कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँझो जग्गा भाडामा लिई खेती

एकै वर्षमा २५ लाख आम्दानी
डीआर पन्त

गन्यापधुरा, डडेलधुरा — गन्यापधुरा र अमरगढी नगरपालिकाका ५ युवाले सामूहिक खेतीबाट एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । २५ वर्षदेखि बाँझो रहेको १ सय २ रोपनी जग्गा भाडामा लिई खेती गरेका हुन् ।

बाँझो जग्गा भाडामा लिई खेती

स्थानीय दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले गत वर्ष भागेश्वर एग्रिकल्चर एन्ड लाइभस्टक स्थापना गरी सामूहिक तरकारी खेती थालेका थिए । १२ जनालाई उनीहरूले रोजगारीसमेत दिएका छन् ।


२६ जना महिला कृषि मजदुरले पनि सिजनभरि रोजगारी पाएका छन् । युवाहरूको यो प्रयासले उनीहरू मात्र होइन, यस क्षेत्रका अरू युवाहरू मिलेर बाँझो रहेको जग्गामा विभिन्न तरकारीका बीउ उत्पादनमा लागेका छन् । गाउँ छाडेर तराई बसाइ सरेपछि गाउँमा बाँझो रहेको जग्गाको उपयोगसँगै राम्रो मुनाफा हुन थालेपछि गाउँका अन्य युवा पनि यसतर्फ आकर्षित भएको सञ्चालकमध्येका रामचन्द जोशीले बताए । उनले भने, ‘आफूहरूसँग एकलौटी जमिन नभएकाले गाउँका विभिन्न व्यक्तिको बाँझो जग्गा भाडामा लिएर खेती सुरु गरेका हौं ।’


अर्का सञ्चालक सदस्य सीताराम जोशीले पहिलो पटक शुद्ध आलुको बीउ एक सय क्विन्टल उत्पादन भएको बताए । उनले, ‘झन्डै १० लाख लगानी गरी यस वर्ष २५ लाख कमाइ भएको हो ।’ बजारमा शुद्ध आलुको बीउ (कार्डिनल डेजिरे) को अभाव भएको बेला आलुको बीउको खेतीबाट मुनाफा भएको उनले जनाए । जोशीका अनुसार फार्मको मुख्य उद्देश्य बाँझो जमिनलाई खेतीयोग्य भूमिमा रूपान्तरण गरी गाउँको बेरोजगारी घटाउन प्रयास गर्नु हो । पहिलो चरणमा कम्पनीले बेरोजगार महिला र पुरुष कृषि मजदुरलाई वर्षको १ सय २० दिन रोजगारी दिएको छ ।


आफू पनि रोजगार हुने र बेरोजगार युवालाई पनि काम दिन सकिने भएपछि युवाहरू यसरी सामूहिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । दत्तराज अवस्थीले भने, ‘कम्पनी गठन गरी व्यावसायिक खेती सुरु गर्दा धेरैले विश्वास गरेका थिएनन् । एकै वर्षमा लाखौं मुनाफा भएपछि भने सबै आश्चार्यचकित भएका छन् ।’


पानी अभाव, आलु खेतीको प्राविधिक सल्लाहकारको अभाव, बजारको न्यून सम्भावना हुँदाहुँदै पनि युवाहरूको प्रयास उदाहरणीय रहेको कृषि ज्ञान केन्द्र डडेलधुराका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्टले बताए । उनले भने, ‘आलु खेती गर्ने सयौं कृषक भए पनि बजारमा विविध खाले आलु बीउको अभावलाई युवाहरूले गरेको सामूहिक खेतीले पूर्ति गरेका छन् ।’


उनीहरूले उत्पादन गरेको आलु बीउ यस वर्ष सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा बिक्री भएको छ । तराईका कैलाली कञ्चनपुर र भारतका विभिन्न क्षेत्रबाट आयात हुने आलु बीउ बजार मूल्यभन्दा सस्तो पाउन थालेपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आलु बीउले राम्रो बजार पाएको पनि प्राविधिक विष्टले बताए ।


यस वर्षदेखि आलुमा प्रदेशलाई आत्मनिर्भर बनाउने गरी कम्पनीले ठूलो मात्रामा आलुको बीउ र आलु उत्पादन गर्ने भएको पनि जोशीले जनाए । उनले भने, ‘आलु कृषकहरूलाई आधुनिक प्रविधि (मल्चिङ प्रविधि) र प्रांगारिक खेती गर्नमा प्रोत्साहान गर्ने योजना बनाएका छौं ।’


सञ्चालक जोशीले युवाहरूको यस सामूहिक खेतीमा प्रधानमन्त्री कृषि आधुनिक परियोजना आलु सुपरजोन र अमरगढी नगरपालिका कृषि शाखाले सहयोग गरेको बताए । ‘१० लाखभन्दा बढी आफैंले लगानी गरेका हौं,’ जोशीले भने प्राविधिक र अन्य सहयोग अमरगढी नगरपालिकाको कृषि शाखाले गरेको हो ।’

प्रकाशित : माघ २७, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?