कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुमको दूध जिल्ला बाहिर

पहिलो दिनमै लक्ष्यभन्दा बढी दूध संकलन भएको सहकारीले जनाएको छ 
हरि गौतम

रुकुम पश्चिम — सानीभेरी गाउँपालिका ११ का मानबहादुर ओलीको घरमा उत्पादित दूध बिक्न थालेको छ । यसअघि सके खाने नभए दही जमाएर घिउ उत्पादन गर्ने गरेका ओलीले अब सोझै दूध बेच्न थालेका छन् ।

रुकुमको दूध जिल्ला बाहिर

त्रिवेणी गाउँपालिका ८ पेदिखेतका गणबहादुर खड्काले पनि दूधबाट आम्दानी गर्न थालेका छन् । यसअघि घरमै खाएर सकिने दूध अब बजार जान थालेको छ । घरमा उत्पादन भएको दूध घरबाटै बिक्री हुन थालेपछि गणबहादुर उत्साहित छन् ।


ओली र खड्का मात्रै होइन जिल्लाका पाँच सय किसानको दूध घरबाटै बिक्री सुरु भएको छ । नजिक बजार नभएका कारण दूध बिक्री गर्न नपाएका किसानले बुधबारदेखि दूध बिक्री गर्न थालेका छन् । ‘अब दूध बिक्री सुरु भयो, हाम्रो निर्वाहमुखी पेसा व्यावसायिक बन्छ होला,’ ओलीले भने, ‘हातहातै आम्दानी हुने भएपछि हामीलाई व्यावसायिक बन्न कर लाग्ने भयो ।’ उनले बजारभन्दा टाढाको दूध पनि बिक्री हुन थालेपछि खुसी लागेको बताए ।


मुसीकोट नगरपालिका ४ सोलाबाङको नागरिक दुग्ध सहकारी संस्थाले किसानको दूध किन्न सुरु गरेको हो । सोलाबाङमै चिलिङ भ्याट स्थापना गरेको सहकारीले गाडीमार्फत गाउँगाउँको दूध बजार झार्न थालेको हो । चिलिङ भ्याट स्थापना गरेको सहकारीले दूध ओसार्ने चिलिङ भ्यान पनि ल्याइसकेको छ ।


जिल्लाका किसानको दूध खरिद बिक्री गर्ने उद्देश्यले सहकारीले झन्डै डेढ करोड लगानीमा दूध खरिद बिक्रीका लागि आवश्यक बन्दोबस्त मिलाएको छ । पहिलो दिन ४ सय २५ लिटर दूध संकलन भएको छ । पहिलो दिनमै लक्ष्य लिएको भन्दा बढी दूध संकलन भएको सहकारीले जनाएको छ ।


सोलाबाङ आसपासका किसानले सोझै सहकारीमा दूध पुर्‍याउँछन् भने टाढाका किसानको दूध सहकारीका कर्मचारी आफैं पुगेर ल्याउने गरेका छन् । जिल्लाको दूध संकलनका लागि सहकारीले एउटा गाडी चलाइरहेको छ । किसानको घरमै दूधको गुणस्तर हेरेर प्रतिलिटर ३८ देखि ४२ रुपैयाँमा सहकारीले दूध किन्न थालेको छ ।


सहकारीले चिलिङ भ्याट स्थापना तथा चिलिङ भ्यान सञ्चालनमा ल्याएपछि नबिक्ने ठाउँको दूध त बिक्री भएको छ, पहिलो पल्ट रुकुम पश्चिमको दूध जिल्ला बाहिर पनि जाने भएको छ । सहकारीले चिलिङ भ्यानमार्फत दूध नेपालगन्ज पठाउने तयारी गरेको छ । हरेक तीन दिनमा तीन हजार लिटर जिल्लाको दूध दुग्ध विकास संस्थानको नेपालगन्ज वितरण केन्द्रमा पठाइनेछ ।


त्यसका लागि सहकारीले सम्झौतासमेत गरिसकेको सहकारीका अध्यक्ष धिरन शेर्पालीले बताए । ‘हामीले बजार नजिक नभएका किसानको दूध संकलन थालेका छौं,’ शेर्पालीले भने, ‘जिल्ला स्थानीय बजारमा पुगेपछिको दूध नेपालगन्ज पठाउनेछौं ।’ उनले जिल्लामा यसअघि सञ्चालित डेरी र बजार नजिकका किसानले स्थानीय बजारमा दूध पुर्‍याइरहेकाले सहकारीमा संकलन हुनेमध्येका अधिकांश दूध जिल्ला बाहिर जाने बताए ।


सहकारीमा संकलन भएको दूध तीन दिनसम्म राख्न सक्ने व्यवस्था गरिएको छ । ‘अब हरेक तीन दिनमा जिल्लाको दूध नेपालगन्ज जाने र त्यसैबाट धेरै ठाउँमा वितरण हुनेछ, दूध बोक्नका लागि ४ हजार ५ सय लिटर क्षमताको चिलिङ भ्यान प्रयोग हुनेछ,’ अध्यक्ष शेर्पालीले भने ।


चिलिङ भ्याट स्थापनामा कर्णाली प्रदेश सरकार भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले झन्डै एक करोड, सहकारीले केही तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले केही लगानी सहकारीका लागि जुटाइदिएका छन् । गाउँघरमा यत्तिकै रहेको दूध अब बिक्री सुरु भएको शर्माले बताए ।


जनता नै मिलेर बनाएको सहकारीले किसानको दूध बेचिदिने गरी जिल्लामा पहिलो पटक व्यवस्थित चिलिङ भ्याट बनेको र जिल्लामा खपत हुन बाँकी दूध पनि पहिलो पटक नै जिल्ला बाहिर पठाउन लागिएको शर्माको भनाइ छ । गाउँगाउँमा दूध संकलनका लागि सहकारीले सहायक संकलन केन्द्र स्थापना गरेको छ ।


स्थानीय समूह, सहकारीसँगको सहकार्यमा दूध संकलन केन्द्र स्थापना गरिएको सहकारी संस्थाका सचिव छविलाल केसीले बताए । उनका अनुसार मुसीकोट नगरपालिका, सानीभेरी, त्रिवेणी र बाँफीकोट गाउँपालिकामा दूध संकलनका लागि सहायक केन्द्र स्थापना गरिएको छ । मुसीकोट नगरपालिका १४, को दोपाई र ७ नम्बर वडाको गोतालवीबाङमा सहकारीले संकलन केन्द्र स्थापना गरेर दूध संकलन गरिरहेको छ ।


सानीभेरी गाउँपालिका ११ को काफलबोट, ९ को सिम्ली, ३ को पेदीबजार, २ को गिठाकोट र ९ नम्बर वडाको हासीबाङमा पनि सहकारीले दूध संकलन केन्द्र स्थापना गरेको छ । त्रिवेणी गाउँपालिका ३ को खारानेटा, ७ को मेलपोखरी, ७ कै कुरल, ८ को पेदीखेत, १० को भयारथान, ९ को नुवाकोटडाँडा र ९ नम्बर वडाकै टुनीबोटमा पनि दूध संकलन हुने गरेको छ । बाँफीकोट गाउँपालिकाको लागिममा पनि सहकारीले दूध संकलन केन्द्र स्थापना गरेर दूध संकलन गर्छ ।

प्रकाशित : पुस २७, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?