सम्झनामा आङछिरिङ दाइ : उहाँ विना मेरो अभियान पुरा हुने थिएन 

आङछिरिङ शेर्पा

न्यु योर्क — डेढ दशक अघिको कुरा, त्यति बेला म कान्तिपुर दैनिकमा आबद्ध थिएँ । कामकै सिलसिलामा यति एयरलायन्सका मालिक आङछिरिङ सेर्पासँग भेट भयो । त्यो दिन मुलुकका धेरै सफल व्यवसायीहरू भेला भएका थिए । त्यसअघि उहाँसँग सामान्य चिनजान भए पनि त्यो दिन १० मिनेट जति  कुराकानी भयो । त्यही भेटले हाम्रो राम्रो चिनजान भएको थियो ।

Citizen

त्यसपछिका दिनहरूमा उहाँले बेला बेला ‘फुर्सद मिलेमा मेरो अफिस पस्नु है’ भनेर आग्रह गरिरहनु हुन्थ्यो । रिपोर्टिङ नजिकै परेको बेला कहिलेकाहीँ उहाँको कार्यालयमा पुग्ने गर्थे । भेटमा कालो कफीसँगै समसामयिक कुरामा भलाकुसारी हुन्थ्यो । त्यतिखेर उहाँको यति एयरलायन्सको कार्यालय लाजिम्पाटको उकालोमा थियो । असाध्यै व्यस्त उहाँलाई भेट्न धेरै मान्छेहरू आइरहन्थे । जति व्यस्त भए पनि आफूलाई भेट्न कोही आए भित्र बोलाएर आत्मीयता दर्साउने उहाँको बानी थियो । एक दिन म त्यहाँ पुगेको बेला नेपाली काँग्रेस र एमालेका चर्चित नेताहरू समेत उहाँलाई भेट्न बाहिर कुरिरहेका थिए । उहाँको अगाडिको टेबलमा तीन वटा फोनको लाइन थियो । साथीभाइ , आफन्त आएको बेला फोन बजे पनि कुरा नटुंग्याएसम्म फोन उठाउनु हुन्नथ्यो । त्यतिखेर अहिलेको जस्तो धेरै व्यवसायहरू थिएनन् । आफ्नो दाइ ल्हाक्पा सोनामले थामसेर्कु चलाउन थालेपछि उहाँ यति एयरलायन्समै बढी व्यस्त हुन थाल्नुभएको थियो ।

भेटको बेला उहाँ भन्नु हुन्थ्यो, ‘साथी भाइहरू सम्झेर भेट्न आउँछन् ठूलाबडाहरूले जागिर लगाइदिनु भनेर रिक्वेस्ट गर्छन्, यस्तै छ जीवन ।’ उहाँको कुरा सुनेर घत लाग्थ्यो । सेना र प्रहरीको प्रमुखदेखि प्रधानमन्त्रीसम्मले आफ्ना मान्छेलाई काम लगाइदिन अनुरोध गरिरहेको उहाँबाट थाहा पाउँदा निकै गौरव लाग्थ्यो । मनमा सोलुको एक शेर्पाको छोराले काठमाडौँमा कम्पनी खोलेर जागिरको लागि त्यो तहको व्यक्तिहरूले अनुरोध गर्नु आफैमा महत्त्वपूर्ण थियो । मैले पनि उहाँको कार्यको गौरव महसुस गरेँ । हुन पनि सोर्सफोर्सबाट आएको होस् वा प्रतिस्पर्धा गरेर जसरी आए पनि उहाँको कम्पनीमा काम गर्ने कर्मचारीहरूले कम्पनीको छवि राम्रा बनाएको थियो । नेपालमा १२ वर्ष पत्रकारिता गर्दा नेपालको सबैजसो सफल व्यापारीहरूसँग भेट्ने मौका मिल्यो । हरेकको फरक फरक जीवनशैली र विशेषता थियो । त्यस मध्ये पनि फरक विशेषता थियो उहाँको ।

