खोटाङमा जिल्लाकै पहिलो ई-लाईब्रेरी 

कान्तिपुर संवाददाता

काठमाडौँ — खोटाङको बास्पानी-५ दन्खुरी डाँडास्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्युतीय पुस्तकालय -ई-लाईब्रेरी) सञ्चालनमा आएको छ । 

पुस्तकालयमा १ देखि १० कक्षासम्म पठनपाठन हुने सम्पूर्ण सामाग्री समावेश गरिएको छ। जिल्लामै पहिलोपटक स्थापित पुस्तकालयमा राखिएका विभिन्न ८ कम्प्यूटरका सफ्टवेयरमार्फत् विद्यार्थीहरुले आफूलाई आवश्यक पर्ने पाठ्यक्रम तथा सन्दर्भ सामाग्री अध्ययन गर्न सक्छन्।

Citizen

बास्पानी मुलबासी २५ जनाको सहयोगमा रोजिहिरा फाउन्डेसनको समन्वयमा पुस्तकालयको स्थापना गरेको हो। फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधान राईले पाठ्यक्रम परिमार्जन भएसँगै कम्पुयटरमा राखिएका सफ्टवेरमा हुने पाठ्यसामाग्री अद्यावधिक गर्ने व्यवस्था समेत मिलाइएको बताइन्।

राईले 'कर्मभूमि बेलायत भएपनि आफू जन्मिएको देशको शिक्षामा सहयोग गर्न पाउँदा खुशी लागेको' बताइन्। उनले भनिन्, 'नेपालका बालबालिकाको अध्ययनका लागि सक्दो सहयोग गर्न म सधै तयार छु।'

नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव धनकुमार श्रेष्ठले स्थापित पुस्तकालयको प्रयोगले विद्यार्थीले शैक्षिक क्षमता अभिवृद्धि गर्न सक्ने जनाए।

पुस्तकालय उद्घाटन समारोहमा फाउन्डेसनकी अध्यक्ष राईले गाउँपालिकाको स्वास्थ्य चौकीमा व्यक्तिगत खर्चमा भिडियो एक्सरे मेसिन जडान गर्ने समेत प्रतिबद्धता जनाइन्। हाल गाउँपालिकामा एउटा पनि भिडियो एक्सरे मेसिन छैन्।

त्यसका साथै राईले विद्यालयमा हरेक वर्ष उत्कृष्ठ हुने एक विद्यार्थीको अध्ययन खर्च समेत आफूले व्यहोर्ने घोषणा गरिन्। रोजहिरा फाउन्डेसनले यसअघि राष्ट्रिय माध्यामिक विद्यालयको १७ कोठे भवन निर्माणका लागि १ करोड १२ लाख रुपैयाँ सहयोग गरेको थियो। फाउन्डेसनका पूर्व अध्यक्ष हिराधन राईका अनुसार उक्त रकम फकल्याण्ड युद्ध लडेका अंग्रेजहरुबाट जुटाइएको हो। विद्यालयका निर्माण गरिएको ७ रोपनी जग्गा मणिप्रसाद राईले निःशुल्क प्रदान गरेका हुन्। त्यसबापत् विद्यालयले आफ्नै परिसरमा राईको प्रतिमा निर्माण गरेको छ।

प्रकाशित : चैत्र २५, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दुई देशका कविले सुनाए कविता

अर्जुन राजवंशी

दमक — नेपाल र भारतका दुई दर्जनबढी कविहरुले शनिबार दमकमा आ-आफ्ना कविता सुनाए । नेपाली साहित्यको विगत र वर्तमान अवस्थाको चिन्ता र चासोका कवितामार्फत् कविहरुले आफैलाई थप पुरस्कृत हुनुपर्ने आवाज उठाए । 

झापाको दमकमा शनिबार नेपाल र भारतका कविहरुबीच भएको कृति विमर्श तथा कविता वाचन कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै प्रा.डा.गोविन्द भट्टराई । तस्बिर ः : अर्जुन/कान्तिपुर 

मुसरधारे वर्षाकाबीच बिहान ८ बजे सुरु भएको कविता वाचन कार्यक्रममा भारतबाट आएका कविहरु मुख्य अतिथि थिए । कार्यक्रम प्रतिभा निकेतन र विद्याशिल्पा एकेडेमी दमकको साहित्य विभागले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रममा भारत सिलिगुडीबाट कवि मुक्ति उपाध्याय बराल र सिक्किमबाट कवि अमर बानियाँ 'लोहोरो' आएका थिए । प्रा.डा.गोविन्द भट्टराईको संयोजनमा भएको कार्यक्रममा भारतीय कविद्वय उपाध्याय र बानियाँको कृतिमाथि विमर्श पनि गरिएको थियो ।

नेपाली भाषा, साहित्यमा निरन्तर कलम चलाइरहेका कवि उपाध्यायको निबन्ध संग्रह 'यस्तै उस्तै मनका विचार' माथि चर्चा गरिएको थियो । संग्रहमाथि डा.बेन्जना शर्माले टिप्पणी गरेकी थिइन् । कवि उपाध्यायले निबन्धमा आफ्ना जीवनकालका महत्वपूर्ण भोगाईहरु भावी पुस्तालाई प्रेरणा हुने किसिमले प्रस्तुत गरेको टिप्पणीकार शर्माले बताइन् । कवि बानियाँको कविता संग्रह 'भाँचिएको चस्मा' माथि समेत विमर्श गरिएको थियो । दमकका कवि शिव प्रणतले टिप्पणी गर्दै नेपाली साहित्यजगतमा एउटा स्तरीय कृति समावेश भएको बताए । उनले कृतिमा गरिएको भाषा चयन र प्रस्तुतिले नेपाली पाठकहरुलाई थप बौद्धिक बनाउने दाबी गरे ।

कवि उपाध्याय र बानियाँले भारतमा बसेपनि नेपाली भाषा, साहित्यका लागि गरिएका प्रयासहरुबारे जानकारी पस्किए । उनीहरुले आआफ्ना उत्कृष्ट रचनाहरु समेत प्रस्तुत गरे । उनीहरुले नेपाल-भारत सीमानालाई छिचोलेर दुवै देशका कविहरु सँगै भेला भएर आपसमा रचना सुन्ने र सुनाउन पाउँदा खुसी लागेको अनुभूति सुनाए ।

कार्यक्रममा नेपालतर्फका कविहरु प्रा.डा. गोविन्द भट्टराई, मोहन भण्डारी, गोपाल भण्डारी, झाक्री खोले, वरिष्ठ गायक एलपी जोशी, लोकगायक लक्ष्मीप्रसाद खनाल, कविहरु विन्दु मुखदर्शक, जयप्रसाद भट्टराई, बाबुराम पोखरेल, खगेन्द्र भट्टराई, बिष्णु न्यौपाने, टंक पाठक, कुमार खड्का, हरिप्रसाद न्यौपाने, सुजन अधिकारीलगायतले आफ्ना रचना सुनाएका थिए ।

प्रकाशित : चैत्र २५, २०७५ १७:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT