कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डावोस बैठकमा सहभागी हुन प्रधानमन्त्री स्विट्जरल्यान्ड : व्यापारदेखि मानसिक स्वास्थ्यबारे छलफल

प्रधानमन्त्रीले स्ट्राटेजिक आउटलुक अन साउथ एसिया र सेपिङ द फ्युचर अफ डेमोक्रेसी शीर्षकमा बोल्नेछन्

काठमाडौँ — पुँजीपतिहरूको क्लब मानिने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली आइतबार राति स्विट्जरल्यान्ड प्रस्थान गरेको छ ।

डावोस बैठकमा सहभागी हुन प्रधानमन्त्री स्विट्जरल्यान्ड : व्यापारदेखि मानसिक स्वास्थ्यबारे छलफल

स्विट्जरल्यान्डको डावोसमा हुने मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् । माघ ८ देखि ११ सम्म हुने वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंलबारको ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ र बुधबारको ‘सेपिङ द फ्युचर अफ डेमोक्रेसी’ शीर्षकमा उनलाई वक्ता तोकिएको छ ।

सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्रीस्तरमा भाग लिन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड भ्रमणक्रममा प्रधानमन्त्रीले विभिन्न देशका सरकार प्रमुख तथा व्यवसायीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ ।

भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत सामेल छन् । उक्त बैठकमा यसपालि व्यापार युद्धदेखि मानसिक स्वास्थ्यसम्मका विषयमा छलफल हुने छ । बैठकमा अमेरिकाले भने भाग लिने छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो र आफ्ना प्रतिनिधिको स्विट्जरल्यान्ड भ्रमण रद्द गरिदिएका छन् । गभरमेन्ट सटडाउनका कारण ट्रम्पले डावोस सहरमा हुन लागेको बैठक बहिष्कार गरेको बताएका छन् । यसअघि उनले आफू नगए पनि प्रतिनिधि पठाउने बताएका थिए । बैठक सुरु हुने दिन नजिकिएपछि उनले अमेरिकाको सहभागिता नरहने घोषणा गरेका हुन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबे, जर्मन चान्सलर एंगेला मर्केल, बेलायतका प्रिन्स विलियम, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनलगायतले बैठकमा भाग लिँदै छन् । बैठकमा ब्राजिल, इटाली, अफगानिस्तान, नर्वे, कोलम्बियालगायत देशका राष्ट्र प्रमुखका साथै राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठनलगायत अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ प्रतिनिधि सहभागी हुँदै छन् । उनीहरूले विश्वका जल्दोबल्दो सामाजिक एवं आर्थिक विषयमा भनाइ राख्नेछन् ।

सबैभन्दा कान्छा सहभागीका रूपमा दक्षिण अफ्रिकाका १६ वर्षे फोटाग्राफरदेखि सबैभन्दा पाकोमा ९२ वर्षीय बेलायती सञ्चारकर्मी सर डेभिड एटनबर्गले बैठकमा भाग लिन आँटेको मञ्चले जनाएको छ । राजनीतिकर्मी, व्यापारी, नागरिक समाज, प्राज्ञिक क्षेत्र, कला–संस्कृतिदेखि सञ्चार माध्यमका गरी ३ हजार जनाको सहभागीता रहनेछ ।

करिब चार वटा थिममा विविध कक्ष सञ्चालन गरिनेछ । ‘ग्लोबलाइजेसन ४.० : सेपिङ अ ग्लोबल आर्किटेक्चर इन द एज अफ द फोर्थ इन्डस्ट्रियल रिभोलुसन’ लाई मुख्य थिम मानिएको छ ।

विश्व अर्थतन्त्रको भविष्य, उद्योग पद्धति र प्राविधिक नीति, मानव संसाधन र समाज, विश्व संगठनको पुनर्गठनलगायत विषय यसपालिका आकर्षण रहेको मञ्चले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । मञ्चले बर्सेनि उठान गर्दै आएका कतिपय मुद्दा ज्युँका त्युँ रहेको भन्दै विज्ञहरूले बैठकको औचित्यमाथि आलोचना पनि गर्दै आएका छन् । ‘मञ्चले विश्वको अवस्था सुधार्नुलाई आफ्नो भूमिका ठान्छ,’ राजनीतिक विश्लेषक आनन्द गिरिधारादलाई उद्धृत गर्दै द गार्जियन पत्रिका लेख्छ, ‘वास्तवमा यो बैठक विश्वलाई टुक्रा पार्नेहरूका लागि पारिवारिक पुनर्मिलन हो ।’

मञ्चले यसपालि ‘मानसिक स्वास्थ’ लाई विशेष थिम बनाएको छ । डिप्रेसन, एन्जाइटी जस्ता मानसिक स्वास्थ समस्या बढदै गएको र यसलाई राम्ररी सम्बोधन नगरिएको भन्दै मञ्चले यसमा जोड दिन खोजेका छ । प्रिन्स विलियमले यसबारे बोल्नेछन् । उनले व्यावसायिक प्रतिष्ठानका नेतृत्वकर्तालाई आफ्ना कर्मचारीको भावनात्मक र मानसिक विकासमा सचेत हुन आग्रह गर्ने मञ्चले जनाएको छ । उनीसहित न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डेनले पनि ‘मानसिक स्वास्थले अर्थ राख्छ’ शीर्षकमा बोल्नेछिन् ।

अमेरिका–चीन व्यापार युद्धलाई लिएर बैठक रोचक हुने अनुमान गरिएको थियो । ट्रम्पसहित हवाइट हाउस प्रतिनिधि नै बैठकमा नजाने भएपछि चीनका उपराष्ट्रपति वाङ किसानको वक्तव्यले चित्त बुझाउनुपर्ने भएको छ । उनलाई व्यापार युद्धले चीनमा पुर्‍याएको असरबारे बोल्न लगाइने द गार्जियनले उल्लेख गरेको छ । चीनको अर्थतन्त्र वास्तवमै सुस्त भएको हो/होइन भन्नेबारे पनि उनले स्पष्ट पार्ने अनुमान गरिएको छ ।

बेलायती प्रधानमन्त्री थेरेसा मे पनि बैठकमा देखिने छैनन् । यद्यपि उनका तर्फबाट चान्सलर फिलिप हामोन्डले ब्रेक्जिटका विषयमा बेलायती उद्यमीका जिज्ञासा सम्बोधन गर्ने अनुमान गरिएको छ । कार्यक्रममा ब्रेक्जिटमाथि नै छलफल सत्र चलाउने मञ्चको योजना भए पनि आइतबारसम्म त्यसको टुंगो लागेको थिएन । सन् १९७१ मा स्विट्जरल्यान्डमा स्थापना भएको मञ्च वार्षिक बैठककै कारण बढी लोकप्रिय छ ।

प्रकाशित : माघ ७, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?