कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केरा खेतीमा लगानी बर्सेनि बढ्दै

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर ५ गुलरियाका सुरेन्द्र चौधरीले ४० लाख रुपैयाँभन्दा बढी लगानी गरी १६ बिघामा केरा खेती गरेका छन् । उनले हरेक वर्ष लगानी र क्षेत्रफल बढाउँदै लगेका छन् । उनले सुरुमा दुई कट्ठामा केरा लगाए । त्यसपछि बढाउँदै लगेका हुन् । 

केरा खेतीमा लगानी बर्सेनि बढ्दै

कृष्णपुरमा मात्रै आफ्नो र थप तीन बिघा भाडामा लिएर उनले केरा लगाएका छन् । कैलालीको लालपुरमा पनि १२ बिघा जमिन भाडामा लिएर यसै वर्षदेखि केरा खेती विस्तार गरेका छन् ।


‘गत वर्ष २० लाखको केरा बिक्यो, त्यो रकम पनि केरा खेतीमै लगाएँ,’ सुरेन्द्रले भने, ‘मौसम अनुकूल भयो र हावाहुरी चलेन भने यस वर्ष ४५ लाखको उत्पादन हुने अनुमान छ ।’ उनको केराको बजार महेन्दनगर र कैलालीको अत्तरिया हो ।


कृष्णपुर नगरपालिका ५ गुलरियाकै अर्जुन जेठाराले पनि दुई कट्ठादेखि सुरु गरेको केरा खेती अहिले १७ बिघामा पुर्‍याएका छन् ।

०६४ मा इलम हेल्भटासबाट तालिम, मलखाद र केराका बिरुवा पाएपछि उनले व्यावसायिक खेती सुरु गरेका हुन् । ‘त्यही दुई कट्ठाबाट सुरु गरि आज १७ बिघासम्म पुर्‍याएको छु,’ अर्जुनले भने, ‘केराको आम्दानी केरामै लगाएको छु ।’ जेठाराले पनि केरा खेतीमा ४० लाख बढी लगानी गरेका छन् । उनले हरेक वर्ष खेती विस्तार गर्दै लगेका छन् ।


केराबाट हुने आम्दानी यसमै लगाएको उनले बताए । जेठारासँग एक बिघा मात्रै जमिन छ । बाँकी जमिन विभिन्न ठाउँमा वार्षिक प्रतिबिघा ५०/६० हजार तिर्ने गरी भाडामा लिएका छन् ।


अहिले कञ्चनपुरमा खेती विस्तार मात्रै होइन प्रविधि पनि भित्रिन थालेको छ । थोपा सिँचाइ, केरा पकाउने आधुनिक प्रविधि (राइपनिङ चेम्बर) को पनि स्थापना हुने क्रम बढेको छ । यसले केरा खेतीप्रतिको आकर्षण बढाएको छ । अहिले जिल्लाभरिमा पाँच सय हेक्टरमा केरा खेती भइरहेको छ । भीमदत्त नगरपालिका ३ नौलाखेतमा केरा उत्पादन कृषि सहकारी संस्थाले पाँच बिघामा थोपा सिँचाइ प्रविधिबाट यसैवर्षदेखि केरा खेती सुरु गरेको छ ।


चुरे फेदी र जिल्लाको दक्षिणी क्षेत्र बेलौरी तथा पुनर्वास केरा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । यसैगरी जिल्लाका विभिन्न ठाउँमा टिस्यु कल्चरबाट बिरुवा उत्पादन हुने क्रम पनि बढदै गएको छ । यस वर्ष जिल्लामा छ लाख टिस्यु कल्चर बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ ।


गत वर्ष पनि छ लाख बिरुवा उत्पादन गरिएको थियो । स्थानीय तह र विभिन्न संघसंस्थाको सहयोगमा खेती विस्तारसँगै प्रविधि

भित्रिने क्रम पनि तीव्र गतिमा भइरहेको छ ।

प्रकाशित : पुस २९, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?