नाम नसम्झिनु समस्या हो र !

न्युयोर्क टाइम्स

काठमाडौँ — धेरै मानिसलाई अरू व्यक्तिको नाम सम्झन कठिन हुन्छ । दशकौंको अनुभवले मलाई यो सिकाएको छ । विशेष गरेर एक–दुईपटक भेटेको मानिसको नाम सम्झन कठिन हुने गर्छ । मेरो सम्झना शक्ति यति कमजोर छ कि सामान्य परिचितहहरू मात्रै होइन, राम्रोसँग चिनजान भएकाहरूको पनि म नाम बिर्सिन्छु । कहिलेकाहीं त आफ्नो प्रेमीको आमाको नाम पनि बिर्सिन्छु । 

यस्तो अवस्थामा चिकित्सकीय सल्लाह नै लिनुपर्छ । जसलाई मेडिकलको भाषामा एनोमिक एफासिया वा डिसोम्निया भनिन्छ । यो मेरो जीवनमा अभिन्न अंग नै भइसकेको छ । कतिपय अवस्थामा त यसले मेरो सामाजिक जीवनमा धेरै तनाव थपिदिन्छ ।

धेरै मानिस आफ्नो नाम बिर्सिएकोमा चिढिन्छन् । उनीहरूको अहम्ताले गतिलै प्रहार गरिदिन्छ । केही व्यक्ति भने यस्तो समस्या लुकाउनका लागि पहिल्यै ‘म नाम सम्झिने मामिलामा कमजोर छु’ भनेर हात उठाउँछन् । मलाई भने विगतका केही पनि कुरा सम्झन कठिन हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन बिर्सनै हुँदैन, त्यसलाई सम्झिनैपर्छ ।

सन् २००७ मे महिनाको एक दिन यस्तो घटना भयो, जसले ठूलो गडबड गर्‍यो । तर राम्रो पनि भयो । म त्यस दिनलाई सधैं हिजोको दिन जस्तैगरी सम्झन्छु । म युनियन स्क्वायरमा एक फोटोग्राफर र तीनजना मोडलका साथमा फेसन सुट गरिरहेको थिएँ । काममा जाँदा सर्ट लगाउने सम्बन्धी विवादास्पद विषयमा फोटोसुट भइरहेको थियो । विभिन्न कारणले मलाई केटाहरूको ध्यान आफूतर्फ खिच्नुपर्ने थियो । तर मलाई कसैको नाम याद थिएन । जब घामसँगै मेरो तनाव पनि बढ्यो, मेरो धैर्यको बाँध भत्कियो ।

‘अब हेर, यसो गरौं म तिमीहरू सबैलाई स्टिभ भनेर बोलाउँछु । जब स्टिभ भन्छु, तब सबैजना क्यामेरातर्फ फर्किनु,’ मैले भनेँं । त्यसका साथै मलाई डर पनि लाग्यो । अब यिनीहरूले आफ्नो एजेन्टलाई फोन गरेर मेरो पागल व्यवहारको गुनासो गर्ने भए भनेर । धन्न, त्यसो भएन । तीनैजना त्यो सुनेर हाँसे । त्यस दिनका लागि हामी सबैजना स्टिभ भयौं । फोटोग्राफर स्टिभ, म स्टिभ र अरू सबै स्टिभ । जब फोटोसुट सकियो, मैले त्यसबारे धेरै केही सोचिन ।

अर्को दिन मलाई लाग्यो, मेरो समस्याको समाधान यो हुनसक्छ । जुन कुरा मैले अनायासै गरेंँ, त्यसले मलाई धेरै सहयोग गर्न सक्थ्यो । व्यावहारिक र मानसिक रूपमा पनि । त्यसपछि मैले सबैलाई स्टिभ भनेर सम्बोधन गर्न थालेँं । चिनेजानेकालाई पनि स्टिभ, अपरिचितलाई पनि स्टिभ । किन स्टिभ नै भन्ने त ? थाहा छैन । अनायासै निस्कियो । मैले धेरै महान व्यक्तिहरूलाई पनि स्टिभ्स नै भन्ने गरेको छु– म्याक्विन, हकिङ, सोनडेहिम ।

