामा आदर्श सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पर्दा घरगोठ जलेर नष्ट भएका थिए ।
जिल्लाको शारदा नगरपालिका ११ को जंगलमा लागेको डढेलो फैलिदै जाँदा आदर्श सामुदायिक वनमा लागेको र त्यसले बस्तीका घरगोठ मात्र नभई झन्डै १५ जना किसानले प्रतिव्यक्ति एक रोपनी जग्गामा लगाएको अदुवा र बेसार बालीमा समेत क्षती पुगेको त्रिवेणी गाउँपालिका- २ का वडाअध्यक्ष हस्तबहादुर रामजाले बताए । लगातार दुई दिनदेखि लागोे डढेलो सुरक्षाकर्मी, स्थानीयको सहयोगमा बिहिवार बेलुकी नियन्त्रणमा लिएपनि शुक्रबार बिहानदेखि पुन लागेको उनले जानकारी गराए । हावा चलिरहेकाले डढेलो नियन्त्रणमा लिन नसकिएको र अन्य केही घर पनि जोखिममा रहेको उनको भनाई छ ।
प्रकाशित : वैशाख १४, २०८१ १३:२६