कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशमा लगानी नरहेको थप तीन व्यवसायीको दाबी

काठमाडौँ — विदेशमा नेपालीको गैरकानुनी लगानीबारे खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको खुलासामा मुछिएका थप केही व्यवसायीले आफ्नो बचाउ गरेका छन् । 

पूर्वसांसद वीरेन्द्रप्रसाद महतो, व्यवसायी अरुणकुमार चौधरी र सौरभ ग्रुपका विष्णुप्रसाद न्यौपानेले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी विदेशमा आफ्नो लगानी नरहेको दाबी गरेका हुन् ।


‘मेरो बेलारुसमा ओजेएससी एम्कोडोर होल्डिङ लिमिटेड कम्पनीमा लगानी छ भनेर दाबी गरे पनि यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छु,’ पूर्वसांसद महतोले भनेका छन्, ‘बरु म यो कम्पनीमा धेरै पहिले निर्देशकका रूपमा कार्यरत रहेको कुरा राख्न चाहन्छु ।’


उनले एनसेल करछली प्रकरणमा आफ्नो संलग्नता नरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनेका छन्, ‘म तत्कालीन संविधानसभाको सदस्य थिएँ । संसद्को सार्वजनिक लेखा समितिको सदस्य हुँदा समितिको बैठकमा मैले स्पष्टसँग एनसेलसँग राज्यले कुनै पनि हालतमा कर असुल्नुपर्छ भनेर बोलेको कुरा अहिले पनि रेकर्डमा छ ।’


चौधरीले ब्रिटिस भर्जिन आइल्यान्डको आफ्नो कम्पनी १५ वर्ष पहिला खुलेको र ६/७ वर्ष पहिला ‘स्ट्राइकअफ’ भइसकेको जनाएका छन् । ‘म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको जानकारी गराउँदछु । जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रासमेत गरेका छैनन्,’ विज्ञप्तिमा भनिएको छ ।


टयाक्स हेवन गर्नजीमा दर्ता दुई विदेशी कम्पनीमा समेत साझेदारी नभएको उनको दाबी छ । न्यौपानेले पनि ब्रिटिस भर्जिन आइल्यान्डको ‘ग्लोबल टेक्नोनाोलोजी एन्ड ट्रेडमार्क’ लिमिटेड कम्पनीसँग आफ्नो कुनै लगानी, कारोबार, चिनजान र सम्पर्क नरहेको दाबी गरेका छन् ।


‘हाल सौरभ गु्रपका कम्पनीहरूमध्ये कुनै पनि उद्योगमा वैध अवैध विदेशी लगानी छैन,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘यस ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले टयाक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डस, यूएई वा अन्य वैध अवैध कुनै विदेशी लगानी नल्याएको तर यस गु्रपअन्तर्गतको सर्बोत्तम सिमेन्ट प्रालिमा हङकङस्थित कृष्णा होल्डिङस लिमिटेडको ३ सय ८५ सेयर रहेकामा सम्पूर्ण सेयर अन्य नेपाली नागरिकलाई बिक्री गरी आफ्नो लगानीसमेत फिर्ता लगिसकेको व्यहोरा जानकारी गराउँदछौं ।’

प्रकाशित : माघ ७, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?