र यसका साथै मैले हलिउडमा यस्तो संस्कृतिका बारेमा पनि थाहा पाएँ, जहाँ केटीहरू नाम थाहा नभएको व्यक्तिलाई स्टिभ नै बनेर बलाउँदा रहेछन् । त्यसो गर्दा सबै पुरुषले राम्रैसँग प्रतिक्रिया दिएको देखेंँ । १२ वर्षको दौरान एकजना पुरुषले मात्रै आफूलाई स्टिभ नभन्न आग्रह गरेको मैले पाएको छु । अर्को एकजना पनि जोड्ने हो भने मेरो बुबालाई पनि स्टिभ भनेर बोलाएको मन पर्दैन ।

महिलाहरूसँग भने मेरो अनुभव भिन्न छ । उनीहरूसँग कुराकानी गर्दा म घरिघरि नाम परिवर्तन गर्छु– र्‍याचेल, स्टेफिनी, केली, सारा, क्रिस्टिन । एक–दुई सातापछि मैले जे नाम भनेर बोलाएको भए पनि उनीहरूको एउटै गुनासो हुन्छ– ‘मलाई तिमी त्यो नामले नबोलाऊ, म त्यो नाम गरेको केटीलाई फिटिक्कै मनपराउँदिन ।’

एकपटक ‘साउथ पार्क’ ले मेरो उद्धार गरेको छ । वर्षौं अघि मेरो पूर्वप्रेमी र मैले एकअर्कालाई ‘चुप लाग विन्डी’ भन्ने थेगो बसाल्यौं । त्यो विन्डी भन्ने नाम पनि अनायासै आएको थियो र त्यो नै मुखमा झुन्डियो ।

कसैलाई विन्डी वा स्टिभ भनेको मनपर्छ, कसैलाई त्यो नाम सुन्यो कि रिस उठ्छ । कसैको त्यो नामसँग राम्रो याद जोडिएको छ भने कसैलाई त्यो सुन्न पनि मन लाग्दैन । जेसुकै भए पनि विन्डी र स्टिभ सफल रहे । धेरैले ती नामलाई आत्मसात नै गरे । यो प्रयोगले एउटा कुरा सिकायो । धेरैलाई नाम सम्झन झन्झट लाग्छ । पहिलो पटक भेट्दा नाम, पेसा, घरको ठेगाना बताउन धेरैलाई अप्ठेरो लाग्छ । यस्तोमा स्टिभ र विन्डी जस्ता नामले राम्रो काम गर्न सक्छन् ।

नाम नबताउने हो भने धेरै कुरा नबताउँदा हुन्छ । र तपाईं दुवै जनालाई चित्त बुझेको कुरामा सिधै प्रवेश गर्न पाउनुहुन्छ । यो भनेको कार्यालय जाने जुत्ता खोलेर आरामदायी स्पोर्ट्स जुक्ता लगाए जस्तै हो ।

दर्जनौं व्यत्तिले मलाई स्टिभ भनेर बोलाउँछन् । सयौं व्यक्तिले यो स्टिभ योजना आफूले पनि प्रयोग गर्न मिल्छ कि मिल्दैन भनेर सोधेका छन् । यो जसले प्रयोग गरे पनि हुन्छ । मुर्खतापूर्ण रूपमा सुरु गरेको सम्बोधनले अहिले एउटा उत्साहजनक अभियानकै रूप लिन थालेको छ । कुनै दिन यस्तो आओस्, जहाँ कसैले कसैको नाम नै सम्झन नपरोस् ।

तपाईं मलाई डेभिड भनेर बोलाउन चाहनुहुन्छ भने बोलाउनुस्, तर मलाई डेभिड भनेर नबोलाकै राम्रो ।

डेभिड कोलम्यान (न्युयोर्क टाइम्सबाट अनुदित)

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कुकुरबारे किन यति धेरै किताब ?

