कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

कोसी करिडोरको समस्या सामाधान गर्न कार्यदल गठन

नदी भित्र पनि टावर बनाउन दिँदैनन्, कसरी प्रसारणलाइन बनाउनु : कुलमान घिसिङ
विजय तिमल्सिना

काठमाडौँ — कोसी करिडोर प्रसारणलाइन आयोजनामा धरान उपमहानगरपालिकाको अवरोध हटाउने गरी समस्या समाधान गर्न कार्यदल गठन भएको छ । धरानको वडा नम्बर २० मा आफ्नो आयोजना निर्माण गर्नुपर्ने भन्दै उपमहानगरपालिका कार्यालयले आयोजनामा अवरोध गर्दै आएको छ ।

कोसी करिडोरको समस्या सामाधान गर्न कार्यदल गठन

धरान उपमहानगरपालिकाले प्रस्तावित रुटबाट प्रसारणलाइनको निर्माण गरिएमा उपमहानगरपालिका–२० को क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थलहरुलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेको थियो । यसबाट आयोजनाको निर्माण रोकिएको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा शनिबार धरानमा भएको सरोकारवालाको भेलाले सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक÷एकजना प्रतिनिधि छन् । कार्यदललाई आइतबारबाट काम सुरु गर्न र सातदिनभित्र समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश गर्ने जिम्मेवारी दिइएको छ ।

उपमहानगरपालिकाले नै प्रसारण लाइनको रुट परिवर्तन गर्न आग्रह गरेपछि विवाद सुरु भएको थियो । विवाद समाधानका लागि मुख्यमन्त्री राईले पहल गरेका हुन् ।

मुख्यमन्त्री राई, सभामुख, सुनसरी–१ का संघीय सांसद, प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङ, उपमहानगरपालिका मेयरसहितको टोलीले शनिबार प्रसारणलाइनको स्थलगत निरीक्षण गरेको थियो ।

प्राधिकरणले अहिले प्रसारणलाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरेको छ । उपमहानगरपालिकाले भने यो रुटलाई परिवर्तन गरी भेडेटार–चुलिकोट (घुमाउने डाँडा)–खैरे–कोकाहाखोला–भालुढुंगाहुँदै सर्दू खोलाहुँदै लैजान भनेको हो ।

रुट परिवर्तन गरिएमा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदमा संशोधन गर्नुपर्ने हुँदा यसको पुनः अध्ययन गरी स्वीकृतिको प्रकृया अगाडि बढाउन कम्तीमा पनि २ वर्षको समयावधि लाग्ने लगायतका समस्याका कारण निर्माण ढिलाई हुने आयोजनाले जनाएको छ ।

नदी भित्र पनि टावर बनाउन दिँदैनन्, कसरी प्रसारण लाइन बनाउनु : कुलमान घिसिङ

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइन निर्माणमा जताततै अवरोध हुँदा काम नै प्रभावित भइरहेको बताए ।

‘हेंटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइनलाई सप्तकोसी पार गराउन नदी भित्र ४० मिटर खनेर ७ वटा टावर खडा गर्नुपर्ने जोखिमयुक्त काम छ,’ उनले भने, ‘हुँदाहुँदा नदी भित्र टावर खडा गर्न पनि विरोध भइरहेको छ । वनमा, निजी जग्गामा हुँदाहुँदा नदीमा टावर बनाउन विरोध भइरहेको यस्तो अवस्थामा हामी टावर कहाँ बनाउने ? आकाशमा त टावर बन्दैन ।’

उपमहानगरपालिकाले भनेजस्तै प्रसारणलाइनको रुट परिवर्तन गर्न प्राविधिकरुपमा नमिल्ने बताए । ‘उपमहानगपालिकाले उठाएका विषयलाई प्रसारणलाइनले कुनै असर गरेको छैन, यहाँको रुट परिवर्तन गरिएमा यसको प्रभाव मुलुकभर पर्छ जसले प्रसारणलाइनको मात्रै नभएर मुलुककै विकास ठप्प पार्छ,’ उनले भने, ‘प्रभावितलाई दिन सकिने सामाजिक सुरक्षाका विषयमा छलफल गर्न खुल्ला छौं तर, रुट परिवर्तन गर्ने प्राविधिक विषयमा प्रवेश नगरौं ।’

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागिएको हो । आयोजनाको सबै काम २०२० डिसेम्बरमा सक्ने तयारी छ ।


प्रकाशित : पुस २९, २०७५ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?