सधैँ आफ्नो व्यवसायमै दत्तचित्त उहाँ, प्राय सरल पोसाकमै देखिनुहुन्थ्यो । सङ्गत नभएको र चिनजान नभएको मान्छेको हेराइमा उहाँ घमन्डी लागे पनि सङ्गत गरिसकेपछि मिलनसार र सहयोगी । सबै क्षेत्रको व्यक्तिहरूसँग आत्मीयता साट्ने कला उहाँमा थियो । कुरा गर्दा गर्दै आइडिया निकालेर केही गरौँ भन्ने स्वभावको उहाँसँग लाग्ने कतिपय व्यवसायीहरूले पनि धेरै राम्रो सफलता हासिल गरेका छन् । जीवनमा पैसा कमाउनु एउटा हो, तर दीर्घाकालिन रूपमा राम्रो आम्दानीको स्रोत कसरी बनाउने भन्नेमा उहाँको ध्यान हुन्थ्यो । त्यही सोच अनुरूप ट्रेकिङ, पर्वतारोहण, एयर लायन्स हुँदै होटेल, रिसोर्टहरुमा उहाँले लगानी गरेको व्यवसायहरू सफल भए । हर समय व्यवसाय र हप्ताको एक दुई दिन गल्फमा समय दिन रुचाउने आङछिरिङ पछिल्लो समय राम्रो समाजसेवीको रूपमा चिनिनु भएको थियो । समाजमा कसैको मर्दापर्दा पुगिहाल्ने उहाँ कतिपय अन्य कार्यक्रमहरूमा खासै पुग्नु हुन्नथ्यो तर नपुगेपनि सहयोग भने दिनु हुन्थ्यो । यति एयरलायन्सको टिकट बेचेको रकमको केही हिस्सा सामाजिक सेवामा सदुपयोग गर्ने उहाँको सोच आफैमा राम्रो छ । जुन अरूले गर्न सकेका छैनन् ।
यसको साथै हिमाली जिल्लाहरूमा खाद्यान्न ढुवानी र स्वास्थ्य क्षेत्रको सेवामा उहाँको योगदान ठुलो रहेको छ । हिमाली जिल्लाको सेवामूलक अभियानबाट धेरैले सहयोग मिलेको छ । त्यस्ता धेरै राम्रा सामाजिक कार्यहरू गरिसकेर पनि उहाँ कहिल्यै पनि प्रचारमा आउन चाहनु भएन । एक दिन उहाँको समाजसेवाबारे समाचार लेख्नका लागि उहाँसँग कुरा गर्न खोजेको थिएँ तर उहाँले मान्नु भएन । ‘देशको लागि केही गरौँ र दुख पाएकालाई सहयोग गरौँ भन्ने हो तर पत्रपत्रिकामा आफ्नो तस्बिर छापेर प्रचारमा आउन मलाई पटक्कै मन लाग्दैन’ उहाँले भन्नु भएको थियो ।

कार्यक्रमहरूमा भेट्दा पनि तस्बिर खिच्नमा उहाँ खासै रुचि राख्नु हुन्नथ्यो । समाजमा राजनीतिक, सामाजिक र आर्थिक जुनसुकै क्षेत्रमा कसैले केही राम्रो कार्य गर्न चाहे सहयोग गर्न उहाँ अग्रसर भइहाल्नु हुन्थ्यो । मेरो पहिलो नेपाली पत्रकार सगरमाथा आरोहण अभियानमा थामसेर्कु र यति एयरलायन्सको तर्फबाट उहाँले जुन सहयोग गर्नु भएको थियो त्यो अविस्मरणीय छ । कान्तिपुर पब्लिकेसनको १० औँ वर्षगाँठको त्यो अभियान आयोजक कान्तिपुर र सहआयोजक थामसेर्कु ट्रेकिङ र यति एयरलाइन्स थियो । कान्तिपुरको त्यो ऐतिहासिक वार्षिकोत्सवमा म र सिङ्गो कान्तिपुरकै प्रतिष्ठा उच्च बनाउनमा आङ छिरिङ र उहाँको दाइ ल्हाक्पा सोनामको ठुलो योगदान रहेको छ । सायद उहाँहरूले त्यो सहयोग नगरेको भए मेरो अभियान सफल हुने थिएन होला ।

म जस्ता कैयौँ युवाहरूको सपना पुरा गर्न उहाँले अभिभावकत्वको भूमिका निर्वाह गर्नु भएको छ । कैयौँ युवालाई रोजगारी दिनु भएको छ । धेरैलाई विभिन्न क्षेत्रमा नियुक्तिको लागि सिफारिस गरिदिनु भएको छ । नेपालका हरेक राजनीतिक पार्टीलाई उत्तिकै सहयोग गर्दै आउनु भएको उहाँ जुनसुकै पाटीको सरकार आए पनि सबैसँग उतिकै मिलेर काम गर्नु हुन्छ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उहाँको निधनले मुलुकले ठुलो क्षति र अभाव बेहोर्नु परेको छ । नेपाल र नेपालीको हितमा साथ दिँदै आउनु भएको आङ छिरिङ दाइको आत्माको चिरशान्तिको कामना । ओम माने पद्मे हुँ ।

– हाल लेखक न्युयोर्कबाट प्रकाशित हुने एभरेस्ट टाइम्स पत्रिकाका प्रधान सम्पादक छन् ।

प्रकाशित : फाल्गुन २१, २०७५ १७:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हतियारसहित ४ जना पक्राउ

लालप्रसाद शर्मा

पोखरा — कास्कीको रुपा गाउँपालिकाबाट ४ जना हतियार सहित पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट दुईवटा बाह्रबोर राइफल र तीनवटा भरुवा बन्दुक बरामद गरेको छ । 

पक्राउ पर्नेहरुमा रुपा गाउँपालिका–७ घर भइ हाल पोखराको शिशुवामा बस्दै आएका ५५ वर्षीय नारायणबहादुर गुरुङ, तालबेंसी बस्ने ४८ वर्षीय डिलबहादुर गुरुङ, तिलखोरियाका ४५ वर्षीय सुरेश गुरुङ र मनबहादुर थापामगर रहेका छन् ।

अवैध रुपमा हातहतियार लुकाइ राखेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

उनीहरु विरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ १६:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT