हाइबरनेसन

सिउँडी
विमल निभा

सिमसारमा एक प्रकारको हलचल व्याप्त थियो । सबै जलचर सामूहिक ढंगले कोलाहल गरिरहेका थिए । एकाएक एउटा विचित्र जीव उफ्रिएर किनारमा आयो । र मतिर बढेर भन्यो, ‘जयनेपाल बन्धु ।’



पहिले त म अचम्मित भएँ, त्यसपछि अज्ञात डर मभित्र प्रवेश गर्‍यो । एउटा फरक प्रजातिको प्राणी म सम्मुख थियो । म भयको आधिक्यले जडीभूत थिएँ । मलाई विलकुलै अवाक् मुद्रामा पाएर त्यो अमानवी आकृतिले आफ्नो अभिवादन दोहोर्‍यायो, ‘बन्धु, जयनेपाल ।’
‘तपाई को ?’ बल्ल मेरो गलाबाट वक फुट्यो ।

‘मलाई चिन्नु भएन ?’ उसले अघिल्तिरको दुवै हात उचाल्यो, ‘म कुनै अफरिचित व्यक्ति होइन नि !’
‘व्यत्ति !’ मेरो भनाइमा बहुतै आश्चर्य थियो, ‘म त तपाईंलाई कुनै व्यक्तिजस्तो देखिरहेको छैन ।’
‘के देखिरहनुभएको छ, बन्धु ?’

‘माफ गर्नोस्, मलाई सफासफी भन्न गाह्रो छ ।’
‘तपाई निर्धक्क भन्न सक्नुहुन्छ बन्धु ।’

‘तपाई भर्खरै सिमसारबाट आइपुगेको पाहा होइन ?’ मैले अप्ठ्यारोसँग मुख खोलेंँ ।
‘यस्तो नभन्नोस् बन्धु ।’ उसले नाकको पोरा फुलायो, ‘म कुनै फाहा होइन ।’
‘अनि को त ?’

‘म एक राजनीतिक व्यक्ति हुँ ।’
‘राजनीतिक व्यत्ति ?’
‘हो, पुरै राजनीतिक व्यक्ति ।’

सिमसारमा कोलाहल बढेको थियो । एक्कासी एउटा अर्को जलजन्तु मास्तिर उफ्रियो । (मेरो आँखा त्यतातिर गयो) । र म नेर आएर गाला फुलाउँदै भन्यो, ‘उहाँहाम्रो नेता ।’

‘हो, हाम्रो नेता ।’ अर्को पनि उफ्रिएर बाहिर आएको थियो ।
एकपछि अर्को गरेर सिमसारका जलचरहरू बुर्लुक्क–बुर्लुक्क उफ्रिएर माथि सतहमा आइरहेका थिए । र विभिन्न आकार–प्रकारका जलजन्तुहरूका ठूलो जमघट भइसकेको थियो । जस्तो– भ्यागुतो, सर्प, कछुवा, स्नेल इत्यादि । एकछिनपछि सबै आफ्नो नेताको एकस्वरमा जयकार
गर्न थाले ।

‘हाम्रो नेता फ्यारो नेता ।’
‘जिन्दावाद–जिन्दावाद ।’
‘हाम्रो नेता कस्तो छ ।’
‘महान् मानव जस्तो छ ।’
‘वी वान्ट डेमोक्रेसी ।’
‘डेमोत्रेसी–डेमोक्रेसी ।’
‘नेपाली कांग्रेस अमर रहोस् ।’
‘नेपाली कांग्रेस अमर रहोस् ।’

सिमसारबाट बाहिरिएका जलचरहरूका मुखबाट ‘नेपाली कांग्रेस’ को उच्चारण सुनेर म दंग परेंँ । कतै म गलत त सुनिरहेको छैन ? मलाई पटक्कै विश्वास भइरहेको थिएन । म सामुन्ने जलजन्तुहरू जोड–जोडले ‘नेपाली कांग्रेस अमर रहोस्’ को नारा लगाइनै रहेका थिए । मैले तिनीहरूका अगुवातिर हेरेर भनेंँ, ‘महोदय, यो के हो ?’

‘किन, के भयो बन्धु ?’ उसले सुइरे जिब्रोनिकालेर भन्यो ।
‘तपाईंहरू नेपाली कांग्रेस किन भनिरहनुभएको छ ?’
‘के नेपाली कांग्रेस भन्नु हुँदैन ?’
‘मेरो मतलव, के तपाईंहरू कांग्रेसी हो ?’

