कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनीको मूल्यमा अल्झियो उखु क्रसिङ

सरकारले निर्धारण गरेको उखुको न्यूनतम मूल्यका आधारमा चिनीको मूल्य प्रतिकिलो ९० रुपैयाँ तोक्नुपर्ने उद्योगीहरूको अडान
देवनारायण साह

मोरङ — किसानको उखु खेतमै फुल्न थालेको छ । तौल कम हुने चिन्ता उनीहरूलाई छ । उखु खेतमै भएपछि अन्य बाली लगाउन उनीहरूले पाएका छैनन् । महिनौं हारगुहार गर्दै हिँडेपछि सरकारले बल्ल उखुको मूल्य तोक्यो ।

चिनीको मूल्यमा अल्झियो उखु क्रसिङ

न्यूनतम मूल्य तोकिएपछि कृषकमा केही खुसी सञ्चार भएकै थियो । त्यो खुसीमा त्यस बेला ब्रजपात भयो जब चिनी मिलहरूले उखुको क्रसिङ फेरि पनि रोकेका छन् ।


सरकारले उखुको मूल्यसँगै चिनीको मूल्य नतोकेको भन्दै चिनी मिल्सले उखु क्रसिङ रोकेका हुन् । सरकारले निर्धारण गरेको उखुको न्यूनतम मूल्यका आधारमा चिनीको मूल्य प्रतिकिलो ९० रुपैयाँ तोक्नुपर्ने उद्योगीहरूको अडान छ ।


सरकारले उखुको न्यूनतम मूल्य तोक्दासमेत गत वर्ष उत्पादन भएको चिनी बिक्री नहुँदा सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिल्स सञ्चालनमा आउन सकेको छैन । मिलको गोदाममा गत वर्ष उत्पादन भएको ३ हजार टन चिनी वर्ष दिनदेखि थन्किएर रहेको छ । कटान भएको ढिलाइले खेतमै उखु फुल्न थालेको छ । उखु फुलेपछि तौल कम हुने भएकाले किसान चिन्तित छन् ।


सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरिसकेको छ । मन्त्रिपरिषद्ले चिनी मिलहरूले सम्बन्धित उखु कृषकलाई प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसामा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने र सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले उखुको मूल्य तोकेपछि उद्योगीहरूको चिनीको मूल्य तोक्निुपर्ने अडानले उखु क्रसिङ सुरु हुन सकेको छैन । उखु क्रसिङ सुरु गर्न एक महिना ढिलो भइसकेको कृषकहरूको गुनासो छ ।


मिल्सका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताले मिल सञ्चालन गर्ने सम्पूर्ण तयारी भइसकेको बताए । अहिले सरकारले तोकेको उखुको न्यूनतम मूल्यको आधारमा चिनीको मूल्य प्रतिकिलो ९० रुपैयाँ तोके मात्रै उद्योगहरू चल्न सक्ने उनले बताए । सरकारले तोकेको चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँलाई संसद्को सार्वजनिक लेखा समितिले प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएको थियो ।


‘कृषकसँग उखु खरिद गरेपछि तत्काल भुक्तानी दिनुपर्ने हुन्छ,’ उनले भने, ‘कृषकलाई उखुको भुक्तानी दिनका लागि गत वर्षको गोदाममा थन्किएको ३ हजार टन चिनी बिक्री गर्नुको विकल्प छैन ।’


गत वर्ष मिलले बैंकबाट ऋण लिएर कृषकलाई उखुको रकम भुक्तानी दिँदा र चिनी बिक्री नहुँदा २० करोड घाटा व्यहोर्नुपरेको मेहताको भनाइ थियो । ‘प्रत्येक वर्ष घाटा व्यहोरेर मिल सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘यस वर्ष सरकारले उखुको मूल्य तोके पनि चिनीको मूल्य तोक्न नसकेकाले चिनी बिक्रीमा समस्या भएको छ ।’ मिलको गोदामका साथै सल्फर राख्ने गोदाममा समेत चिनी नै राखिएकाले हालसम्म सल्फर आयात गर्न नसकिएको मेहताले बताए ।


‘मिलले गत वर्ष ११ लाख ७८ हजार क्विन्टल उखु क्रसिङ गरेर १ लाख ७ हजार क्विन्टल चिनी उत्पादन भएको थियो,’ उनले भने, ‘मिलको दैनिक ३० हजार क्विन्टल र एक सिजनमा ३० लाख क्विन्टल उखु क्रसिङको क्षमता रहेको छ ।’ गत वर्ष पाकिस्तानबाट अनावश्यक चिनी आयात भएपछि यहाँका मिलहरूले उत्पादन गरेको चिनी बिक्री हुन सकेको छैन । पाकिस्तान सरकारले चिनी ढुवानीमा अनुदान दिएपछि यहाँका व्यापारीहरूले २ लाख ३६ हजार टन चिनी आयात गरेका थिए ।


इस्टर्न सुगर मिल्सका सञ्चालक हितेश गोल्छाले अहिले सरकारले तोकेको उखुको न्यूनतम मूल्यको आधारमा चिनीको मूल्य प्रतिकिलो ९० रुपैयाँ तोके मात्रै उद्योगहरू चल्न सक्ने बताए । नेपालमा वार्षिक २ लाख ५० हजार टन चिनीको खपत रहेकामा पाकिस्तानबाट मात्रै गत वर्ष २ लाख ३६ हजार टन चिनी आयात गरिएको उनले बताए ।


‘गत वर्ष नेपालका ११ वटा चिनी मिलहरूले १ लाख ७८ हजार टन चिनी उत्पादन गरेका थिए,’ उनले भने, ‘उत्पादित चिनीमध्ये ७० हजार टन बिक्री नभएर अझै गोदाममै थन्किएको छ ।’ उनले पाकिस्तानबाट आयात भएको चिनीको मूल्यभन्दा यहाँको चिनीको उत्पादन लागत बढी भएकाले बिक्रीमा समस्या भएको बताए ।


यता उखु फुल्न थाल्दा पनि मिल सञ्चालन नहुँदा कृषकहरू चिन्तित भएका छन् । सुनसरीको देवानगन्ज गाउँपालिका ५ का कृषक रामकुमार यादवले इस्टर्न सुगर मिल्सले उखु काट्ने पुर्जी नदिएकाले तीन बिघामा लगाएको उखु काट्न नपाएको गुनासो पोखे । ‘समयमा उखु काट्न नपाउँदा यस वर्ष घाटा हुने भएको छ,’ उनले भने, ‘समयमै उखु काट्न नपाउँदा खेतमै फुल्न थालेकाले तौल कम हुने भएको छ ।’


यादवले तीन बिघामध्ये डेढ बिघामा ‘सीओ ०२३८’ र डेढ बिघामा ‘सीओएस ८८२३०’ प्रजातिको उखु लगाएको बताए । ‘यसपालि खेतमा उखु राम्ररी सप्रेकाले मूल्य पनि राम्रै पाउने आशा थियो,’ उनले भने, ‘मिल्स सञ्चालनमा भइरहेको ढिलाइले उखु खेतमै फुल्न थालेकाले कम तौल आउने हुँदा घाटा लाग्ने भयो ।’


उनी जस्तै देवानगन्ज २ का सबुल अन्सारीले पनि साढे चार बिघामा लगाएको उखु काट्न ढिलाइ भएको गुनासो पोखे । ‘प्रतिकट्ठा ५०–६० क्विन्टल उखु फल्ने जात यस वर्ष लगाएकाले राम्रो आम्दानी हुने आशा थियो,’ उनले भने, ‘मैले प्रतिबिघा ४० हजार वार्षिक बुझाउने गरी खेत भाडामा लिएर उखु लगाएको छु ।’ उखु काट्न जति धेरै ढिलाइ हुन्छ, त्यति नै धेरै घाटा लाग्ने उनले गुनासो पोखे ।


उनले मंसिर अन्तिमबाट उखु काट्न सुरु गर्नुपर्ने हो तर पुस महिना बित्न लाग्दा पनि उखु काट्न सुरु गर्न नसकेको गुनासो पोखे । उनीहरू जस्तै प्रदेश १ का सुनसरी, मोरङ, झापाका किसान उखु काट्न नपाएर छटपटाइरहेका छन् । किसानलाई समयमै उखु बेचेर ऋण तिर्नुका साथै अर्को सिजनको उखु खेतीमा समेत असर पर्ने चिन्ताले पिरोलेको छ ।

प्रकाशित : पुस २८, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?