कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारीमै बिक्छ अदुवा

प्रताप रानामगर

दमौली — अदुवाले राम्रो भाउ पाएपछि तनहुँका किसान उत्साहित छन् । गत वर्ष अदुवा प्रतिकिलो २२ रुपैयाँ ५० पैसाका दरले बेचेका किसानले अहिले ८० रुपैयाँमा किनबेच भइरहेको बताएका छन् । 

‘बजार पनि लैजानुपरेको छैन । घरैबाट बिक्री भइरहेको छ,’ भिमाद ३ का हस्तबहादुर थापाले भने, ‘पोहोरसम्म भाउ कत्ति पनि परेको थिएन ।’ गत वर्ष आफूले सस्तोमा सात सय धानी बेचेको उनले बताए । भिमाद क्षेत्रका किसानका लागि अदुवा आम्दानीको प्रमुख स्रोतमध्येको हो । ‘भाउ घटबढ भइरहँदा पनि पोहोर आफ्नो सबै बेचिसक्दा तीन लाख रुपैयाँँ हात परेको थियो,’ उनले भने, ‘यस पल्ट बीउ मात्रै दुई सय धार्नी (२.५ किलो बराबर एक धार्नी) राखेको छु ।’


उनीसँगै गाउँका रोकबहादुर, हरि, गमबहादुर, यामबहादुर, बेलबहादुरलगायत पनि यसपटक अदुवाले राम्रो मूल्य पाउँदा खुसी छन् । खेती विस्तार गर्न बेच्नेभन्दा बढी परिमाणमा बीउको जोहो गरेका छन् । अदुवा नगदे बाली भएकाले यस खेतीतर्फ आकर्षित भएको किहुँका किसान ओबराज लम्सालले बताए ।


‘हाम्रो माटो र हावापानी अदुवाका लागि उपयुक्त छ । भाउ राम्रो पाउने हो भने अरू केही खेती नगरे हुन्छ,’ उनले भने, ‘पोहोर राम्रो भाउ नपरेर मैले त यो पल्ट मकै लगाएको छु ।’ अदुवाको व्यावसायिक खेती निरन्तर तीन वर्ष गरेका उनले राम्रो मूल्य नपाउँदा आफू निरास भएको बताए । ‘धार्नीको ३० देखि ५० रुपैयाँँसम्म हुन्थ्यो, त्योभन्दा बढी पाइएन,’ उनले भने, ‘यो पल्टको भाउ देखेर फेरि लगाउने सुर कसेको छु ।’ अदुवा खेती गर्न समस्या नभए पनि बेच्न समस्या हुने उनको अनुभव छ । ‘धेरै फलायो, भाउ पाइँदैन,’ उनी भन्छन्, ‘त्यसमाथि बिचौलियाको बिगबिगी हुन्छ ।’


यतिबेला माग बढेकाले अदुवाले राम्रो मूल्य पाएको भिमादका व्यापारी चित्र रानाले बताए । ‘यो वर्ष भारतबाट बढी माग आएको छ,’ उनले भने, ‘प्रतिधार्नी २ सय रुपैयाँँको दरले बारीबाटै अदुवा खरिद गरिरहेका छौं ।’ गत वर्षमा भिमादको मालेबगरबाट १ हजार १ सय ८४ टन अदुवा भारत पठाएको उनले बताए । ‘यो पल्ट त्योभन्दा पनि बढ्छ,’ उनले भने ।


कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यहाँ ५ सय ९५ हेक्टरमा अदुवाको व्यावसायिक खेती हुँदै आएको छ । गत वर्ष ७ हजार ५ सय ५६ टन उत्पादन भएको थियो । भिमादको माझकोट, किहुँ, अरुदोय, ऋषिङको राम्जाकोट, भीरकोट, बैदी र घिरिङको साभुङ भगवतीपुरलगायत अदुवा खेतीको पकेट क्षेत्रका रूपमा परिचित छन् ।

प्रकाशित : माघ २०, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?