कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूगोलको भर

काठमाडौँ — केही वर्षअघि यलमाया केन्द्रमा नेपालमा महिला आन्दोलन सम्बन्धी झन्डै बीस वर्षको अनुभव र विश्लेषण सुन्न पुगियो  । करिब एक घन्टाको श्रवणपछि मेरो प्रश्न थियो, नेपालको महिला आन्दोलनले भूगोलको आयामलाई कसरी बुझेको छ ? सोचे विपरीत कार्यक्रम प्रस्तोताले उक्त प्रश्न नकार्नुका साथै उल्टै मलाई अन्य आरोप लगाए  ।

भूगोलको भर

खैर उक्त आरोपतिर नगई भूगोलको आयामलाई नेपालको महिला आन्दोलन तथा महिला आदिवासी जनजाति आन्दोलनले नकारेकोबारे चर्चा गरौं । भूगोलको महत्त्व किन छ र हरेक आन्दोलन र विशेषगरी महिला जनजाति आन्दोलनले उक्त आयामलाई आत्मसात गर्नुपर्छ भनेर केलाइएको छ ।


लन्डन विश्वविद्यालयका प्रोफेसर डेभिड मार्शल स्मिथले आफ्नो पुस्तक ‘जियोग्राफी र सोसल जस्टिस (१९९४)’ मा भूगोल र सामाजिक न्यायको सम्बन्धलाई महत्त्वपूर्ण रहेको स्वीकारेका छन् । मानव भूगोलको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक पक्षलाई छुट्याउन नमिल्ने उनको तर्क छ । स्मिथका अनुसार सामाजिक न्याय र अन्यायको सवाल र हरेक व्यक्तिको स्वास्थ्य, शिक्षा र जीवनको आयु ऊ जन्मेको ठाउँ, देश, प्रदेश र सहरसँग जोडिएको हुन्छ । हरेक देश र ‘स्पेस’हरूमा विभिन्न कालखण्डदेखि विभेदपूर्ण स्रोत र साधनको वितरण र पहुँचले विभिन्न वर्ग, लिंग, जातजाति र धर्मका व्यक्ति तथा समाजहरूको अनुभव र संघर्ष भिन्न–भिन्न हुने उनको तर्क छ । सामाजिक तथा नैतिक सिद्धान्त शास्त्रमा समेत मानव भूगोलको पक्षलाई नकार्न नमिल्नेमा जोड दिन्छन् उनी ।


लेखक तारिख जजिल र प्रोफेसर स्टेफन लेग ‘सबअर्ल्टन जियोग्राफिस (२०१९)’ अनुसार भूगोलको ‘स्प्यासियल रजिस्टर्स’, ‘मोडालिटिज’, ‘लोकेसन्स’, ‘टर्याजक्टरिज’ र ‘इम्याजिनरी ज्योग्राफिज’ (जुन उपनिवेशीकरण र उपनिवेशीकरणको संस्कृति र सञ्जालको प्रमुख माध्यम थियो) बिना रनजित गुहाले सुरु गरेको सबअर्ल्टनको सही इतिहास र संघर्षको प्रतिनिधित्व सम्बन्धी प्रश्नहरू अधुरै हुन्छन् । किनभने यिनै स्पेसहरूमा विभिन्न सिमाना र किनाराकृत सामाजिक सम्बन्ध र राजनीतिक तथा बौद्धिक अन्तरक्रियाहरू ठोक्किन्छन् र परिस्कृत हुँदै जान्छन् । र त्यसै अनुसार समाज परिवर्तन र न्याय–अन्यायका विश्लेषणहरूमा ज्ञान निर्माणका आयामहरू थपिँदै जान्छ । अहिलेको सामाजिक तथा राजनीतिक परिवर्तनमा आएर नेपालमा निर्माण भएका विभिन्न स्पेसहरू जोसेफ कर्न्याडले भनेको जस्तैमात्रै हो कि अफ्रिकी लेखक चिनुवा अचेबेले उद्घोष गरेको धनी बुर्जुवाको स्पेस वा अरु नै हो, पहिल्याउन आवश्यक छ ।