न्युयोर्क टाइम्स

‘संगीत वा खोलानाला वा हरियाली र मुलायम घाँसबिना यो विश्व कस्तो होला ?’ कवि म्यारी ओलिभर आफ्नो किताब ‘डग संग्स’मा प्रश्न गर्छिन्, ‘कुकुर बिना यो संसार कस्तो होला ?’कुकुर बिनाको विश्वबारे सोच्न पनि मुस्किल छ  । कुकुरसँगको हाम्रो सम्बन्ध कुनै लिखित दस्तावेज र युगभन्दा पहिल्यै सुरु भएको हो  ।

कुकुर बिनाको विश्वबारे सोच्न पनि मुस्किल छ । कुकुरसँगको हाम्रो सम्बन्ध कुनै लिखित दस्तावेज र युगभन्दा पहिल्यै सुरु भएको हो । उनीहरू हाम्रा सिकारका साथी भए । खाट तताउने माध्यम बने । कहिलेकाहीं केही नभेटेका बेला खाना नै पनि हुन्थे । कुकुरहरू हाम्रो घरभित्र, भान्छा कोठामा डुल्छन् र सोफामा सुत्छन् । व्यावहारिक भएर विचार गर्दा ६ करोड अमेरिकी घरमा कुकुर बस्छन् । कुकुरबारे प्रकाशित किताबहरू अधिकांश कसरी कुकुर चयन गर्ने, तालिम दिने र स्याहर गर्ने भन्ने छन् ।


यो शताब्दी अझ भिन्न छ । जोन ग्रोगानद्वारा लिखित २००५ को मेगा बेस्ट सेलर ‘मार्ले एन्ड मी’ले कुकुरबारे हामीले के सोच्छौं भन्ने विषयमा महत्त्वपूर्ण बदलाव ल्याइदिएको छ । सन् १९९० मा कुकुर पाल्न थाल्दाको हाँसोउठ्दो अवस्थाबाट सुरु हुन्छ । कसरी ठूलो, बलिष्ठ मासु खाने जनावरलाई रेस्टुरेन्टमा वा हावाहुरी र चट्याङका बेला शान्त भएर बस्ने तथा समुद्र किनारमा डुल्दा दिसा नगर्ने भनेर सिकाउने ? किताबको अन्त्यसम्ममा ग्रोगान पूर्णरूपमा आफ्नो ल्याब्रोडर जातको कुकुर मार्लेको आन्तरिक जीवनमा केन्द्रित थिए । मार्लेले विश्वका बारे के सोच्छ, महसुस गर्छ र बुझ्छ भन्नेमा उनी चिन्तित थिए ।


यो शताब्दीको सुरुदेखि नै कुकुरहरूको दिमागमा के चल्छ भन्ने किताबहरू धेरै प्रकाशित भए । हाल एम्याजोनमा मात्रै कुकुरबारे लेखिएका ७० हजारजति किताब उपलब्ध छन् । केही दर्जन चर्चित उपन्यास पनि छन् । ‘द आर्ट अफ रेसिङ इन द रेन’, ‘ए डग्स पर्पोज’ पाठकहरूको आँखाबाट आँसु झार्न सफल उपन्यास हुन् । कुकुरहरूको दिमागमै आधारित भएर आख्यान लेखन बढ्दो छ ।
कुकुरहरूसँग १४ हजार वर्षसम्म सँगै रहेर अहिलेमात्रै किन हामी तिनीहरूले के सोच्छन् भन्ने विषयमा केन्द्रित भएका छौं ? यसबारे धेरै व्याख्या हुनसक्छ । त्यस मध्येको एक भनेको विज्ञानले दुई शताब्दीयता कुकुरहरूबारे धेरै अनुसन्धान गरेकोले हो । सन् १९०० देखि १९९९ सम्म अधिकांश मानसिक क्षमता सम्बन्धी अनुसन्धानकर्ताले कुकुरबारे अध्ययन गर्न रुचि नै राखेनन् । घरपालुवा बनाइएकाले यसको सम्पूर्ण क्षमता क्षय भइसकेको उनीहरूको अनुमान थियो ।


१९३१ मा प्रकृतिविद फ्रान्सिस पिटले कुकुरहरूको बुद्धि नभएको दाबी गरेका थिए । ‘कुकुरहरूमा बाँच्न आवश्यक पर्ने सम्पूर्ण क्षमता मानिसहरूको संरक्षणका कारण हराइसकेको विभिन्न प्रकारका प्राकृतिक परीक्षणबाट देखिएका छन्,’ उनले भनेका थिए । १९७१ मा पशु चिकित्सक माइकल फक्सले पाल्तु बनाइएकै कारण तिनमा नैराश्यता, अत्तालिने जस्ता मानसिक समस्या, दम, झाडा र पक्षाघातको समस्या देखिन थालेको उल्लेख गरेका थिए ।


१९५० देखि जनावरको मानसिक क्षमता जान्न गरिएका विभिन्न प्रयोगले तिनमा भएको बुद्धिको स्तर देखाउन थालेका थिए । सन् १९८० सम्म डल्फिनले कम्प्युटरको आवाजको नक्कल गर्नसक्ने पत्ता लागेको थियो । परेवाहरूमा विभिन्न वस्तुको तस्बिर हेरेर
छुट्याउन सक्ने क्षमता रहेको थाहा भएको थियो । हाम्रो पुर्खा मानिएका बाँदरहरूको मानसिक क्षमता मानिस जतिकै तेज हुने पनि देखिएको थियो । कुकुरको क्षमताबारे भने धेरै कुरा पत्ता लागेको थिएन । १९५० देखि २००० सम्म कुकुरको मानसिक क्षमताबारे केही लेखिएको छैन भने पनि हुन्छ ।


त्यसपछि भने एक्कासी कुकुरको मानसिक क्षमताबारे लेखिएका सामग्री छ्यापछ्याप्ती प्रकाशित हुनथाले । मनोविज्ञान, मानवशास्त्र र मस्तिष्क विज्ञानका अध्येताहरूले पनि यस विषयमा लेखे । मनोवैज्ञानिक एलेक्सान्ड्रा होरोविजको २००९ मा प्रकाशित ‘इन्साइड अफ ए डग’ यो क्षेत्रमा कोशेढुंगा नै बन्यो । त्यसले कुकुरहरूले आफू वरपरको संसारलाई कसरी हेरिरहेका हुन्छन् भन्ने थाहा पाउन महत्त्वपूर्ण भूमिका खेल्यो । सन् २०१३ मा प्रकाशित गर्जोरी बर्न्सको ‘हाउ डग्स लभ अस’ले कुकुरहरूको दिमागी क्षमताबारे नयाँ आयाम उजागर गर्‍यो । उनी पहिलोपटक जीवित कुकुरको दिमागको एमआरआई गर्न सफल भए । उनले कुकुरको दिमागमा रहेको पुरस्कार–केन्द्रले खानेकुरामा मात्रै नभई प्रोत्साहन गर्दा पनि समान प्रतिक्रिया जनाउने पत्ता लगाए । कुकुरको दिमागमा मानिसहरूको अनुहार चिन्नका लागि छुट्टै भाग हुने उनको अध्ययनले देखायो ।


कुकुरबारे हाम्रो सोच अग्रगामी छ । सँगै बसेपछि उनीहरूप्रतिको मनोवृत्ति परिवर्तन हुने हाम्रो इतिहासले नै देखाउँछ । कुनै बेला हामी कुकुरलाई उपयोगी माने पनि सफा जनावरका रूपमा लिँदैन थियौं । कुनै बेला हामी आफ्नै बच्चाहरूलाई पनि त्यही रूपमा हेर्थ्यौं । १८ औं शताब्दीको सुरुमा युरोपमा काम गराउनका लागि बच्चा जन्माइन्थ्यो । जन्मिएका सबै बच्चा जीवित नरहने भएकाले पनि त्यसबेला अभिभावक धेरै बच्चा पाउँथे र जीवित रहेकालाई काममा लगाउँथे ।


१९ औं शताब्दीमा बाल मृत्युदर घट्यो । त्यसपछि काम गर्नेको संख्या पनि बढ्यो । अभिभावकहरूले उनीहरूलाई कामदारको रूपमा मात्रै हेर्न छाडे । बालबालिकाका लागि १९ औं शताब्दी परिवर्तनको युग भएझैं २१ औं शताब्दी कुकुरका लागि हो । अहिले अधिकांश कुकुरलाई धेरै काम लगाइँदैन । उनीहरूको काम केवल हामीलाई माया गर्ने भएको छ । उनीहरू त्यसो गर्न माहिर पनि छन् ।
उड्स र हेयर विकासवाद सम्बन्धी मानवशास्त्रका प्राध्यापक हुन् । उनीहरूको ‘द जिनियस अफ डग्स’ पुस्तक प्रकाशित छ ।


न्युयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT