वैज्ञानिक र वैदिक ज्ञान 

नारायण घिमिरे

जब हामी कुनै वस्तुलाई हेर्छौं, त्यसको लेखाजोखा लम्बाइ, चौडाइ, उचाइ, तौल, शक्ति, गति, तातोपन लगायतका कुराहरूबाट राख्ने गर्छौं । महसुस भने वस्तुको रङ्ग, स्वाद, गन्ध, ध्वनि, छुँदा प्राप्त हुने अनुभव आदिबाट हुने गर्छ । विज्ञानले विषय–वस्तुलाई भौतिक मापदण्डका आधारमा बुझ्ने गर्छ । 

विज्ञानमा व्यक्तिले महसुस गर्ने वस्तुको प्रकृति परीक्षणका बखत प्रतिपादित सिद्धान्तको स्वीकार्यताको मूल्याङ्कनमा उपयोग भइरहेको हुन्छ । सिद्धान्त प्रतिपादन र परीक्षणपश्चात् स्थापित हुने निष्कर्षमा भने अटाउने गर्दैन । फलतः भौतिक मापदण्डभन्दा अनुभव र महसुसमार्फत ज्यादा स्वीकार्य हुने उत्कृष्ट वैज्ञानिक विधाहरू जस्तै– ज्ञान, प्रतिभा, साहित्य, कला र सङ्गीत आदिलाई स्वयम् विज्ञानले कला भनेर सीमित परिभाषाको दायरामा कोचिदिएको छ ।

वैज्ञानिक ज्ञान परीक्षणमा खरो उत्रेको प्रमाणितज्ञान हो । विचारलाई प्रयोगात्मक परीक्षणद्वाराप्रमाणित गरिएपछि विचार वैज्ञानिक ज्ञान बन्छ । सर्व–स्वीकार्य हुने गर्छ । विचारको उत्पत्ति कसरी हुन्छ, विचार वैज्ञानिक बनिसकेपछि सर्व–स्वीकार्यताको अनुभूति मानिसमा कसरी हुन्छ आदि बारेको ज्ञान भने राख्दैन विज्ञान ।

संस्कृतमा वेद शब्दको अर्थ ज्ञान भन्ने हुन्छ । वैदिक ज्ञानलाई आध्यात्मिक प्रकृतिको ज्ञान मानिन्छ । जुन अनुभव र अनुभूतिबाट प्राप्त हुन्छ । वैज्ञानिक रूपमा पुष्टि नहुँदा–नहुँदै पनि आध्यात्मिक ज्ञान व्यक्ति रसमाज दुवैको जीवन्त अनुभवको माध्यमबाट मानिसले अनुभूति गर्छ ।

विज्ञानले वस्तुको वास्तविक उपस्थितिको बोध गराउँछ । वैदिक ज्ञानले वस्तुको उपस्थितिले दिने अनुभूतिको अनुभवबारे सचेतना दिलाउँछ । वस्तुको मापन गर्न सकिने सूचनाहरूको अध्ययन गर्ने गर्छ विज्ञान । वैज्ञानिक सूचना लगायत वस्तुको उक्त समयमा अर्को वस्तुको सन्दर्भको सूचना, सूचनाको प्रकृति र तत्कालीन सन्दर्भको अर्थ र प्रझाव बारेको जानकारीको समेत हेक्का राख्ने गर्छ वैदिक ज्ञानले ।

पाकेको आँपको वास्तविकता भनेर विज्ञानले त्यसको कडापन, नरम पन, तौल, संख्या, लम्बाइ, चौडाइ, रसिलोपन जस्ता गुण आदि मापन गर्छ । मापनका लागि भौतिक औजारहरूको प्रयोग गर्छ । वैदिक ज्ञानले आँपको रङ्ग, स्वाद, छाम्दा महसुस हुने नरमपन, वासना आदिबारे हामीलाई अनुभूति गराउँछ । जसको लागि हाम्रा इन्द्रियहरू र चेतना उपयोगमा आउँछन् ।

वैदिक सूचनाहरूमा उक्त समयमा आँपको रङ्ग, रसिलोपनको तपाईंको आँखा अगाडि घुमेको चित्र, तपाईले महसुस गर्नुभएको वासना, आँप खाने इच्छा र चाखिहेर्दा अनुभूति भएको गुलियो, अमिलोपन आदिले तपाईमा छाडेको असरको अनुभूतिबाट प्राप्त अनुभवको समेत लेखाजोखा राख्ने गर्छ ।

मानिसले अनुभूतिबाट प्राप्त गर्ने अनुभवलाई मानिस कुन अवस्था र सन्दर्भ बाट गुज्रिरहेछ, त्यसको निकै ठूलो असर हुने गर्छ । उदाहरणका लागि यदि उक्त समयमा तपाईँ भरपेट आँप खाइसकेर बस्नुभएको अवस्था रहेछ भने तपाईँलाई त्यो आँपको नत वासनाले लोभ्याइरहेको हुन्छ, न खाने इच्छा नै जागेको हुनसक्छ । यस अर्थमा अनुभूतिका साथसाथ सन्दर्भसमेत महत्त्वपूर्ण हुने ठानी तिनीहरूको सूचना राख्ने गर्छ, वैदिक ज्ञान । सबैलाई समग्रमा ‘कन्सस्नेस’ वा चेतना भनिएको छ ।

विज्ञानले कुनै पनि वस्तुबारे हामीलाई पहिचान गराउन निकै ठूलो सहयोग गर्ने गर्छ । वैदिक ज्ञानले उक्त वस्तुले हाम्रो निजी र सामाजिक जीवनमा पुर्‍याउन सक्ने प्रभाव, विभिन्न सन्दर्भको महत्त्व, मूल्य तथा अर्थबारे जटिलतम सूचनाबारे हामीलाई सचेत पारिदिन्छ ।

आजको ‘कटिङ ऐज’ दुनियाँको सैद्धान्तिक र व्यावहारिक अनुसन्धानहरू विज्ञान र वैदिक ज्ञान नियमित जरुरतका विषय बनेका छन् । जब अनुसन्धान निकै गहिरो र जटिल मोडमा पुग्छ, वैदिक ज्ञानले राख्ने सूचनाको लेखाजोखाबाट अनुसन्धानकर्ता तुलनात्मक रूपमा निकै चाँडो अनुसन्धानको निचोडमा पुग्ने गरेको भेटिन्छ । विज्ञानका क्षेत्रमा लागेका नयाँ पिढीका लागि वैदिक ज्ञान नयाँ सुवर्ण अवसर हो । जुन आजको हाम्रो नयाँ पिढीसँग पुग्न सकिरहेको छैन । पुर्‍याउन जरुरी छ ।

वेद, उपनिषद र पुराण आदिबारे जान्न पहिले श्रुति र स्मृतिबारे जान्नु जरुरी छ । शास्त्रको सुरुवात बिन्दुका बारेमा जानकारी नरहेको परम्परागत रूपमा सुन्दै वा सञ्चारित हुँदै आएको शास्त्रलाई श्रुति भन्ने गरिन्छ । जस्तै– वेद र उपनिषदहरू श्रुति हुन् । यो विश्वास गरिन्छ कि वेदको ज्ञान अलौकिक हो ।

मतलब वेद कुनै व्यक्तिको सम्झना वा लेखनद्वारा तयार गरिएको नभई श्रष्टा सन्त तथा ऋषिहरूले समय क्रममा सिधै ब्रह्मबाट प्राप्त ज्ञान परम्परागत रूपमा लिपिबद्ध हुँदै शास्त्रको स्वरुपमा विकसित बनेको हो । ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद गरी चारवटा वेद छन् । वेदजस्ता अलौकिक ज्ञान अध्ययनबाट विकसित मानव अन्तर–ज्ञानको उपयोग गरिँदै व्यक्तिको सम्झना वा लेखनद्वारा तयार गरिएको शास्त्रलाई स्मृति भनिन्छ । जस्तै– वेदाङ्ग, उपवेद, उपांग, धर्मसूत्र, पुराण, रामायण, महाभारत आदि सबै स्मृति हुन् ।

वेदमा कुनै पनि संस्कृति विरोधी, समाज विरोधी, दर्शन वा धर्म विरोधी कुण्ठा, इर्ष्या, कुटिलता, घृणा वा तिरस्कार छैनन् । छ त व्यक्तिगत र समाजको समेत लाभ पुग्ने जीवनको अर्थ, अस्तित्व लगायतका व्यावहारिक ज्ञानका विषयहरू । अर्को मुख्य चुरो कुरा वेद कुनै अमूक संस्कृतिको वा धर्मको ग्रन्थ हैन । यथार्थमा हिन्दु, जैन र बुद्धजस्ता संस्कृति र दर्शनहरूमा वैदिक ज्ञानको निकै प्रगाढ प्रभाव भेटिन्छ ।

वेदको आधिकारिक प्रयोगात्मक ज्ञान र अवधारणा जान्न र मनन गर्न यसको अध्ययन जरुरी छ । वेदको नत अध्ययन, न मनन गरेका कतिपय धर्मगुरुहरूले वेदका व्यावहारिक, आधिकारिक र प्रमाणिक ज्ञानबाट विचलित गलत सूचना सञ्चार गरिदिँदा अक्सर वेद विवादास्पद बन्दै सामाजिक सर्व–स्वीकार्यता गुमाउँदै गएको भेटिन्छ ।

वेदपश्चात् प्रचलनमा ल्याइएका स्मृति शास्त्रहरूमा वेदको मर्मको निरन्तरता रहेको भनी वेदबारे जिज्ञासा राखिँदा, स्मृति शास्त्रहरूको उद्धरण गरी जवाफ फर्काउने हाम्रो गलत अभ्यासले वेदलाई विवादास्पद बनाइदिएको छ । धार्मिक भक्तिका नाममा गुरु आशक्ति अभिवृद्धि गर्ने नियतमा वेदमा उल्लेख गरिएको भन्ने दुहाइ दिँदै नियमित उपाङ्ग, धर्मसूत्र, रामायण, महाभारत, पुराणहरू पाखण्डीपूर्ण वाचन गरिने र यसरी वाचन गर्ने धर्मगुरुहरू अद्वितीय, अभिजात, ईश्वरको दूत हुने धारणाले वेदप्रति नयाँ पुस्ताको विकर्षण हुनुको प्रमुख कारक बनिदिएको छ ।

वैदिक ज्ञान यथार्थमा मानिसको दैनिक सोच र कर्मलाई व्यक्तिगत तथा सामाजिक उत्थानको दिशा निर्देशका खातिर उपलब्ध उत्कृष्ट व्यावहारिक ज्ञान हो । वैदिक ज्ञानले व्यक्ति र समाजको लाभ पुग्नेगरी निजी तथा सामाजिक गतिविधिहरू कार्यान्वयनमा नभई नहुने व्यावहारिक सोच विकास गर्न आवश्यक पूर्वाधार उपलब्ध गराउँछ भन्ने यथार्थ आजसम्म पनि हाम्रो समाजमा पुगिरहेको भेटिन्न ।

वेदको यथार्थता हाम्रो समाजमा वाचन गरिने र सुनाइनेभन्दा निकै भिन्न भेटिन्छ । नितान्त निजी र सामाजिक जीवनका व्यावहारिक पक्षहरू र सुदृढ मानव जीवनयापनमा अर्थ राख्ने स्वस्थता, खानपान, तन्दुरुस्ती, अर्थशास्त्र, राजनीति, संस्कृति आदिजस्ता सबै पक्ष व्यावहारिक ज्ञान समावेश छ, वैदिक ज्ञानमा ।

आजका दिनको मानिसको जीवनयापनलाई उल्लेखनीय रूपमै सरलीकृत पार्न सफल बनेको विज्ञानले आगामी पुस्ताको रोजाइ र आवश्यकताको पूर्ति गर्न जरुरी पर्न गएको सीप, ज्ञान र प्रविधि पहिल्याउन वैदिक ज्ञानको सहारा लिँदैछ । यसै प्रयोजनका लागि विज्ञानले मानवीय बुद्धि, मन र सचेतनाको भौतिक वस्तुसँगको सम्बन्धको सिद्धान्त प्रतिपादन गर्नेतर्फ समय खर्चिरहेको छ ।

प्रकृति, समय र भौतिक वस्तुहरूको चेतनासँगको सान्दर्भिकता विकास गर्न अब वैदिक ज्ञानको उपयोग गरिनुपर्ने बेला आएको छ । जुन हाम्रो रैथाने परम्परागत कौशल र कार्यशैलीको विश्व समृद्धिका लागि आवश्यक महसुस गरिएको छ ।

लेखक क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन् ।

प्रकाशित : श्रावण ११, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विश्व राजनीतिका बदलाव

प्रेमसिंह बस्न्यात

संसारको राजनीतिको चक्र घुम्ने क्रममा फ्रान्सको राज्य क्रान्ति, युरोपको औद्योगिक क्रान्ति, प्रथम र दोस्रो विश्वयुद्धले निकै तलमाथि पार्‍यो । खासमा, दोस्रो विश्वयुद्धले उपनिवेश र दासत्वको युगबाट ‘मानव युग’ मा बदल्यो । त्यसपछिका दिनहरूमा सार्वभौम देशहरूको पुनर्जन्म भयो भने मानिसको लागि विभिन्न अधिकारहरूको व्यवस्था गरियो ।

धनी देशहरूले चलाएको सामन्ती युगलाई मानव युगमा परिवर्तन गरिएको यस पाटोलाई ‘मानवताको लागि भएको विश्व राजनीतिक स्वरुप’ मान्न सकिन्छ । पहिलो र दोस्रो विश्वयुद्धमा हतियार प्रयोग र दोस्रो विश्वयुद्धका विजेता देशहरूले राजनीतिक आस्थाका आधारमा साम्यवाद र पुँंजीवाद गरी दुई ध्रुवमा बाँडेर संसारलाई शीतयुद्धकालीन अर्धसामन्ती व्यवस्थामा ढाले ।

धनी राष्ट्रहरूले संसारलाई हतियार, बम, हमलाको त्रासमा राखे । केही राष्ट्रहरू भने असंलग्न परराष्ट्र नीतिमा लागे । साम्यवादी धारको सोभियत संघ र पुँजीवादी धारमा अमेरिकाका पकडमा दुई ध्रुवीय विश्व राजनीतिको जन्म भयो । यसले कोरिया, भियतनाम, जर्मनी, भारत, मध्यपूर्व, अफ्रिका, चीन लगायतका कतिपय देशहरूलाईटुक्र्याइदियो पनि । जर्मनी बाहेक अरु देशहरूको प्रायजसो वर्तमान द्वन्द्व भनेको त्यही शीतयुद्धकालीन समयका अवशेष हुन् । अमेरिका धनी र चलायमान बन्दै गयो भने सोभियत संघ गरिब बनी अन्ततः टुक्रिएर र रूस नामको देश बन्यो ।

शीतयुद्धको स्मारकको रूपमा रहेको बर्लिनको पर्खाल ढालियो र एउटै जर्मनी बन्यो । अनि शीतयुद्ध काल समाप्त भई अमेरिकाको एकल ध्रुवीय विश्व राजनीतिको जन्म भयो । अनि संयुक्त राष्ट्रसंघ माथिको पकड पनि अमेरिकाकै हातमा पुग्यो । अमेरिकी चाहनामा संयुक्त राष्ट्रसंघ बग्न थालेपछि यसको विश्वसनीयतामा ह्रास आउन थाल्यो ।

हतियारको व्यापारले अमेरिकी अर्थतन्त्र अझै सुध्रियो र आफ्ना मित्र र शत्रु, चिनेका–नचिनेका हरेक राष्ट्र वा आन्तरिक द्वन्द्वकर्ताहरूसम्म पनि हतियार व्यापार गर्ने संस्कारले संसारमा आतंकवाद अर्थात अति कमजोर समूहले अति बलियो दुश्मनमाथि मार गर्ने युद्धकला ‘एसेमेट्रिक वारफेर’ बढे ।

एकल ध्रुवीय राजनीति कालमा विशेषगरी भारतले आफूलाई विकास केन्द्रित राजनीतिमा लगायो भने चीन चुपचाप बसेर शीतयुद्धकालीन ब्यारेकलाई औद्योगिक कारखानामा र रेड आर्मीहरूलाई सीपपूर्ण नागरिक बनाई आफ्नो विकासमै केन्द्रित रह्यो । मध्यपूर्वका मुलुकहरूमा भने व्यापक अशान्ति जन्मिए, अफ्रिकी मुलुकहरूमा जातीय र धार्मिक गन्ध फैलाएर अकल्पनीय नरसंहार भए । ती द्वन्द्वहरूले अमेरिका लगायत हतियार उत्पादन गर्ने शक्तिराष्ट्रहरूलाई निकै फाइदा दिलायो ।

सन् १९९० को अन्त्यमा आइपुग्दा पश्चिमा जालझेलमा इराकी राष्ट्रपति सद्दाम हुसेनलाई ग्रेटर इराकको अवधारणामा उक्साएर कुवेतमाथि हमला गराइयो । त्यस लगत्तै अमेरिकी नेतृत्वमा इराकबाट कुवेतलाई स्वतन्त्र गराउने नाममा, राष्ट्रसंघको स्वीकृति लिएर पहिलो खाडीयुद्ध सुरु भयो र कुवेत स्वतन्त्र बन्यो । बर्लिनको पर्खाल ढलेपछि अमेरिकाले अरु राष्ट्रको बाधा–व्यवधान विना नै हमला गर्न पाएको यो पहिलो अवसर थियो । जसमा अमेरिकी सैनिक उपकरण र सेनाको श्रेष्ठता विश्वमै एकछत्र रह्यो ।

परम्परादेखि दोस्रो विश्वयुद्धसम्म मानवशक्ति प्रयोगमा युद्ध गरेको विश्व सैनिक संस्कारलाई चिरेर पहिलो खाडीयुद्धले विश्व सैन्य उपकरणमा नयाँ आयाम जन्मायो र अमेरिका झनै एकल ध्रुवस्य विश्वको शक्तिकेन्द्र बन्यो । तेलको भण्डार रहेको मध्यपूर्वलाई आफ्नो नियन्त्रणमा लिँदै गर्दा इराकमाथिको दोस्रो हमलापछि त अमेरिका झनै बलियो बन्यो । पहिलो खाडी युद्धपछि नै अमेरिका बाहेक अन्य मुलुकहरूले सैनिक संख्या र व्यारेक कटौती गरेर सैन्य उपकरण बढाउन लागे । त्यसबाट पनि अमेरिकालाई आर्थिक फाइदा भयो ।

एकल ध्रुवीय विश्व राजनीतिमा गिरावट
सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाहरूले हमला गरेपछि संसारको राजनीतिमा दुई घटनाले स्थान पाउँछन् । पहिलो, विश्व आतंकवादमा नयाँ तरिकाको सुरुवात र दोस्रो, अमेरिकी शक्तिको ह्रास । संसारमा आतंकवादको वृद्धि भयो । गैरसैनिक सामग्रीलाई सैनिक प्रयोगमा लगाई जन–धन क्षति गर्ने कलाको प्रयोग अनि परम्परागत तरिका र साधनले आतंकवादमा कुनै बन्देज राखेन ।

आजका दिनहरूमा राज्यविहीन शक्तिहरू र आन्तरिक द्वन्द्वको जगजगी हुनुमा ९/११ को नजिरले ठूलो काम गरेको छ । अर्कोतर्फ अमेरिकाले तुरुन्तै ‘वार अन टेरर’ घोषणा गरी अफगानिस्तान विरुद्ध हमला गर्छ र यो युद्ध ‘जित्न नसक्ने युद्ध’मा परिणत भएपछि अमेरिकी शक्ति श्रेष्ठतामा ह्रास सुरु हुन्छ ।

त्यसपछि अमेरिकाले दोस्रोपटक इराकमाथि हमला गर्न ‘प्रमाणविहीन आरोप’ लगाएर अमेरिकी राष्ट्रपति जर्ज बुस र बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले झुटको खेती गर्छन् । त्यसले अमेरिकी साख झार्छ । राष्ट्रसंघले इराकमाथि दोस्रोपटक हमला ‘नगर’ भन्दाभन्दै जबर्जस्ती हमला गरेरसद्दाम हुसेन र इराकलाई बर्बाद पारिन्छ । यसले राष्ट्रसंघको अस्तित्वलाई नै समाप्त पारेको भान हुन्छ ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनमा नजिर हेर्ने हो । पहिलो विश्वयुद्धपछि जन्मेको ‘लिग अफ नेसन्स’ले जुन दिन हमला नगर भन्दा पनि जर्मनीले पोल्यान्ड विरुद्ध हमला गरेर दोस्रो विश्वयुद्धको सुरुवात हुन्छ, त्यसपछि नैतिकताको आधारमा लिग अफ नेसन्सको भंग हुन्छ ।