उसले शिर उचाल्यो । र मतिर सुस्तरी हेर्‍यो । यही प्रक्रियामा उसको ससाना आँखाको चमक बढ्यो । अनि आफ्नो चुच्चे मुखलाई अरू चुच्चो पारेर भन्यो, ‘वास्तवमा हामी कांग्रेसी नभएर कांग्रेसको छाया हौं बन्धु ।’

‘मैले तपाईंको कुरो बुझिन महोदय ।’
‘यसमा नबुझिने के छ र बन्धु ?’

‘यो कांग्रेसको छाया भनेको के हो ?’ मैले उसको चम्किलो आँखामा हेरेर भनेंँ ।
‘हामीले हालै छाया सरकारको गठन गरेका छौं ।’ दुवै हात (खुट्टा पनि) उफारेर ऊ केही अघि बढ्यो, ‘तपाईँलाई नेपालको राजनीतिको कुनै ज्ञान रहेनछ बन्धु ।’

‘त्यसो भए, छाया सरकार तपाईहरूकै हो त महोदय ?’
‘हो, हाम्रो छाया सरकार ।’ उसको घिच्रो (जस्तो) अलिकति हल्लियो, ‘अब योभन्दा हाम्रो छायापनको अरू के प्रमाण हुनसक्छ बन्धु ?’

‘त्यो त हो ।’ मैले विस्तारै भनेँं, ‘मैले अखबारमा छाया सरकारको खबर पढेको थिएँ ।’
नीला, पहेंँला, काला, हरिया, राता रंगका (कुनै टाटेपाटे पनि) जलचरहरू लगातार उच्च स्वरमा नारा लगाइरहेका थिए । यसले हाम्रो संवादमा थोरबहुत व्यवधान पैदाभएको थियो । त्यसैले उसले आफ्नो खरखराउँदो आवाजलाई अरू चर्को पारेर भन्यो, ‘हामीलाई सरकारविहीनतामा बाँच्ने कुनै अभ्यास नभएकोले यो छाया सरकार बनाउनुपरेको हो बन्धु ।’

‘अब तपाईंहरूका छाया सरकारले के गर्नेछ त महोदय ?’ मेरो उत्सुक प्रश्न थियो ।
‘के तपाईंहरू केही पनि गर्नुहुन्न त ?’ उसलाई चुप पाएर मैले फेरि भनेंँ ।

‘बन्धु, तपाईंलाई थाहा छैन, हामीले जागरण अभियान सुरु गरेका छौं । यो राष्ट्रिय स्तरको जागृतिको हाम्रो सन्देश हुनेछ । राष्ट्रिय जागरण अभियान । अब हाम्रो छाया सरकार सबैलाई नै जगाउने काममा लागिसकेको छ । यसले सम्पूर्ण मुलुक नै जुरुक–जुरुक उचालिनेछ । हाम्रो प्यारो नेपाल जाग्नेछ । हामी त्यसै बसेका छैनौं । योछाया सरकार....।’ र बोल्दाबोल्दै सिमसारबाट
निस्किएको जलजन्तुको बोली लरखरायो ।

टाउको लुलो भएर तल लत्रियो । उसका दुवै चिम्से आँखा बन्द भइसकेका थिए । मैले हेर्दाहेर्दै ऊ आफ्नो चार हातखुट्टासहित सिमसार किनारको गिलो भुइँमा ड्याम्म पछारियो । र एकछिनमै विचित्र आकारको जलचर नेता झन्डै डल्लो पर्‍यो ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:२९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पोखरी मासेर भवन : सर्वोच्चद्वारा कारण देखाऊ

थेचोस्थित पिंन पोखरी मासेर भवन बनाउन लागिएको मुद्दामा प्रधानान्यायधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आदेश दिएको हो 
प्रशान्त माली, दामोदर न्यौपाने

ललितपुर — सर्वोच्च अदालतले थेचोस्थित पिंन पोखरी मासेर भवन बनाउने कार्य किन रोक्न नपरेको हो, त्यसको कारण दिन विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानान्यायधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले शुक्रबार आदेश दिएको हो ।

थेचोस्थित पिंन पोखरी (तल) यसलाई मासेर बनाउन लागेको वृद्धाश्रम भवन ।तस्बिर : प्रशान्त/कान्तिपुर

रिटमा गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, पुरातत्त्व विभाग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, हेटौंडालाई विपक्षी बनाइको छ ।

काठमाडौं स्कुल अफ लका विद्यार्थी सञ्जय अधिकारी र श्रद्धासुमन आचार्य, गोदावरी क्षेत्रका सम्पदा पुनर्जागरण तथा संरक्षण समूहका प्रतिनिधि गोदावरी–१२ का रोमन महर्जनलगायत ६ जनाले दिएको सार्वजनिक सरोकारको रिटमा सुनुवाइ गर्दै आदेश जारी भएको हो ।

अदालतले रिटलाई अग्राधिकारसमेत दिएको छ । रिटमा गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, पुरातत्त्व विभाग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, वन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडालाई विपक्षी बनाइको छ । उनीहरूले ४ बुँदे माग राखेका छन् ।

पहिलोमा पोखरीको जग्गा अतिक्रमण गरी अस्तित्व नै समाप्त पार्ने गरी भइरहेको निर्माण रोक्न र गोदावरीले दिएको स्वीकृति, नक्सापास तथा सोसम्बन्धी प्रदेश सरकार तथा नगरपालिकाले गरेको निर्णय बदर, दोस्रोमा निर्माण गर्न थुपारिएका निर्माण सामग्री तत्काल हटाउन, तेस्रोमा पोखरीलाई पुनः पहिलाकै मौलिक तथा प्राचीन शैलीमै संरक्षण गर्न गराउन र चौथोमा मुद्दाको अन्तिम किनारा नलागेसम्म निर्माण तत्काल रोक्न माग राखेका थिए ।

उपभोक्ता समितिले सुरुमा प्राचीन बस्तीमा रहेको पोखरीमा वृद्धाश्रम बनाउने भन्दै डोजर चलाइएको थियो । पोखरी मास्न लागेपछि सम्पदा अभियान्ताले विभागमा उजुरी दिएका थिए । विभागले २०७५ चैत २० मा पोखरीको ऐतिहासिक, पुरात्तात्विक र सांस्कृतिक महत्त्वमा आँच नआउने गरी गोदावरीको बजेटमा यथास्थानमा संरक्षण गर्ने प्रक्रिया अगाडि बढाउने भनी विभागीय निर्णय गरेको थियो ।

तर, त्यसलाई बेवास्ता गरी निर्माण अगाडि बढाएर रातारात पोखरीमा ढलान गर्न फर्मा बिछ्याइएको थियो । त्यसपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दर्ता गरेर प्रशासनले रोक्न निर्देशन दिए पनि काम रोकिएको थिएन ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ मा प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकारको उपदफा ६ अनुसार चापागाउँ वृत्तका डीएसपी राजकुमार खिउजूलाई दिए पनि अटेर गरेका थिए । प्रहरी स्रोतका अनुसार जनप्रतिनिधिको दबाबका कारणले खिउजूले काम नरोकेको आरोप स्थानीयको छ ।

डीएसपी खिउजूले भने काम रोक्न भनेर पत्र नआएको दाबी गरे । ‘फेरि एक पटक पत्र हेर्छु,’ उनले भने । खिउजूलाई सीडीओबाट पठाएको पत्रमा सार्वजनिक पोखरी, जग्गाहरूको संरक्षण सम्वर्द्धन गरी कानुनविपरीत कुनै पनि कार्य हुन गर्न नदिने व्यवस्थाका लागि आदेशानुसार छ ।

अहिले अन्डरग्राउन्डको तला ढलान गरी त्यसमाथि पिल्लर ठडाइएको छ । काम रोकिएको छैन । पुरातत्त्व विभागका कामु महानिर्देशक दमोदर गौतम भन्छन्, ‘पुरातत्त्व अधिकृतलाई काम रोक्न आइतबार निरीक्षणमा पठाउँछौँ । तैपनि नरोकिएमा आवश्यक कारबाही गर्न थप पक्रिया अगाडि बढाउनेछौँ ।’

ज्येष्ठ नागरिक सेवा समितिले सुरुमा वृद्धाश्रम थेचोस्थित वनमा बनाउन लागेको थियो । स्थानीयका अनुसार त्यहाँ पर्खालसमेत लगाई १२ लाख रुपैयाँ खर्च गरिसकेको छ । पछि पोखरीमा स्थानान्तरण गरेका हुन् ।

नगर क्षेत्रभित्र भवन बनाउन अनिवार्य नक्सा पास हुनुपर्ने प्रावधान छ । यो प्रक्रियासमेत गरिएको छैन । वृद्धाश्रम बनाउन गोदावरी नगरपालिकाबाट २० लाख र प्रदेश ३ सरकारबाट ८० लाख रुपैयाँछुट्याएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT