कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारबाहीको डरले हवल्दारले गरे आत्महत्या

‘म पनि विप्लव हुँ’ भन्दै फायरीङ गर्दै कार्यालयबाट अघिल्लो राति निस्केका प्रहरी हवल्दार कठायतले भोलिपल्ट बिहान कार्यालय परिसरमै आत्महत्या गरे । 
भीमबहादुर सिंह

जाजरकोट — गत आइतबार इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी हवल्दार भोजबहादुर कठायतले आफैलाई कन्चटमा गोली हानेर आत्महत्या गरे । हवल्दार कठायतले कार्यालय परिसर पछाडि बिहान ७ बजे आफैले बोकेको पेस्तोलले कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । स्वामीकार्तिक गाउँपालिका–४ बाजुरा घर भई पछिल्ला दुई–तीन महिनादेखि दल्लीमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दर कठायत सिभील घुमुवाको काम गर्दै आएका थिए । 

मृतक कठायत कार्यालयको नियमित कामको बहाना पारी गत शनिबार दिनभर कार्यालय बाहिर रहेका थिए । त्यसदिन बेलुकी ८ बजेसम्म उनी कार्यालयमा नफर्केपछि प्रहरी कर्मचारीले खोजी गर्ने क्रममा उनलाई नलगाड नगरपालिका–२ छेप्काबजारमा मदिराले लठ्ठ अवस्थामा फेला पारी कार्यालयमा लिएर गएका थिए । उनलाई प्रहरी चौकी इन्चार्ज प्रहरी नायव निरीक्षक टेकबहादुर देउवाले ‘किन जथाभावी घुमेको, रातिसम्म पनि कार्यालमा नआउने, यो क्षेत्रमा विप्लव समूहको बिगबिगी छ, ख्याल गर्नुपर्‍यो नि’ भनेर सम्झाएका थिए । तर मदिराले मात्तिएका कठायतले उल्टै इन्चार्ज लगायत प्रहरीलाई गाली गलौज गरेर ‘म पनि विप्लव हुँ’ भन्दै आफूले बोकेको पेस्तोलद्वारा चौकी परिसरमै दुईपटक हवाई फायरिङ गरेर कार्यालय छाडेर रातभर हराएका थिए । त्यसपछि कठायतलाई प्रहरीले रातभर खोज्दा पनि फेला पार्न सकेन ।

हवल्दार कठायतले ‘म पनि विप्लव हुँ, मलाई विप्लव समूहले केही गर्दैन, बरु तिमीहरुलाई डर छ’ भनी धम्क्याई फायइरिङ गर्दै कार्यालयबाट बाहिर निस्केर रातभर बेपत्ता भएको एक प्रहरीले बताए । भोलिपल्ट बिहान दल्ली प्रहरी उनलाई खोजी गर्ने तयारीमा कार्यालयबाट निस्कनै लागेको बेलामा हवाल्दर कठायत कार्यालयमा टुप्लुक्क आइपुगे । उनी कसैसँग बोलेनन् । ड्युटीमा रहेका प्रहरी जवानले इन्जार्च देउवालाई कठायत कार्यालयमा आएको जानकारी गराउनसम्म पाएका के थिए, कठायतले चौकीमा प्रवेश गरेको ५ मिनेट बित्न नपाउँदै कार्यालय पछाडिको खाली ठाउँमा गएर आत्महत्या गरे ।

गोली पड्किएकाे आवाज सुनेर प्रहरी, स्थानीय लगायत आत्तिए । २ मिनेटमै प्रहरी हवल्दार कठायतले आफैलाई गोली हानी आत्महत्या गरेको भन्ने खबर आयो । पेस्तोल पड्केको आवाज आउने बित्तिकै तत्काल प्रहरी घटनास्थल पुग्यो तर कठायको मृत्यु भइसकेको थियो ।

यसरी हवाल्दर कठायतले अघिल्लो राति ‘विप्लव हुँ’ भन्दै फायरिङ गरेको विषयमा आफूलाई कारबाही होला कि भन्ने डरले आत्महत्या गरेको प्रहरी निरीक्षक महेशकुमार आचार्य बताउँछन् । कठायतले आफैलाई गोली हानेर आत्महत्या गर्नुपर्ने अन्य कुनै कारण नभएको निरीक्षक आचार्यले बताए । अघिल्लो दिन राति ९ बजेतिर बन्दुक पड्केको आवाज आएको र भोलिपल्ट बिहान ७ बजे कार्यालयको पछाडि कठायतले पेस्तोलले आफैलाई हानेर लडेको देखेको स्थानीय ध्रुव सिंहले बताए ।

प्रहरी कार्यालयबाट हराएको भनेर राति खोजेको पनि आफूले थाहा पाएको सिंहले बताए । मृतक कठायत पत्नी निशा खत्री कठायतले आत्महत्या नभएको भन्दै प्रहरी प्रशासनलाई छानबिनका लागि अनुरोध गरेपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले उक्त घटनाको अनुसन्धान गर्न प्रहरी उपरीक्षक सञ्जीव शर्मा दास नेतृत्वमा ३ सदस्यीय छानबीन टोली गठन भएको थियो । टोलीले दल्लीमा पुगेर घटनाको अनुसन्धान पनि गरेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए ।

घटना पछि मृतक कठायतको शव ४ दिनसम्म जाजरकोट अस्पतालमा राखेर पोस्मार्टमका लागि नेपालगन्ज पठाइएको प्रमुख नायव उपरिक्षक श्रेष्ठले बताए । जाजरकोट अस्पतालमा हतियार प्रयोग गरी आत्महत्या भएको हुँदा पोस्टमार्टमका लागि उपकरण र विशेषज्ञ उपलब्ध नभएको भन्दै नेपालगञ्ज लानु परेको उनले बताए । कठायतको शव गत बिहीबार भेरी अञ्चल अस्पतालमा पोस्टमार्टम गरेर सदगदका आफन्तलाई बुझाइएको श्रेष्ठले बताए ।

प्रकाशित : माघ ३, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?