कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतम बुद्ध विमानस्थलमा कार्गो भवन निर्माण सुरु

विमानस्थलमा मुआब्जाको समस्या नरहने मन्त्रीको दाबी
माधव ढुंगाना

भैरहवा — निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अत्याधुनिक कार्गो भवन निर्माण कार्य सुरु भएको छ । विमानस्थल आयोजना परिसरमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कार्गो भवनको शिलान्यास गरे ।

गौतम बुद्ध विमानस्थलमा कार्गो भवन निर्माण सुरु

मन्त्री अधिकारीले सम्झौताको म्याद अवधिभित्र भवन निर्माण सम्पन्न हुनु स्वाभाविक भए पनि म्याद अवधिको ४ महिनाअघि नै भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढ्ने बताए । उनले २०१९ को अगस्त महिनासम्म विमानस्थल तयार हुने र सेप्टेम्बरदेखि सञ्चालनमा ल्याउने योजनाअनुसार विमानस्थलको निर्माण भइरहेको जनाए । ‘सबै काम सन्तोषजनक रूपमा अघि बढेको छ,’ उनले भने, ‘यही हिसाबले काम जारी रहे समयमै विमानस्थल सञ्चालनमा आउनेछ । यो विमानस्थल नेपालको इतिहासमा ६० वर्षपछि प्रयोगमा आएको अर्को अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा हुनेछ ।’


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आधार मानेर श्रीलंका, म्यानमार, चीन, जापान, कम्बोडियालगायत देशले विमान सञ्चालन गर्न निवेदन दिइरहेको जानकारी उनले दिए । ‘विमानस्थल बनेपछि सञ्चालनमा आउन कुनै समस्या छैन,’ उनले भने, ‘विश्वका लागि यो क्षेत्र नेपालकै ठूलो पर्यटकीय गन्तव्यस्थल बन्नेछ ।’


गौतम बुद्ध विमानस्थलमा वैकल्पिक कार्गो भवन रहेकाले नयाँ कार्गो भवन निर्माणको म्याद २ वर्ष रहे पनि अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि कुनै समस्या नपर्ने र तत्कालका लागि हाल उपलब्ध रहेको कार्गो भवनकै प्रयोग गरिने अधिकारीले बताए । उनले मुआब्जा वितरणका लागि डेढ महिनाभित्र पर्याप्त रकम आउने हुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जाको कुनै समस्या नहुने दाबीसमेत गरे ।


९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँमा २ वर्षभित्र सम्पन्न गर्ने गरी शर्मा–लुम्बिनी–गजुरमुखी जेभीसँग सम्झौता भएको विमानस्थल आयोजनाले जनाएको छ । भवन ८ हजार स्क्वायर मिटर क्षेत्रफलमा निर्माण हुनेछ । निर्माण सुरु भएको कार्गो भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरीय र अत्याधुनिक किसिमले निर्माण हुने विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए । उनका अनुसार विमानस्थलको एप्रोनदेखि कार्गो भवनसम्म विमान नै ल्याउन मिल्ने गरी बाटोको निर्माण गरिनेछ ।

प्रकाशित : पुस १७, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?