कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याडमिन्टनको काठमाडौं टिम च्याम्पियनसिप जेठमा हुने

काठमाडौँ — काठमाडौं ब्याडमिन्टन एकेडेमीले कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको रुपमा ‘काठमाडौं टिम च्याम्पियनसिप’ आगामी जेठमा सञ्चालन गर्ने भएको छ । कुल आठ लाख रुपैयाँ पुरस्कारको प्रतियोगिता जेठ २० देखि २२ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्‌को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।

ब्याडमिन्टनको काठमाडौं टिम च्याम्पियनसिप जेठमा हुने

‘आमन्त्रण गरिएका १६ वटा कर्पोरेट हाउसका टिमले प्रतियोगिता खेल्नेछन्, जसलाई ४–४ टिमको समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइनेछ,’ गत पुसमा स्थापित एकेडेमीकी अध्यक्ष रीता विष्ट अधिकारीले भनिन् । नेपाल ब्याडमिन्टन संघको स्वीकृति पाइसकेको प्रतियोगिता आयोजनाका लागि करिब ४९ लाख ४६ हजार रुपैयाँ खर्च हुने पनि उनले बताइन् । प्रतियोगितामा विभिन्न ५ स्पर्धा समावेश गरिएको छ ।

एक टिममा ६ देखि ८ जना हुनेछन् । त्यसमा नेपालको वरीयताका शीर्ष १६ पुरुष र महिलामध्ये एक–एक खेलाडी हुनुपर्ने छ । अरु खेलाडी कर्पोरेट हाउसमै कार्यरतले खेल्नेछन् । वुमेन्स सिंगल्स र मेन्स सिंगल्समा वरीयतामा रहेका खेलाडी हुनेछन् । सहभागी टिम र खेलाडीको घोषणा प्रतियोगिताको दुई साता अगाडि गर्ने बताइएको छ । कुल आठ लाख रुपैयाँ पुरस्कार वरीयता प्राप्त खेलाडीको लागि छुट्याइएको छ । सहभागी भएबापत नै उनीहरूले २० हजार पाउनेछन् । पुरुष र महिला खेलाडीले समान विजेताले ५० हजार, उपविजेताले ३५ हजार र सेमिफाइनल पुग्नेले ३०–३० हजार पाउने छन् । टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइने अध्यक्ष विष्टले बताइन् ।

प्रतियोगिता घोषणा गर्दै बिहीबार एकेडेमीले मुख्य प्रायोजनमा कुमारी बैंक लिमिटेडसँग सम्झौता गरेको छ । पाँच वर्षे सम्झौता–पत्रमा अध्यक्ष विष्ट र कुमारी बैंकका उपप्रमुख कार्यकारी अधिकृत मनीष तिमिल्सिनाले हस्ताक्षर गरे । ‘सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदलाई सहयोग गर्ने योजनाअनुसार काठमाडौं ब्याडमिन्टन एकेडेमीलाई साथ दिन हामीले यसपालीको प्रतियोगितालाई १५ लाख दिने निर्णय गरेका छौं । उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको एकेडेमीलाई आत्मनिर्भर बनाउने हाम्रो प्रयास हो । यसलाई हामी निरन्तरता दिनेछौं ।’

एकेडेमीका सचिव दीपक थापाले भने, ‘नेपाली ब्याडमिन्टनको प्रवर्द्धन र विकास गर्दै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाको रुपमा काठमाडौं ब्याडमिन्टन एकेडेमी स्थापना गरिएको हो । कुमारी बैंकसँग सहकार्य गर्न पाएकोमा एकदमै खुसी छौं । कर्पोरेट हाउसहरूकै साथ र सहयोगले नेपाली ब्याडमिन्टन व्यावसायिक बन्नसक्छ । त्यसैको एउटा खुट्किलोको रुपमा कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिपलाई लिएका छौं ।’

प्रकाशित : चैत्र १९, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?