नेपालमा भूगोलका आयाम बुझ्न मुलुकका पूर्व–पश्चिम र उत्तर–दक्षिणका भूभागमा छरिएर रहेका विभिन्न समुदाय र तिनीहरूको भूगोलसँगको सामाजिक, धार्मिक, आर्थिक, लैंगिक तथा राजनीतिक सम्बन्धबारे उजागर गर्नुपर्छ । उदाहरणका लागि मारियता काइण्डले आफ्नो विद्यावारिधिको विषयलाई निरन्तरता दिँदै ‘बोन ल्यान्डस्केप अफ डोल्पो (२०१४)’ मा डोल्पो समुदायका बोन धर्मावलम्बीहरूको विभिन्न तीर्थ, गुम्बा तथा लामाहरूको जीवनीमा समेत भूगोलको महत्त्व रहेको चर्चा गरेका छन् । किताबको अध्ययन विधि अर्काइभल तथा पुरुषले लेखेको इतिहासमा सीमित भएकाले डोल्पो महिलाहरूको अनुभव खासै समेटिइएको छैन । डोल्पो समुदायमा विभिन्न गाउँमा छरिएर रहेका पुरुष, महिला र केही क्वेयर (ट्रान्स जेन्डर) र उनीहरूको सम्बन्ध, अन्तरक्रिया र असमानताको विश्लेषण भूगोलको दृष्टिकोणबाट गर्नै नसकिने होइन ।


सन् १६७५ मा जन्मेकी सुरुमा खिलोङ भनेर चिनिएर पछि आनी छोइकी भएकी आनी आफैंले डोल्पो भाषामा लेखेको जीवनीमा पनि भूगोलले असर पारेका संघर्ष र कविता पढ्न सकिन्छ । सन् २००४ मा आनीको जीवनीलाई अंग्रेजीमा भर्जिनियाँ विश्वविद्यालयका प्रोफेसर कर्टिस स्याफरले ‘हिमालयन हर्मिटेस’ भनेर प्रकाशनमा ल्याइसकेका छन् । लैंगिक तथा भौतिकवादी दृष्टिकोणबाट हेर्दा अहिलेको नेपालको राजनीतिक सिमानाभित्र पर्नु अघिको केही मात्रामा पित्तृसत्तात्मक डोल्पो समाज र त्यसमा भूगोलले पारेको असरबारे आनीको जीवनीले चित्रित गर्छ । यस्ता जीवनी र संघर्ष नेपालका अरु किनाराकृत समुदायहरूमा पनि भेटाउन किन सकिँंदैन र ?


नेपालमा भएका हरेक राजनीतिक परिवर्तनहरूमा भूगोलको आयामलाई बिर्सन मिल्दैन । झापा आन्दोलन होस्, सशस्त्र ‘जनयुद्ध’ या मधेस तथा थरुहट आन्दोलन नै । ती आन्दोलन सफल बनाउन झापा, रुकुम, जनकपुर तथा कञ्चनपुरको भूगोलका विभिन्न स्पेसहरूले पुरुष र महिलालाई पारेको परिवर्तनको महत्त्वलाई बिर्सन कसरी मिल्ला ? नेपालको भूगोलबारे अध्ययन नभएको हैन । एउटा बिर्सन नमिल्ने नाम डा. हर्क गुरुङ हो । भारतको पटना विश्वविद्यालयमा स्नातकोक्तर र संयुत्त अधिराज्यको एडिनबर्ग विश्वविद्यालयमा गुरुङले विद्यावारिधि गरेको विषय भूगोल नै हो । सन् १९६८ देखिको योजना आयोग र विभिन्न मन्त्रालयको संलग्नताबाट पनि गुरुङले भूगोलको राजनीतिक विषयलाई राम्ररीबुझेका थिए । नेपालमा बढ्दो प्रवासीकरणको विभिन्न आयाममध्ये क्षेत्रीय असमानता (रिजनल डिस्प्यारिटी) पनि एक हो । यसै असमानताले विभिन्न ठाउँमा मानव स्रोत अभाव हुने भनेर गुरुङले सन् १९८९ मा निक्लेको नेपालमा बसााइँ–सराइको क्षेत्रीय खाकामै स्वीकारिसकेका थिए । साथै नेपालमा विकासको पक्षलाई विश्लेषण गर्दै सन् २००५ मा अस्थायी परिवर्तन र स्थान विशेषको असमानतालाई ‘नेपालको विकासका निम्ति क्षेत्रीय रणनीति’मा थप प्रकाश पारेका थिए ।


नेपालको महिला आन्दोलनमा चाहिँ भूगोलको महत्त्व किन नकार्ने ? यहाँ महिला आन्दोलनका रूपमा जातजाति, वर्ग र लिंग ‘क्याटगोरी’ को अन्तरनिहित पहिचानलाई मात्र बुझेको देखिन्छ, खासगरी सन् १९९० को सार्वजनिक वृत्तमा नेपालको महिला आन्दोलन र सन् २००० पछिको सांगठनिक रूपमा आदिवासी जनजाति महिला आन्दोलनको सुरुवातसँगै । विश्लेषक सियरा तामाङको तर्क अनुसार राज्यको निरन्तर असमावेशी चरिक्र र नीतिगत कार्यत्रम र संविधानबाट समेत सबै महिलालाई ‘होमोजिनाइज’ गर्दै विभिन्न महिलाको शरीर, इतिहास र संघर्षहरूलाई एउटा नेपाली महिला हो भन्ने दुष्प्रयास भयो ।


राजनीतिक क्षेत्रमा विभिन्न महिलालाई एकै ठाउँमा आउन सहज भए पनि पहुँच र स्रोत बाँडफाँडको हिसाबले केही सीमित महिला समुदायमा मात्रै सफलता सीमित भएको तर्क पनि छ । लेखक प्रणिका कोयुका अनुसार आदिवासी जनजाति महिला आन्दोलनहरूले फेरि त्यसै बाहुनवादी ज्ञान निर्माण नीतिलाई निरन्तरता दिंँदै एकल आदिवासी जनजाति महिलाको संकुचित श्रेणीको निर्माण गरेका छन् । नब्बेको दशकसँगै नेपालको आदिवासी जनजाति पुरुष तथा महिला आन्दोलनमा समेत अन्तर्राष्ट्रिय तथा गैरसरकारी संस्थाको सम्बन्धले आन्दोलनकारीहरू राजनीतिक मुद्दाबाट विमुख भएको बिर्सन नमिल्ने पाटो भएको उनी स्वीकार्छिन् । लेखक तथा अनुसन्धानकर्ता कैलाश राईका अनुसार आदिवासी जनजाति महिलाले त्रिपक्षीय विभेद (महिला, जनजाति र जनजाति महिला भएर) सहेका छन् । विगतका अनुसन्धानका दायराहरू विशेषगरी काठमाडौं र मोटरबाटो पुगेसम्मका महिला समुदायसम्म सीमित भएकाले अपूरो विश्लेषण भएको छ । त्यस कारण पनि सामाजिक न्यायको वैचारिक पक्षबाट भूगोलको आयामहरू छुटेको उनले स्वीकारेकी छन् ।


नेपालको समग्र आन्दोलनलाई बुझ्दा भूगोलको आवश्यकताबारे छलफल गर्न जरुरी देखिन्छ । चाहे त्यो नेपालको महिला आन्दोलन वा आदिवासी जनजाति महिला आन्दोलनले नै किन नहोस् । वर्ग, जातजाति, लिंगमात्र भन्दा पनि भूगोलको थप आयामलाई आत्मसात गर्न आवश्यक छ । परिवर्तनशील समाजको सही विश्लेषण भनेकै यथार्थको नजिक पुगी समग्र पुरुष, महिला र ट्रान्स जेन्डरहरूको संघर्ष, अन्तरक्रिया र सम्बन्धबाट निर्माण भइरहेको ज्ञानको आत्मसात गनु हो । अनि मात्रै हामी न्यायिक समाजको चित्रण नजिकै पुग्छौं होला ।

प्रकाशित : चैत्र २३, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?