कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोराशको सम्झना

ढुण्डिराज पहाडी

काठमाडौँ — वि. सं. १९९४ मा पं. रुद्रप्रसाद र तारादेवी शर्माको कोखबाट काठमाडौंको धर्मस्थलीमा जन्मिनुभएको हो–साहित्यकार मोहनराज शर्मा । आज उहाँले देह त्याग गरेको ४५ दिन भयो तर गुरुको सम्झना भुल्नै सकिन्न । आफ्ना पितासँग बाल्यकालमै बनारस पुगी शिक्षादीक्षा ग्रहण गर्दै हुर्कंदै इतिहास विषयमा बनारस हिन्दु विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गर्नुभयो ।

मोराशको सम्झना

नेपाली भाषा, साहित्य र समालोचनामा विशिष्ट उचाइ प्राप्त गर्नुभयो । मदन पुरस्कारद्वारा सम्मानित हुनुभयो ।


२०२२ सालमा नेपालीमा स्नातकोत्तर गरी त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित नेपाली केन्द्रीय विभागमा उच्च तहका विद्यार्थीहरूलाई आफ्नो तार्किक र विद्वत्तापूर्ण वाणीले मोहित पार्न थाल्नुभयो । नेपाली निबन्धमा हास्यरसले पाठकहरूलाई मोहित पार्दै कथा, उपन्यास र नाटकमा समेत उहाँले मोहनीय रचना सिर्जेर नेपाली साहित्यको भण्डार भर्नुभएको छ । जीवनभर सिर्जना र कर्ममा लागिरहनुभयो ।


२०७५ माघ १० गते प्राध्यापक मोहनराज शर्माले हामीलाई छाडेर सदाका लागि जानुभयो । अब हामीसँग उहाँका अजम्मरी सम्झना मात्र बाँकी छन् । उहाँको अवसान भएको दिन म मेरी आमाको काजकिरियामा कोराभित्र थिएँ । आमा बित्दाको पीडामा पनि मेरा मनमा उहाँप्रति उर्लेका श्रद्धाका भावना सल्बलाइरहे ।


स्नातकोत्तर तहका कक्षामा उहाँले प्रकट गर्नुभएका ओजपूर्ण वाक्यहरूलाई हामी आप्त वाक्य ठान्थ्यौं । थोरैमा धेरै भाव व्यक्त गर्ने सारपूर्ण शिक्षण कौशल र हास्यरसले भरिएका वाक्संयमयुक्त व्यङ्ग्यले विद्यार्थीबीच उहाँ लोकप्रिय हुनुहुन्थ्यो । कक्षामा पूर्ण तयारीसाथ प्रवेश गर्ने प्रा. शर्माको कक्षा चलिरहँदा कसैले हल्ला गर्ने हिम्मत गर्दैनथ्यो । शान्त, सौम्य र ऋषितुल्य मोहनराज सरको विद्यार्थी हुन पाउनु पनि गर्वकै विषय हुन्थ्यो ।


२०६१ सालमा उहाँसँग सह–लेखक हुने अवसर पाएँ । ‘नेपाली व्याकरण प्रयोग र अभ्यास’मा म उहाँसँग जोडिन पुगेँ । पुस्तकको खेस्रा लेखन र सम्पादनका सिलसिलामा मैले उहाँको घरमा धेरै दिनसम्म सँगै बसेर काम गर्ने मौका पाएँ । सरल र आदर्श गृहिणी गुरुआमा उमा शर्माको सेवा र सहयोग पाइरहनुभएका मोहनराज सरलाई भित्रभित्रै पुत्रहरूको वियोगको पीडाले डसिरहेको भए पनि बाहिर उहाँ ठट्टैठट्टामा अरूलाई हँसाइरहने गर्नुहुन्थ्यो ।


पुस्तक लेखनले थाकेको समयमा गुरु आफ्नो बनारस बसाइका रमाइला अनुभव सुनाउनुहुन्थ्यो । भारतीय स्वच्छन्दतावादी कविहरू प्रसाद, पन्त र निरालापछिका प्रसिद्ध कवि शान्तिप्रिय द्विवेदीलाई आफू बालक छँदा भेटेको र लेख्ने प्रेरणासमेत पाएको प्रसङ्ग सुनाउनुहुन्थ्यो । व्याकरणसम्बन्धी जस्तासुकै जिज्ञासा लिएर गए पनि उहाँ समस्याका गाँठा फुकाइदिनुहुन्थ्यो । व्याकरण लेख्ता पनि अक्षर–अक्षर, शब्द–शब्द निफनेर परिष्कृत बनाउनुहुन्थ्यो । उहाँसँगको सह–लेखन, सान्निध्य र प्रेरणाबाट मैले आठ–दसवटा विद्यालय तहका व्याकरण तयार पारी प्रकाशित गरेँ ।


वैयाकरण मोहनराज सरको योगदान उल्लेखनीय छ । उहाँको ‘शब्दरचना र वर्णविन्यास’ (२०३६) विशिष्ट कृति मानिन्छ । मोहन सर विद्या व्यसनी र बहुमुखी हुनुहुन्थ्यो । साहित्यका प्रायः सबै विधामा कलम चलाई दर्जनौं कृति रचेर नेपाली साहित्यलाई सम्पन्न बनाउनुभएको छ । उहाँले कथा र उपन्यासजस्ता आख्यान विधामा स्वैरकाल्पनिक यथार्थजस्तो नवीन प्रयोग भित्र्याउनुभयो ।


‘वैकुण्ठ एक्सप्रेस’ नाटकमा उहाँले २०४२ सालको मदन पुरस्कार प्राप्त गर्नुभयो । निबन्धमा उहाँ हास्य रसको प्रयोग गर्न प्रवीण हुनुहुन्थ्यो । ‘मिस्टर झप्पुसिंह डबल एम.ए.’ (२०४०) र ‘पुछारको पातो’ (२०४१) जस्ता निबन्ध सङ्ग्रहले उहाँलाई व्यङ्ग्य निबन्धकारका रूपमा प्रतिष्ठित बनाएका छन् । उहाँ भाषाशास्त्रीका रूपमा पनि सुपरिचित हुनुहुन्थ्यो ।


समालोचना क्षेत्रमा शैलीविज्ञानको प्रतिष्ठापन गर्ने विशिष्ट र अग्रणी व्यक्तित्वका रूपमा समेत मोहनराज शर्मा चिरस्मरणीय हुनुहुन्छ । नेपाली समालोचनालाई वस्तुवादी र भाषावादी धारबाट बढाउने पद्धतिको विकासमा उहाँको मौलिक योगदान छ । उहाँको ‘शैलीविज्ञान’ (२०४८) कृतिले साहित्यलाई भाषिक कलाका रूपमा मूल्याङ्कन गर्ने परिपाटीको ढोका खोलेको छ ।


नेपाली साहित्यमा नवीन सौन्दर्य चिन्तनलाई प्रवेश गराउने प्रखर समालोचक शर्माले साहित्यिक सामग्रीलाई कालक्रमिक र ऐतिहासिक दृष्टिले समीक्षा गर्ने वस्तुवादी दृष्टिकोण स्थापित गर्नुभएको छ । यसको साक्ष्यका रूपमा डा. दयाराम श्रेष्ठसँगको सहलेखनमा प्रकाशित ‘नेपाली साहित्यको सङ्क्षिप्त इतिहास’ (२०३४) लाई लिन सकिन्छ ।


प्राध्यापक शर्मा राजनीतिक रङमा कहिल्यै मुछिनुभएन । उहाँ कसैको निन्दा नगर्ने, कहिल्यै कसैको चाकडी नगर्ने र आफ्नै बलबुतामा उभिने अनुकरणीय साहित्यकार हुनुहुन्थ्यो । नेपाली भाषा साहित्यको बगैँचामा मोहनराज शर्माले रोपेका दर्जनौँ सिर्जनात्मक बिरुवाले अनुपम महक फिँजाइरहनेछन् ।


लेखक पाटन बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?