कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेतक चिनीले छुटपुर्जी पाएन

डिभिजन वन कार्यालयलाई लाखौं राजस्व घाटा, वन विभागको लापरबाहीले एक वर्षसम्म वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनेन
भीमबहादुर सिंह

जाजरकोट — डिभिजन वन कार्यालयले संकलन तथा छुट पुर्जी नदिँदा करोडौंको सेतक चिनी निकासी हुन सकेको छैन । वन विभागले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृति नगर्दा कार्यालयले लाखौंको राजस्व उठ्ने उक्त जडीबुटीको पुर्जी दिन नसकेको हो ।

मूल्यांकन प्रतिवेदन स्वीकृतका लागि पेस भएको प्रतिवेदन वन विभागमा थन्किएको छ । कार्यालयले यसै बहानामा संकलन तथा छुट पुर्जी नदिँदा जडीबुटी व्यवसायी मर्कामा परेका छन् । पुर्जी नपाउँदा कुशे र बारेकोट गाउँपालिकाको उच्च लेकाली भेकमा संकलन गरेको सयौं क्विन्टल सेतकचिनी ठाउँठाउँमा अलपत्र छ ।


लाखौं राजस्व घाटा हुनुको साथै यहाँका दर्जनौं जडीबुडी व्यवसायीको करोडौं लगानी डुब्ने अवस्थामा छ । प्रतिवेदन निर्माणका लागि डिभिजन कार्यालयले १३ लाख लागतमा गत चैतमा काठमाडौंको ‘एक्सन एन्ड इनोभेसन फर इन्जिनियरिङ सोलुसन’ कम्पनीलाई जिम्मा दिएको थियो । यो परामर्शदातालाई प्रतिवेदन निर्माणका लागि अघिल्लो आर्थिक वर्षमै १२ लाख ३६ हजार रुपैयाँ भुक्तानी दिइसकिएको छ । प्रतिवेदन भने स्वीकृत हुन सकेको छैन ।


प्रतिवेदन स्वीकृत नहुँदा जडीबुटीको पुर्जी बन्द भई लाखौं राजस्व घाटा लागेको डिभिजन वन अधिकृत मन्जुर अहमतले बताए । प्रतिवेदन अभावमा सेतक चिनी, अमलवेद, पाखनवेद, लौठ सल्ला पातलगायत जडीबुटीको पुर्जी वितरण गर्न नसकेको उनले बताए । वन ऐन २०४९ र वन निमावली २०५१ बमोजिम वन पैदावार, संकलन, वन संरक्षण र पूर्वाधार विकासका लागि पञ्चवर्षीय कार्ययोजना स्वीकृत नभएसम्म डिभिजन वनले जडीबुटी संकलन तथा छुट पुर्जी दिन नसक्ने अहमतले जनाए ।


कार्यालयले पुर्जीबापत लौठ सल्ला पातको प्रतिकिलो ४० रुपैयाँ, सेतक चिनी प्रतिकिलोको १५ रुपैयाँ, अमलवेद प्रतिकिलोको ५ रुपैयाँ र पाखनवेद प्रतिकिलोको ७ रुपैयाँ राजस्व लिन पाउने उनले बताए । ४/५ महिनामा स्वीकृत हुनुपर्ने प्रतिवेदन हालसम्म स्वीकृत हुन नसकेको उनले जनाए ।


प्रतिवेदन स्वीकृत भए चालु आर्थिक वर्षमै ५ लाख किलो सेतक चिनीको पुर्जी वितरण हुने उनको भनाइ छ । जिल्लामा लेकाली भेक र पाटनमा बहुमूल्य सेतक चिनी, कुरिलो, काउलो, पाखनवेद, सुगन्धवाल, तितेपाती, जटामसी, चिराइतो, गुच्चीच्याउ, लौठ सल्ला, पाँचऔंले, बुकी फुल, कटुको, समयो, पदमचाल्लो, लटेचुक, भुत्ले, सतुवा, अतिस, सुनजरीलगायत ५० प्रजातिका जडीबुटी पाइने गरेको उनले बताए ।


कतिपय व्यवसायीले डिभिजन वन कार्यालय जाजरकोटबाट पुर्जी नपाएपछि जुम्ला र डोल्पाबाट संकलन तथा छुटपुर्जी लिई सेतक चिनीको निकासी गरेको व्यवसायी खम्बबहादुर रोकायले जनाए । जुम्ला, डोल्पालगायत जिल्लाका व्यापारीले आर्थिक लेनदेनमा यस्तो गरेको उनले बताए । जाजरकोटको जडीबुटी डोल्पा/जुम्लामा पुर्जी बनाई निकासी गर्दा जिल्लालाई लाखौंको राजस्व घाटा लागेको रोकायले बताए ।


जुम्ला र डोल्पाबाट १५ लाख किलो सेतक चिनीको पुर्जी बनाई बाहिर निकासी भइसकेको उनको भनाइ छ । समयमा पुर्जी नमिल्दा ३/४ सय क्विन्टलका दरले ५ दर्जन व्यवसायीको सेतक चिनी पाटनमा अलपत्र रहेको उनी बताउँछन् । ‘ऋण सापट गरेर भएको सबै पुँजी सेतक चिनी संकलनमा लगाइयो, पुर्जी नपाउँदा सबै डुब्ने भयो,’ उनले भने, ‘केही हिउँपानीले कुहिएर सकियो, केही चोरी भएर । नोक्सानै नोक्सान छ ।’ बारेकोट गाउँपालिका र वन कार्यालयको सहमतिमा पछि पुर्जी उपलब्ध हुने गरी संकलन गरेको सेतक चिनी लेकदेखि औलसम्म लथालिंग भएको उनले दु:खेसो पोखे ।


सेतक चिनीको संकलन तथा छुट पुर्जी लिनका लागि वन कार्यालय धाउन थालेको तीन महिना बितिसकेको जुनीचाँदे गाउँपालिका ६ का जडीबुटी व्यवसायी पदमबहादुर शाहीले बताए । कार्यालयले पुर्जी नदिँदा ५ सय क्विन्टल सेतक चिनीमा लगानी गरेको एक करोड डुब्न लागेको शाहीले बताए ।


गत मंसिरदेखि पुर्जीका लागि धाउँदा हैरान भएको शाहीले बताए । ६५ जना जडीबुटी व्यवसायीले गत असोजमा बारेकोट गाउँपालिकामा २ लाखका दरले धरौटी राखेर उक्त सेतक चिनी संकलन गर्ने अनुमति लिएका थिए ।

प्रकाशित : माघ २०, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?