यो नजिरलाई समात्दा इराकमाथिको दोस्रो हमला रोक्न असफल बनेको राष्ट्रसंघको वैधानिकतामाथि पनि प्रश्न उठेको छ । शीतयुद्धकालीन समयमा राष्ट्रसंघ बढी विश्वासिलो र शक्तिशाली थियो । आजको दिनमा संसारको बुझाइ के छ भने ‘अमेरिका र संयुक्त राष्ट्रसंघ भनेको एक सिक्काको दुई पाटा हुन्’ ।

त्यसपछि आएर सिरिया, लिबिया, टर्की, हाइटी, क्युबा, भेनेजुयला, उत्तर कोरिया, साउथ चाइना सी, युक्रेन लगायतका अमेरिकी रणनीतिले उसलाई विस्तारै संसारबाट एकल्याउँदै लगेको छ । दोस्रो विश्वयुद्ध पहिला बेलायतले लिएको विश्व रणनीति र हाल अमेरिकाले लिएको रणनीतिको रूप फरक हो, तर सार उस्तै छ ।

अर्कोतर्फ ‘वार अन टेरर’ ले संसारकै मुस्लिमहरू अमेरिका विरोधी बन्दै जानु भनेको एकल ध्रुवीय शक्तिको पतन हुनु हो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रमको व्यक्तिगत र नीतिगत कारणले त झन् अमेरिका एसिया र युरोपबाटै आलोचित बन्दै गएको छ । अरुको होइन, आफ्नै कारणले अमेरिका विश्व राजनीतिबाट टापु बन्दै गएको प्रस्टै देखिन्छ ।

नयाँ देखिएको विश्व राजनीतिक स्वरुप
आज आएर संसारले के बुझ्यो भने अमेरिकी रणनीति अनुसार उसले उत्तर कोरियाली हाउगुजी देखाएर दक्षिण कोरिया लगायतका दक्षिणपूर्वी एसिया, रूसको डर देखाएर पश्चिमी युरोप र इरानको हाउगुजी देखाएर मध्यपूर्वमा आफ्नो हतियारको व्यापारसहित सैनिक उपस्थित गराउन चाहन्छ । युद्ध व्यापारमा घाटा बढेर हाल अमेरिका संसारको सबैभन्दा ऋणी राष्ट्र बनिइसकेको छ ।

अर्कोतर्फ चुपचापमा रहेका चीन, रूस र भारतको आर्थिक वृद्धि हुँदैछ । यी ३ वटा देशहरूको सामिप्यता बढिरहेको देखिन्छ । हालै एसिया क्षेत्रमा अमेरिकाले बढाएको इन्डो प्यासिफिक स्ट्राटेजीलाई शीतयुद्धकालीन समयको पुनरागमनको रूपमा लिइएको छ । रूससंँगको रणनीतिक सम्बन्ध र इरानको तेलको कारण अनि चीनसँंग नमिलेका सीमा विवादलाई थाती राखेर भारतले अमेरिकी रणनीतिमा मात्र लाग्न सजिलो छैन । वर्तमान अमेरिकी रणनीतिकै कारण चीन, भारत र रूसको मिलनलाई नजिक ल्याएको हो भन्न सकिन्छ ।

भारत, चीन र रूस बीचको त्रिकोणात्मक सम्बन्ध विस्तार हुँदै गयो भने अवश्य पनि संसारको राजनीतिक शक्तिकेन्द्र यसैको वरिपरि घुम्नेछ । भारतको रणनीतिक भूमि, चीनको धन र रूसको हतियारले एउटा बलियो संगठन बन्न सक्नेछ र संसारको शक्ति एसिया केन्द्रित हुने सम्भावना प्रबल छ । अमेरिकी पकडको एकल ध्रुवीय विश्व राजनीतिको भविष्य चिरायु देखिँदैन ।

लेखक नेपाली सेनाका अवकाश प्राप्तसहायक रथि हुन् ।

प्रकाशित : श्रावण ११, २०७६ ०८:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT